मुगाबेको राजीनामासँगै जिम्बाब्वेमा खुसियाली

मुगाबे

तस्बिर स्रोत, EPA

जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेको राजीनामापछि सडकमा जम्मा भएर मानिसहरुले खुसियाली मनाइरहेका छन्।

मुगाबेलाई हटाउन संसद्‍मा महाभियोग प्रकिया शुरु भए लगत्तै उनले अप्रत्यासित राजीनामा दिएका थिए जसबारे सभामुखले संसद्‍मा पत्र पढेर सुनाएका थिए।

सांसदहरुले ठूलो आवाज निकालेर उक्त घोषणालाई अनुमोदन गरेका थिए र तत्कालै स्वत: स्फूर्त रुपमा मानिसहरु खुसियाली मनाउन सडकमा निस्किएका थिए।

मुगाबेले आफ्ना उपराष्ट्रपति एमरसन मनाङ्गाग्वालाई पदबाट हटाएपछि अघिल्लो हप्ता सेनाले जिम्बाब्वेको सत्तामा हस्तक्षेप गरेको थियो।

सपथ

सत्तारुढ जानु पिएफ दलका अधिकारीहरुले मनाङगाग्वाले बुधवार वा बिहीवार राष्ट्रपतिको रुपमा शपथग्रहण गर्ने जनाएका छन्।

मुगाबे

तस्बिर स्रोत, EPA

जिम्बाब्वेका विपक्षी नेता मोर्गन चाङगराइले अब स्वतन्त्र र निष्पक्ष चुनावको लागि एउटा खाका तयार पार्नुपर्नेमा जोड दिएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, जिम्बाब्वेको हालत किन यति दयनीय?

समर्थकहरु सामू बोल्दै उनले भने, "हामीले अब एउटा विश्वसनीय जिम्बाब्वे बनाउनुपर्छ, त्यही भएर जानु-पिएफ एमडीसी र सबै दललाई म के भन्न चाहन्छु, अहिले हामी सबैको टाउको जुधाउने बेला हो, यस्तो जिम्बाब्वे बनाउँ जसले सम्मान आर्जन गरोस् अनि प्रंशसा पाओस्।"

तर जानु-पिएफ दलका एकजना नेता टेरेन्स मुकुपेले राजीनामा पत्र संसद्‌मा वाचन गरिँदा धेरै सांसदहरुको आँखा रसाएका भन्दै पीडादायी रुपमा मुगाबेले पद छाड्नुपरेको बताएका छन्।

प्रतिक्रिया

इपिए

तस्बिर स्रोत, Reuters

अफ्रिकी संघका अध्यक्ष रहेका गिनीका राष्ट्रपति अल्फा कोन्डेले रोबर्ट मुगाबेको राजीनामाले आफू साँचो अर्थमा प्रशन्न भएको बताएका छन्।

उनले मुगाबे जस्ता एकजना 'महान योद्धाले पछाडीको ढोकाबाट राजीनामा दिनु लाजमर्दो' भएको उल्लेख गरे।

जिम्बाब्वे संकटको प्रमुख मध्यस्थकर्ता ठानिएको दक्षिण अफ्रिकाले कुनै पनि प्रतिक्रिया दिएको छैन।

संयुक्त राज्य अमेरिकाले नेतृत्व परिवर्तनले जिम्बाब्वेमा स्वतन्त्र निष्पक्ष र समावेशी चुनाव सुनिश्चित गर्नुपर्ने बताएको छ।