तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
साउदीमा अब महिलाले पनि गाडी चलाउन ‘पाउने’
लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन दिने एउटा आदेश जारी गरेका छन्।
महिलाले पनि गाडी चलाउन पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुने त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ।
साउदी प्रेस एजेन्सीका अनुसार मन्त्रालयहरुले त्यससम्बन्धी ३० दिनभित्र प्रतिवेदन तयार पार्नेछन्।
महिलालाई पनि गाडी चलाउने अनुमति दिनुपर्ने माग गर्दै महिला तथा अधिकारवादी संस्थाहरुले लामो समयदेखि अभियान चलाउँदै आएका थिए।
जरिवाना
विश्वमा साउदी अरेबिया एकमात्र मुलुक हो जहाँ महिलाले गाडी चलाउने अनुमति पाउँदैनन्।
विद्यमान कानून अनुसार त्यहाँ पुरुषले मात्रै सवारी चालक अनुमतिपत्र पाउने गर्छन्।
गाडी चलाउन नपाउने सरकारी नीतिको अवज्ञा गरेको आरोपमा केही महिलाहरुले जरिवाना तिर्नुका साथै जेल समेत जानुपरेको थियो।
गत हप्ता एकजना धर्मगुरुले महिलाहरुले गाडी चलाउन नसक्ने बताएपछि विवाद निम्तिएको थियो।
'महत्त्वपूर्ण कदम'
संयुक्त राज्य अमेरिकाले महिलालाई पनि गाडी चलाउने दिने साउदी राजाको आदेश मानवअधिकारको दिशामा एउटा 'महत्त्वपूर्ण कदम' भएको प्रतिक्रिया दिएको छ।
गाडी चलाएकै कारण विगतमा जेल गएकी एकजना महिला अभियानकर्मी मनाल अल-शरिफले साउदी अरेबिया अब 'फेरि पहिला जस्तो नहुने' भन्दै ट्वीट गरेकी छन्।
अर्की अभियानकर्मी सहर नासिफले जेद्दाहमा बीबीसीलाई भनिन्, "म धेरै नै उत्साहित छु र खुशीले झुमिरहेकी छु।"
उनले अब आफूले कालो र पहेंलो रंगको कार किन्ने बताइन्।