त्रिशुलीमा बस खस्दा '३१ जनाको मृत्यु'

पृथ्वी राजमार्गको धादिङ खण्डमा त्रिशुली नदीमा शनिवार बिहान एउटा यात्रुबस सडकबाट खस्दा ज्यान गुमाउनेको संख्या ३१ पुगेको धादिङका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

प्रजिअ श्यामप्रसाद भण्डारीका अनुसार मृत्यु हुनेमा अधिकांश पुरुष र केही महिला र बालबालिका छन्।

उद्धार तथा खोजी कार्य जारी रहेकोले सही तथ्याङ्क अझै प्रष्ट नभइसकेको उनको भनाइ छ।

उनका अनुसार "अझै केही यात्रु हराइरहेको" भन्दै आफन्तहरुले सोधखोज गरिरहेका छन्।

गम्भीर घाइते भएका दुई यात्रुलाई राजधानी काठमाण्डू लगिएको र सामान्य घाइतेहरुको गजुरीमा उपचार भइरहेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बस विहान सवेरै धादिङको गजुरी गाउँपालिका वडा नं ५ बांगेमोड भन्ने स्थानबाट त्रिशुली नदीमा खसेको थियो।

बस तीव्र गतिमा आएको घाइतेहरुले बताएका छन्।

सडक किनारको ढुंगा नाघेर बस नदीमा खसेको पाइएको प्रजिअ भण्डारीले बताए।

अस्पष्ट

बसमा कति यात्रु थिए त्यो अझै प्रष्ट हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार १६ जना घाइतेमध्ये २ जनालाई राजधानी पठाइएको छ।

बस दुर्घटना चालकको त्रुटिको कारण भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक ध्रुव राउतले बताए।

उनले भने, "भौगोलिक कारणभन्दा पनि चालककै कारणले दुर्घटना भएको हो कि भन्ने लागेको छ। चालक एकैछिन निदाएको हुनसक्छ। खाल्डो भएको ठाउँमा बसले सन्तुलन गुमाएको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ।"

दुर्घटनामा बाच्न सफल धीरजश्याम पण्डित बस नदीमा खसेपछि पौडेर बाच्न सफल भएका थिए।

उनले भने, "अगाडिबाट अर्को गाडी आएको छैन, केहिसँग जुधेको पनि छैन। चालक निदाएको हो कि जस्तो मलाई लाग्यो।

बस पानीमा डुबेको कारण उद्धारमा कठिनाइ भएको थियो।