तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकी भिसासम्बन्धी नयां नीतिको निन्दा
रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले, अमेरिकी प्रवेशाज्ञाका लागि रुसीहरुले मस्कोस्थित दूतावासमा नै गएर आवेदन गर्नु पर्ने अमेरिकी निर्णयको आलोचना गरेका छन्।
एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले यो रुसीहरुलाई उनीहरुकै सरकार विरुद्ध भड्काउने प्रयास भएको बताएका छन्।
यसअघि मस्कोस्थित संयुक्त राज्य अमेरिकाको दूतावासले आउंदो बुधबारबाट अमेरिका जान चाहने रुसीहरुलाई आवश्यक प्रवेशाज्ञा जारी गर्ने कार्य अस्थायी रुपमा स्थगित गरेको बताएको थियो।
आगामी सेप्टेम्बर एक तारिखदेखि रुसको सेन्ट पीटर्सबर्ग, येकाटेरिनबर्ग र भ्लादीभोस्टोक शहरहरुमा रहेका अमेरिकी बाणिज्यदूतावासहरुले रुसीहरुलाई अमेरिकाको प्रवेशाज्ञा प्रदान गर्ने कार्य बन्द गर्नेछन्।
प्रवेशाज्ञा सम्बन्धी सम्पूर्ण कार्य अब मस्कोस्थित अमेरिकी दूतावासबाट मात्र गरिने बताइएको छ।
निन्दा
रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले अमेरिकीहरुको त्यस्तो कदमको निन्दा गरेका हुन्।
उनले भने यो भूतपूर्व सोभियत राज्यहरुमा भएका रंगीन क्रान्तीहरुका बेला अपनाइएको जस्तै रणनीति हो।
सन् २००४ मा युक्रेनमा सुन्तले क्रान्ति र त्यो भन्दा एक बर्षअघि जोर्जियामा गुलाबी क्रान्ति नाम दिइएका ठूलो आन्दोलनहरु भएका तर्फ उनको संकेत थियो।
अमेरिकी दूतावासले बुधबारबाट रुसमा सबै प्रवेशाज्ञा सम्बन्धी गतिविधिहरु बन्द गर्ने र आगामी महिना मस्कोस्थित दूतावासमा मात्र त्यसलाई पुन: शूरु गरिने जनाएको छ।
संकेत
रुसले देशमा अमेरिकी कूटनीतिक उपस्थिति घटाउन गरेको निर्णयले मस्को दुई देशको सम्बन्ध सुधार्न इच्छुक छैन भन्ने संकेत गरेको अमेरिकी दूतावासले जनाएको छ।
यसै महिनाको शुरुमा राष्ट्रपति पुटिनले ७५५ जना अमेरिकी कूटनीतिक कर्मचारीलाई देश निकाला गर्ने आदेश दिएका थिए।
गत वर्षको अमेरिकी चुनावमा हस्तक्षेप गरेको आरोपमा अमेरिकाले थप प्रतिबन्ध लगाएको बदलामा पुटिनले त्यस्तो आदेश दिएको हुनसक्ने बताइएको छ।