जिम्बाब्वेः राष्ट्रपति मुगाबेको राजीनामा

रोबर्ट मुगाबे

तस्बिर स्रोत, EPA/The Herald

तस्बिरको क्याप्शन, राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो पदबाट राजीनामा दिएका छन्

जिम्बाब्वेको संसद्का सभामुखले ९३ वर्षीय राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो पदबाट राजीनामा दिएको जनाएका छन्।

त्यससंगै उनी विरुद्ध लगाइएको महाभियोगको प्रक्रिया स्थगित गरिएको छ।

जिम्बाब्वे स्वतन्त्र भएयता गत ३७ वर्षदेखि उनले मुलुकको नेतृत्व गरिरहेका थिए

गत साता सेनाले सत्ता नियन्त्रणमा लिएपछि पनि पदबाट राजीनामा दिन नमानेका राष्ट्रपति रोबर्ट मुगाबेले मंगलवार अपरान्ह पदबाट राजीनामा दिएका हुन्।

जिम्बाब्वेको संसद्का सभामुखले उनको राजीनामा पत्र सदनमा पढेर सुनाएपछि सांसदहरुले खुसियाली मनाएका थिए।

राजधानी हरारेका सडकहरुमा हजारौं मानिसहरुले नाचगान गरिरहेका छन्।

आह्वान

यसअघि संसद्‍मा दर्ता गरिएको महाभियोग प्रस्तावमा उनले आफ्नी श्रीमतीलाई असंवैधानिक ढंगले शक्ति हडप्न दिएको आरोप लगाइएको थियो।

अज्ञातस्थलबाट बोल्दै मंगलवार जिम्बाब्वेका पूर्व उपराष्ट्रपति एमरसन मनाङगाग्वाले राष्ट्रपति मुगाबेलाई तत्काल राजीनामा गर्न भनेका थिए।

मनाङगाग्वालाई पदबाट हटाइएपछि गत साता सेनाले सत्ता नियन्त्रणमा लिएको थियो।

मनाङगाग्वाले आफूविरुद्ध हत्याको षड्यन्त्र भएका कारण दुई साता अगाडि आफूले देश छाडेको बताएका थिए।

आफ्नो सुरक्षाबारे आश्वस्त नभएसम्म नफर्कने उनले बताएका छन्।

मतदान

गत आइतवार जिम्बाब्वेको सत्तारुढ जानु-पीएफ पार्टीले आफ्नो दलका संस्थापक नेता एवं राष्ट्रपति मुगाबेलाई पार्टीको नेतृत्वबाट हटाउने पक्षमा मतदान गरेको थियो।

मुगाबेको स्थानमा उनले दुई साताअघि पदमुक्त गरेका उपराष्ट्रपति एमरसन मनाङग्याग्वालाई पार्टीको नयाँ नेता चयन गरिएको थियो।

मुगाबेलाई हटाउने पक्षमा मतदान भएपछि दलका प्रतिनिधिहरुले नाचगान गर्दै खुसियाली मनाएका थिए।

मुगाबेले उपराष्ट्रपति मनाङग्याग्वालाई पदबाट हटाएलगत्तै जिम्बाब्वेमा वर्तमान राजनीतिक संकट शुरु भएको हो।

सत्तारुढ जानु-पीएफ पार्टीले मुगाबेले सत्ताको नेतृत्व सुम्पिन चाहेका उनकी श्रीमती ग्रेस मुगाबे र मुगाबेको गुटमा रहेका अन्य वरिष्ठ नेताहरुलाई पनि पार्टीबाट निकाल्ने निर्णय गरेको थियो।