आस्थाका आधारमा भेदभाव हुँदैनः ओली

झापामा आयोजित विजय र्‍यालीलाई सम्बोधन गर्ने क्रममा केपी ओली निकै संयमित रुपमा प्रस्तुत भएका देखिए।

चुनावी नतिजा अनुसार नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रतिनिधि सभा तथा प्रदेश सभामा बहुमत ल्याउने अवस्था आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने नयाँ सरकारले राजनीतिक आस्थाका आधारमा भेदभाव नगर्ने आश्वासन दिएका छन्।

झापाको क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला झापा पुगेका एमाले अध्यक्ष ओलीले, सोमबार, भने, "लोकतान्त्रिक अभ्यासभन्दा बाहिर कुनै काम हुने छैन। भेदभाव, पक्षपात, वा अलोकतान्त्रिक व्यवहार म बाट वा मेरो पार्टीबाट हुँदैन। मैले अगुवाई गरिरहेको यस अभियानबाट तलमाथि हुँदैन।"

विपक्षीबारे के भने?

झापाको भद्रपुरस्थित मेची रंगशालामा वाम गठबन्धनद्वारा आयोजित विजय सभामा चुनावमा पराजय भोगेका विपक्षी पार्टीका उम्मेदवारहरुप्रति पनि उनी निकै नरम देखिए।

चुनावका बेला आक्रामक प्रचारमा लागेका ओलीले सोमबार भने, "चुनावमा पराजय भोग्नुपरेका उम्मेद्वार तथा पार्टीहरुले पीर चिन्ता लिनु पर्दैन। तपाईंहरुका आकांक्षाहरु अनुसार कुनै भेदभाव हुँदैन।"

उनले अब आफ्नो गठबन्धनले उठाएका मुद्दाहरुमा केन्द्रित हुने बताए।

बिहान भद्रपुर विमानस्थलमा उत्रेपछि संवाददाताहरुसंग कुरा गर्दै ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता छिट्टै गर्ने बताए, तर उनले एकताको मिति भने तोकेनन्।

प्रचण्ड चाँडो एकताको पक्षमा

सोमबार चितवनको ३ नम्बर क्षेत्रबाट चुनाव जितेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता चाँडै हुने बताए।

बीबीसीसंग कुरा गर्दै उनले भने, "सरकार निर्माणभन्दा पहिला पार्टी एकताको टुंगो लगाउने भन्ने नै हाम्रो कोशिश हुनेछ। प्राविधिक रुपमा नभ्याइएमा पनि संगसंगै यो काम गरिनेछ।"

देउवाको प्रशंसा

प्रचण्डले चुनाव सफलतापूर्वक गराएकामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रशंसा गरे।

चुनावको मुखमा वाम गठबन्धनको निर्माण भएपछि आफ्नो पार्टी हार्न सक्ने जान्दाजान्दै चुनाव सम्पन्न गराएकोमा देउवा धन्यवादका पात्र भएको उनले बताएका छन्।