‘पाकिस्तान र अमेरिकाबीच गहिरो मतभेद छ’

पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानबारे पाकिस्तान र अमेरिकाबीच 'गहिरो मतभेद' रहेको बीबीसीलाई बताएका छन्।

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँगको कुराकानीपछि पाकिस्तानका विदेशमन्त्री ख्वाजाव आसिफको भनाई आएको हो।

अमेरिकाले अफगानिस्तानमा सक्रिय रहेका लडाकु समूहलाई इस्लामावादले सहयोग पुर्‍याइरहेको आरोप लगाउँदै आएको छ।

तर पाकिस्तानले त्यसको निरन्तर खण्डन गर्दै आएको छ।

तनावपूर्ण

पछिल्लो समय पाकिस्तान र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण रहेको छ।

पाकिस्तानले तालेवान विद्रोहीलाई 'आश्रय' दिइरहेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आरोप लगाएपछि पाकिस्तानको भ्रमण गर्ने टिलर्सन पहिलो उच्च अमेरिकी अधिकारी हुन्।

टिलर्सनले पाकिस्तानी भूमिमा सक्रिय लडाकु समूहहरुलाई निर्मूल पार्न पाकिस्तानले थप कदम चाल्नुपर्ने दोहोर्‍याए।

जवाफमा पाकिस्तानी विदेशमन्त्री आसिफले लडाकुहरुका लागि पाकिस्तानी भूमिमा कुनै 'सुरक्षित आश्रयस्थल' नभएको बताए।

नियन्त्रण

उनले भने, "उनीहरुलाई अब हाम्रो भूभाग आवश्यक छैन, अफगानिस्तानको लगभग ४० प्रतिशत भूभाग अहिले तालेवानको प्रत्यक्ष नियन्त्रणमा छ।"

अमेरिकी सैन्य स्रोतका अनुसार अफगानिस्तानको १० प्रतिशत भूभाग अहिले तालेवानको नियन्त्रणमा छ भने अर्को करिब ३० प्रतिशत भूभागमाथि नियन्त्रणका लागि उनीहरुले लडाइँ गरिरहेका छन्।

अमेरिकी र अफगान अधिकारीहरुको विश्वास छ- तालेवान लडाकुहरुले पाकिस्तानसँगको सीमावर्ती क्षेत्रमा योजना बुनेर अफगानिस्तानमाथि आक्रमण गर्दै आएका छन्।

कतिपयले त पाकिस्तानी गुप्तचर निकाय आइएसआइले नै अफगान लडाकुहरुलाई सघाउने गरेको आरोप लगाउँदै आएको छन्।

तर पाकिस्तानी विदेशमन्त्रीले अफगान द्वन्द्व अन्त्य नहुनुमा अमेरिकी र अन्तर्राष्ट्रिय फौजको 'असक्षमता' जिम्मेवार रहेको बताए।