तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आप्रवासीलाई देश छाड्न इजरेलको निर्देशन
इजरेलले आफूकहां रहेका दशौं हजार अफ्रीकी आप्रवासीहरुलाई नब्बे दिनभित्र देश छाडेर जान अन्यथा जेल सजायको भागी बन्न तयार रहन भनेको छ।
खासगरी एरिट्रीया र सुडानका गरी झण्डै असी हजार असफल शरणार्थीहरु इजरेलमा छन् र तिनीहरुले कि त आफ्नै देश फर्कन वा युगाण्डा अथवा रुवाण्डा तर्फ जानु पर्नेछ।
इजरेल छाडेर जानका लागि आप्रवासीहरुलाई साढे तीन हजार डलर रकम प्रदान गरिने प्रस्ताव गरिएको छ।
देश छाडेर नगएमा तिनीहरुलाई आगामी एप्रील महिनादेखि जेल चलान गर्न शुरु गरिने धम्की इजरेली अधिकारीहरुले दिएका छन्।
तर देश छाडेर जाने त्यस्तो आदेश बालबालिका, वृद्धवृद्धा र दासता तथा मानवतस्करी पिडीतहरुका हकमा भने लागु हुने छैन।
आप्रवासी
इजरेलमा एरिट्रीया र सुडानका मानिसहरु आप्रवासीहरुको ठूलो संख्या मध्येमा पर्ने इजरेलको हारेत्ज समाचारपत्रले जनाएको छ।
ति मध्ये धेरैले आफूहरु आआफ्नो देशमा जारी दमन र द्वन्द्वबाट भागेर शरण खोज्दै इजरेल आएको बताउने गर्छन्।
तर इजरेलका अधिकारीहरु भने तिनीहरुलाई आर्थिक उद्देश्यले आएका आप्रवासी ठान्ने गर्छन्।
इजरेलले स्वेच्छिक र मानवीय ढंगले ति आप्रवासीहरुलाई हटाइने बताएको छ।
संयुक्त राष्ट्र संघीय शरणार्थी निकाय र अधिकारवादी समूहहरुले भने इजरेली कदम अन्तर्राष्ट्रिय कानुनको विपरित भएको बताएका छन्।