तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
खानपानमा ध्यान दिन चिकित्सकको सुझाव
बाढी प्रभावित क्षेत्रमा कतिपय रोगको जोखिम रहेको भन्दै चिकित्सकहरुले सफा पानी पिउन र सकेसम्म पकाएको खाना मात्रै खान सल्लाह दिएका छन्।
ती स्थानमा पानीबाट सर्ने हैजा, पखाला, हेपटाइटिस र टाइफाइड जस्ता रोग फैलिने प्रबल सम्भावना रहेकोले त्यसलाई मध्यनजर गर्दै आवश्यक औषधि र जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
केही दिनयताको अविरल वर्षाका कारण तराई तथा मध्यपहाडी क्षेत्रका थुप्रै स्थानमा जनधनको क्षति भएको छ।
ती ठाउँमा पानीका मुहान प्रदूषित भएकाले शुरुबाटै सफा पानी पिउन ध्यान नदिए महामारी फैलन सक्ने जोखिम रहेको चिकित्सकहरुले बताएका छन्।
उत्तम
स्वास्थ्य मन्त्रालय अन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले भने, "पानी उमालेर खानु सबैभन्दा उत्तम हुन्छ। त्यो गाह्रो छ भने पानीमा क्लोरिन झोल हालेर खान सकिन्छ।"
"र, खानामा पनि विशेष ध्यान दिनुपर्यो। पकाएको खान बाहेक अन्य खाना खानु हुँदैन। यी दुई कुरा गर्न सक्यो भने पानीबाट सर्ने रोगबाट बच्न सकिन्छ।"
यस्तो अवस्थामा चिसोबाट बच्न पनि उत्तिकै जरुरी रहेको चिकित्सकहरुले बताएका छन्।
त्यस्तै विगतमा बाढी गएको ठाउँमा सर्पदंशको समस्या देखिएकोले त्यसको उपचारका लागि चाहिने 'एन्टी भेनम'को व्यवस्था गरिएको डा. आचार्यले बताए।
प्रभावित
बाढी गएका स्थानमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन क्षेत्रगत हिसाबले विशेषज्ञ टोली खटाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
धेरै ठाउँमा स्वास्थ्य केन्द्र डुबानमा परेकोले ती स्थानमा औषधिको जोहो गरिहाल्न निर्देशन दिइएको स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले बताए।
उनले भने, "क्षेत्र र जिल्ला दुवैलाई विकसित पछिल्ला परिस्थितिको आधारमा पहल लिन निर्देशन दिइएको छ र औषधि खरिद गर्न पनि निर्देशन दिइएको छ।"
कतिपय विज्ञ चाहिँ भौगोलिक अवस्थाका कारण बर्सेनि बाढी, पहिरो जस्ता विपद् भोग्नुपर्ने बाध्यता रहेपनि पूर्व तयारीभन्दा विपद्पछिको उद्धारमा बढी केन्द्रित जस्तो देखिने सरकारी परिपाटीले समस्या बल्झाउने गरेको ठान्छन्।