तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
न्यूयोर्क आक्रमणपछि कसले के भने?
राष्ट्रपति डोनल्ड ट्रम्पले न्यूयोर्कमा 'दिमागी हालत ठीक नभएको एकजना गुण्डाबाट आक्रमण भएको' प्रतिक्रिया दिएका छन्।
न्यूयोर्कको लोअर म्यानह्याटनमा एक व्यक्तिले फुटपाथ र साइकल लेनमा पिक-अप ट्रक जोताउँदा कम्तीमा आठजनाको ज्यान गएको छ भने ११ जना घाइते भएको अधिकारीहरुले बताएका छन्।
राष्ट्रपति ट्रम्पले कानून कार्यान्वयन गराउने निकायले घटनालाई नजिकबाट हेरिरहेको बताए।
उनले मध्यपूर्वमा तथाकथित इस्लामिक स्टेट समूह पराजित भएपछि उसलाई अमेरिका फर्किन वा प्रवेश गर्न दिन नहुने उल्लेख गरेका छन्।
कायरतापूर्ण
म्यानह्याटन आक्रमणपछि राष्ट्रपति ट्रम्पले अमेरिका आउने विदेशीहरुको जाँच प्रक्रियामा थप कडाई गर्न आन्तरिक सुरक्षासम्बन्धी मन्त्रालयलाई निर्देशन दिएका छन्।
ट्रम्प राष्ट्रपति भएपछि अमेरिकाले यसअघि नै त्यहाँ जाने विदेशीहरुको जाँच प्रक्रियामा कडाई गरिसकेको छ।
घटनालाई न्यूयोर्कका मेयर बिल डे ब्लाजिओले शहरको मुटुमा निर्दोष नागरिकलाई निशाना बनाउने उद्देश्यले गरिएको कायरतापूर्ण आतंककारी कार्यको संज्ञा दिएका छन्।
उनले भने, "हामीलाई थाहा छ कि हाम्रो मनोबल गिराउने नियतले यो कार्य गरिएको हो तर हामीलाई यो पनि थाहा छ कि न्यूयोर्कवासी बलिया छन्, असहज अवस्थाबाट छिट्टै सहज अवस्थामा फर्किनसक्ने खालका छन्।"
आग्रह
न्यूयोर्क राज्यका गभर्नर एन्ड्रिव क्वोमोले न्यूयोर्कवासीलाई नडराउन आग्रह गरेका छन्।
न्यूयोर्कका प्रहरी कमिसनर जेम्स ओनिलले न्यूयोर्कका धेरै मान्छे र परिवारलाई ठूलो पीडा दिने घटना भएको प्रतिक्रिया दिएका छन्।
ब्रिटिश प्रधानमन्त्री टरिजा मेले न्यूयोर्कलाई ब्रिटेनको साथ रहेको बताएकी छन्।
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले ऐक्यवद्धता जनाउँदै स्वतन्त्रताको लडाइँले फ्रान्सलाई अमेरिकासँग हालसम्मकै सबैभन्दा नजिक ल्याएको प्रतिक्रिया दिएका छन्।