तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एमाले-माओवादी-नयां शक्तिबीच एकता सहमति
नेकपा एमाले तथा माओवादी केन्द्रका शीर्ष नेताहरु सामेल भएको संयुक्त पत्रकार सम्मेलनमा दुवै दलले चुनावमा गठबन्धन र चाँडै एकता गर्ने बताए।
उक्त सहमतिमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी समेत सामेल भएको छ।
६ बुँदे सहमतिपत्रमा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन्।
तीनवटै पार्टीबीच एकता गरि देशको एउटै मुख्य कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्य रहेको सहमतिपत्रमा उल्लेख छ।
प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका निम्ति एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत गरी सिट तालमेल गरेर लड्ने दुवै दलले सहमति गरेका छन्। नयाँ शक्ति पार्टीलाई आपसी सहमतिमा सिट दिने बताइएको छ।
पार्टि एकताका निम्ति ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरिएको छ।
आगामी चुनावपछि विधिवत एकता थालिने बताइएको छ।
मंसिरको चुनावका निम्ति साझा घोषणापत्र बनाइने पनि बताइएको छ।
चुनाव चिन्ह भने हालका निम्ति आ-आफ्नै प्रयोग गर्ने नेताहरुले बताएका छन्।
एकताको ढोका
यो सहमतिले भावी दिनमा वाम एकता भनिने कम्युनिष्ट पार्टीहरुको वृहत एकताको ढोका खोल्ने उनीहरुले बताए।
मंगलबार भएको संयुक्त पत्रकार सम्मेलनमा नेताहरुले पार्टीको एकताका लागि संयोजन समितिको पनि घोषणा गरे।
"नेकपा एमाले, माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टीले राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमान माथि उठाउन चाहन्छौं। त्यसको निम्ति एकताबद्ध हुन आवश्यक छ," ओलीले बताए।
कुनै पनि दलले आफ्ना कुनै मौलिक अडान नछाडेको उनले बताए।
उक्त सम्मेलनमा बाबुराम भट्टराई तथा प्रचण्डले पनि सम्बोधन गरेका थिए।
"यो सहमति ऐतिहासिक आवश्यकता र आकस्मिकताका कारण भएको छ। यो कसैको विरुद्ध परिलक्षित छैन," प्रचण्डले बताए।
माओवादी केन्द्र र एमाले मिल्ने भएपछि अब वर्तमान सत्ता गठबन्धन प्रभावित हुने कतिपयको अनुमान छ।
के छ सहमति पत्रमा?
सो सहमतिपत्रमा एमालेको तर्फबाट ४ जना, माओवादी केन्द्रका ३ जना र नयाँ शक्ति पार्टिबाट १ जना रहने गरि एकता संयोजन समिति बनाइने उल्लेख छ।
एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय उक्त समितिको प्रमुख नेताको रुपमा रहने छन्।
उक्त समितिले पार्टि एकता र संगठनात्मक एकताको विस्तृत खाका तयार गर्ने जनाइएको छ।
त्यस्तै एकीकृत पार्टिको घोषणापत्र र विधान तयार गर्न एक दस्तावेज मस्यौदा समिति गठन गर्ने र प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भए पश्चात् पार्टि एकता विधिवत् रुपमा सम्पन्न गर्ने सहमतिपत्रमा उल्लेख छ।
सहमति घोषणा कार्यक्रममा बोल्ने तीनै नेताहरुले पार्टि एकीकरण सम्पन्न नभएसम्म एकअर्काप्रति नकारात्मक टिप्पणी र आलोचना नगर्न सचेत समेत पारे।