तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गुरु बलात्कारी ठहर गरिएपछि ‘राम रहीम’का समर्थक आक्रोशित
भारतका एक नाम चलेका गुरू गुरमीत राम रहीम सिंहलाई हरियाणाको एक अदालतले दुई जना महिलाको १५ वर्ष अघि भएको बलात्कारमा दोषी पाएको छ।
डेरा सच्चा सौदा समुदायका प्रमुख गुरमीत राम रहीम सिंहलाई उक्त अपराधका लागि सोमबार सजाय सुनाइनेछ।
अदालतको फैसला लगत्तै त्यहाँ जम्मा भएका उनका समर्थकको भिडले हिंसात्मक प्रतिक्रिया जनाएको थियो।
पञ्जाब तथा हरियाणाका कतिपय स्थानमा डेरा समर्थकहरुले हिंसा मच्चाएको खबर प्राप्त भएका छन्।
झडप
सुरक्षाबल तथा डेरा समर्थकबीचको झडपमा परी कम्तीमा २८ जनाको ज्यान गएको बताइएको छ।
कैयौं घाइते भएका छन्। अनियन्त्रित भिडले सञ्चारकर्मीका सवारीसाधन तोडफोड गरेका छन्।
अदालत रहेको पंचकुला नगरमा प्रहरीले अश्रु ग्यास तथा गोलीको समेत प्रयोग गरेको छ।
त्यहाँ कर्फ्यु लगाइएको समाचार एजेन्सी पीटीआइले जनाएको छ।
पञ्जाब तथा हरियाणा दुवै राज्यका मुख्यमन्त्रीले शान्ति कायम राख्न अपिल गरेका छन्।
बन्दोबस्त
यसअघि उनको मुद्दामा फैसला हुने भएपछि त्यस्तै हिंसा होला भनेर पंचकुला नगरमा व्यापक सुरक्षा बन्दोबस्त गरिएको थियो।
पंचकुलामा झण्डै दुई लाख समर्थक भेला भएका बताइएको थियो।
त्यहाँ आकाशमा सैनिक हेलिकप्टरले गश्ती गरेका थिए भने सडकमा पनि सेना सहित अन्य सुरक्षाकर्मीहरु तैनाथ गरिएका थिए।
उक्त राज्यका कतिपय भागमा यही मुद्दाको फैसलाको संवेदनशीलताका कारण स्कूल, सरकारी कार्यालय, सडक तथा रेलवे बन्द गरिएका छन्।
साथै इन्टरनेट तथा मोबाइल फोन सेवा पनि ७२ घण्टादेखि बन्द छन्।