'जोखिमपूर्ण' बन्दै गण्डक नहर

पानीको उपयोगका लागि भन्दै नवलपरासीको त्रिवेणीमा निर्मित गण्डक नहर नेपाली पक्षका निम्ति जोखिमपूर्ण बन्दै गएको अधिकारीहरुले बताएका छन्।

भारतीय पक्षले आवश्यक मर्मत नगर्दा वर्षौंअघि निर्माण गरीएको नहरको धेरैजसो संरचना भत्किसकेको छ भने गण्डक बाँधको बनोटका कारण कटान तथा डुबानको समस्या पनि नेपाली पक्षले बारम्बार बेहोर्दै आएको छ।

मुख्य पश्चिमी गण्डक नहरका कारण स्थानीय स-साना खोलाहरुमा पानीको बहाव रोकिन गई धानबाली पूर्णरुपमा रुपमा डुबानमा परेको भन्दै गत महिना सुस्ता गाउँपालिकाका बासिन्दाले नहरको केही भाग भत्काई दिए।

नहरको डिल भत्काउनु भनेको आफैंमा आत्मघाती काम त थियो नै तर स्थानीय किसान एकनारायण न्यौपानेका अनुसार भारतीय नहर व्यवस्थापनविरुद्ध यो सांकेतिक विरोध पनि थियो।

डुबान समस्या

उनले भने, "बाढी आएर खोलाको पानी खेतमा जम्मा भएर पूरै धानबाली सखाप भयो।"

२०१६ सालमा गण्डक नहरको निर्माणसँगै नहरको तल र माथि रहेको करिब ४५ सय बिगाहा खेतीयोग्य जमिन बर्सेनि डुबानमा पर्दै आएको छ।

र, त्यसको क्षतिपूर्तिका लागि पटक-पटक आन्दोलन र पटक-पटक सहमति हुँदै आएपनि नेपाली पक्षले अहिलेसम्म केही पाउन सकेको छैन।

नवलपरासी आउने सबैजसो प्रमुख जिल्ला अधिकारीहरुका लागि पनि नहरको समस्या एक मुख्य समस्याको रुपमा अगाडि आएकै हुन्छ।

सो समस्याको निकास भने सीमाक्षेत्रका अधिकारीहरुबीच हुने द्वीपक्षीय कुराकानीमै सीमित रहने गरेको अनुभव नेपाली अधिकारीहरुको छ।

व्यवस्थापन

पछिल्लो समय किसानहरुले नहर भत्काइदिएपछि सीमाका अधिकारीहरुसँग त्यस्तै वार्ता भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर बताउँछन्।

उनले भने, "यसको कारण नहर भएको उनीहरुको बुझाई रह्यो। त्यही भएर नहर खन्न गए। नहरमा पानी हाल्दा गाउँ नै डुब्छ।"

नहरको मर्मत र पुनर्निर्माणका लागि भारतीय अधिकारीहरुसँग पटक-पटक कुरा राख्दै आएपनि देखिने गरी काम नभएको हुँदा जनता निराश भइसकेको सो क्षेत्रका सांसद देवकरण कल्वार बताउँछन्।

उनका अनुसार पछिल्लो पटक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण क्रममा पनि भारतीय पक्षसँग गण्डक नहरको समस्याबारे कुरा राखिएको थियो।

नेपाल-भारतबीच भएको गण्डक सम्झौता अनुसार नहरमा पानीको नियन्त्रणदेखि लिएर नहर व्यवस्थापनको सम्पूर्ण काम भारतीय पक्षले नै गर्नुपर्दछ।