२० करोड डलर दान घोषणा गरेका दानीको कथा

    • Author, ब्रजेश उपाध्याय
    • Role, बीबीसी संवाददाता

अमेरिकामा भाग्य चम्काएका भारतीय मूलका अमेरिकीहरूको एउटा समूह ठूला दानीमा परिणत हुने क्रम बढ्दो छ।

फ्लोरिडास्थित एउटा विश्वविद्यालयलाई ठूलो रकम दान दिएर डा. किरण सी पटेलले एउटा नयाँ कीर्तिमान बनाएका छन्।

आठ वर्षको उमेरमा स्कूल पढ्ने बेला गोजी-खर्चको पैसा उनले खुत्रुकेमा हाल्थे जबकि उनका कान्छो भाइ र साथीहरूले चकलेट र सोडा किनेर खान्थे।

केही वर्षभित्र गोजी-खर्चको पैसा बचत गरेर आमाबुवा, दुई भाइ र आफ्नो लागि उनी पानीजहाजको टिकट किन्नसक्ने भए अनि १२ वर्षपछि पहिलो पटक जाम्बियाबाट भारतको गुजरातस्थित पुरानो घरसम्मको यात्रा गर्न उनी सफल भए।

'महादान'

त्यसको ६० वर्षपछि आफ्नो कथा सुनाइरहेका बेला डा. पटेल १४ सीटको निजी विमानमा सवार थिए।

जाम्बियाको एउटा सानो शहरबाट उनले फ्लोरिडासम्मको यात्रा तय गरेका थिए।

त्यसको केही घण्टापछि डा. पटेल र उनकी श्रीमती डा. पल्लवी पटेलले फ्लोरिडा विश्वविद्यालयलाई २० करोड अमेरिकी डलर दान दिने घोषणा गरे।

भारतीय मूलको अमेरिकीले अमेरिकाको कुनै संस्थालाई दान दिएको यो अहिलेसम्मकै ठूलो रकम हो।

उक्त रकमले नोभा साउथइस्टर्न युनिभर्सिटी (एनएसयु) ले एउटा फ्लोरिडामा र अर्को भारतमा मेडिकल कलेज खोल्नेछ।

डा. पटेलले भने, "मैले जिन्दगीको शुरूमा यो पाठ सिकेँ यदि हामी एक रुपैयाँ बचत गर्छौँ भने त्यो एक रुपैयाँ कमाएजस्तै हो र हामीले ठूलो फल दिने ठाउँमा त्यो रकम खर्च गर्नुपर्छ।"

जाम्बियामा रङ्गभेद भएका बेला उनी हुर्किएका थिए र अश्वेत बच्चाका लागि नजिकै विद्यालय नभएकोले ८० किलोमिटर टाढा रहेको अर्को विद्यालय जानुपर्थ्यो।

सञ्जाल

भारतमा चिकित्सा शिक्षा पढेका डा. पटेल आफ्नी डा. श्रीमतीसँग सन् १९७६ मा 'थ्यांक्स गिभिङडे' परेकै दिन अमेरिका हानिए।

मुटुरोग विशेषज्ञ डा. पटेलले फरक-फरक विशेषज्ञता भएका चिकित्सकहरूको एउटा सञ्जाल खडा गरे।

सन् १९९२ मा उनले डुब्न लागेको एउटा स्वास्थ्य बीमा कम्पनी खरिद गरे।

त्यसको १० वर्षपछि उनले उक्त कम्पनी बेच्दा त्यसका चार लाखभन्दा बढी सदस्य थिए र कम्पनीको राजश्व एक अर्बभन्दा बढी डलर पुगेको थियो।

डा. पटेल आफूलाई एक 'आक्रामक उद्यमी' का रूपमा चिनाउन मन पराउँछन्।

उनलाई एउटा पुरानो गुजराती भनाई निकै मनपर्छ, "जब समृद्धिकी देवी स्वयम् तपाईँको ढोका ढकढक्याउन आइपुग्छिन्, तब तपाईँ मुख धुन नजानूस्।"

उनी थप्छन्, "म जोखिम मोल्न रुचाउँछु जो प्रतिघण्टा ९० माइल हिँड्न चाहन्छ। मेरा पैताला सधैँ एक्सेलेरेटरमा हुन्छन्।"

परिवर्तन

४४ वर्षीया श्रीमतीतर्फ इशारा गर्दै उनले भने, "मेरो रफ्तार सम्हाल्ने र एक्सेलेरेटरमा ब्रेक लगाउनलाई यिनी हुन्।"

पछिल्ला वर्षमा कैयौँ सफल भारतीय मूलका अमेरिकीहरूले दान दिने व्यवहारमा परिवर्तन ल्याएका छन्।

उनीहरुले मन्दिर र अन्य धार्मिकस्थललाई दान दिनुको सट्टा अरू सङ्गठन बनाउन थालेका छन्।

दान दिने सूचीमा अन्य कैयौँ मानिस पनि छन्।

सन् २०१५ मा चन्द्रिका र रञ्जन टण्डनले न्यूयोर्क युनिभर्सिटीको स्कूल अफ इञ्जिनियरिङलाई १० करोड डलर दान दिने घोषणा गरेका थिए।

डा. पटेल भन्छन्, म धनी नभएको भए पनि अरूलाई सहयोग गर्थेँ।

उनी थप्छन्, "जाम्बिया वा गुजरातमा मेरा आमाबुवासँग धेरै पैसा नभए पनि उहाँहरूले खाँचो परेकालाई सक्दो सहयोग गर्नुहुन्थ्यो।"

उद्देश्य

डा. पटेलले गुजरातको एउटा गाउँमा ५० शय्याको अस्पतालका लागि पनि दान गरेका छन्।

उनले आफूले दान गरेको रकममध्ये ५ करोड डलर सिधै विद्यालयको खातामा जाने र बाँकी १५ करोड डलर मेडिकल कजेलको भवन निर्माणमा खर्चिने बताए।

ठूलो रकम दिनुको उद्देश्य फ्लोरिडा र भारतका चिकित्सा शिक्षाका विद्यार्थीहरूबीच अनुभव साटासाट गराउनु रहेको छ।

त्यसबाहेक भारत र जाम्बियामा स्वास्थ्य सेवालाई अझ गुणस्तरीय र सर्वसुलभ बनाउनु दानको उद्देश्य रहेको छ।

डा. पटेल भन्छन्, "जाम्बियाका एकजना विद्यार्थी २ हजार डलर खर्च गरेर भारतमा खान र बस्नसक्छ। हामी एकसाथ हजारौँ मानिसलाई सहयोग गर्नसक्छौँ र अमेरिकामा जस्तो विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिलाउनसक्छौँ।"

डा. पटेल भव्य जीवन जिउनेजस्तो देखिन्छन्, पछिल्ला पाँच वर्षमा उनले चारवटा निजी विमान किनेका छन् र हाल फ्लोरिडामा दरबारजस्तो एउटा भव्य घर बनाइरहेका छन्।

मितव्ययी

करिब ४० वटा 'बेडरुम' मा भारतबाट लगिएको रातो ढुङ्गाको प्रयोग गरिएको छ र पछिल्लो पाँच वर्षदेखि एक सय जनाभन्दा बढी मानिसहरू निर्माणमा जुटिरहेका छन्।

डा. पटेलको विश्वास छ उक्त घर निर्माण भएपछि त्यसमा उनको तीन पुस्तासम्म बस्न सक्नेछन्।

उनकी श्रीमती डा. पल्लवी भन्छिन्, निजी विमामा यात्रा गर्नु र भव्य घरमा बस्नुले मध्यमवर्गीय परिवारको रुपमा महसुस गर्नुभन्दा बढी खुशी दिँदैन।

उनी थप्छिन्, "उनले आफूमाथि खर्च गरेभन्दा बढी दिएका छन्। मलाई लाग्छ कमाएकोले खर्च गर्ने अधिकार पनि उनको छ।"

डा. पल्लवीका अनुसार उनका श्रीमान् अहिले पनि मितव्ययी नै छन् र बच्चालाई त्यस्तै संस्कार दिएका छन्।

नौ वर्षको भएका बेला उनीहरूका छोरा शिलानले दिउँसो विद्यालयबाट घर फर्किनासाथ के हामीहरू धनी हौँ भनी सोधेका थिए।

छोराको प्रश्नबाट उनीहरू अचम्ममा परे तर डा. पटेलले भने, "म धनी हुँला, तिमी होइनौ।"

उनले थपिन्, "यसरी हामीले आफ्ना बच्चालाई बुझाउन चाह्यौँ कि आफ्नो जिन्दगी ऊ आफैँले बनाउने हो।"