तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्याटलोनियाःस्वायत्तता ‘निलम्बित’ हुनसक्छ
स्पेनका प्रधानमन्त्री मारिआनो राखोयले क्याटलोनियाको स्वायत्तता निलम्बित गर्न सकिने सम्भावनालाई नकार्न नसकिने बताएका छन्।
यद्यपि क्याटलोनियाविरुद्ध कुनै ठूलो कदम नचालिनेमा आफ्नो विश्वास रहेको उनले बताए।
पृथकतावादी नेताहरुले स्पेनबाट स्वतन्त्र भएको घोषणा गरिछाड्ने बताइरहेका बेला प्रधानमन्त्री राखोयले क्याटलोनियाले घोषणा गर्ने स्वतन्त्रताको कुनै असर नपर्ने दाबी समेत गरे।
एल पाइस पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले स्पेन स्पेनकै रुपमा लामो समयसम्म रहिरहने बताए।
सुनिश्चित
उनले भने, "सरकारले यो कुरा सुनिश्चित गर्नेछ कि स्वतन्त्रतासम्बन्धी कुनै पनि घोषणाले केही हुनेवाला छैन।"
कुनै क्षेत्रको स्वायत्तामाथि राष्ट्रिय संसद्ले हस्तक्षेप गर्नसक्ने संविधानको धारा १५५ क्रियाशील गर्ने सम्भावनाबारे जिज्ञासा राख्दा प्रधानमन्त्री राखोयले थपे, "कानूनमा भएको कुनै पनि कुरालाई म पूर्णरुपमा नकार्न सक्दिनँ।"
उनले जनमत संग्रहअघि क्याटलोनियामा खटाइएका अतिरिक्त प्रहरीलाई त्यहाँको संकट अन्त्य नभएसम्म फिर्ता नबोलाउने आफ्नो योजना रहेको पनि बताए।
देशमा राजनीतिक संकट गहिरिंदै गएकोले निर्धारित समय अगावै आमनिर्वाचनका लागि आह्वान चाहिँ नगर्ने प्रधानमन्त्रीले स्पष्ट पारे।
असंवैधानिक
यसैबीच स्वतन्त्रताको विपक्षमा रहेकाहरुले क्याटलोनियाको प्रमुख शहर बार्सिलोनामा आज दोस्रो दिन पनि प्रदर्शन गर्दैछन्।
आयोजकहरुले स्वतन्त्रता नचाहने मौन बहुमतको आफूहरुले प्रतिनिधित्व गरेको बताएका छन्।
अघिल्लो आइतवार सम्पन्न जनमत संग्रहमा ४० प्रतिशत अर्थात् क्याटलोनियाका करिब २३ लाख जनताले मतदान गरेका थिए र त्यसमध्ये ९० प्रतिशतले छुट्टिनुपर्ने पक्षमा मत खसालेका थिए।
जनमत संग्रहलाई स्पेनको संवैधानिक अदालतले असंवैधानिक घोषणा गरिसकेको छ।
जनमत संग्रह रोक्ने क्रममा स्पेनको राष्ट्रिय प्रहरीले बल प्रयोग गर्दा करिब ८०० जना घाइते भएका थिए।