रुससँगको संवादबारे ट्रम्पका छोराको इमेल

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनका जेठा छोराले आफ्ना इमेल श्रृंखला सार्वजनिक गरेर पारदर्शी काम गरेको बताएका छन्।

इमेलमा उनले गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले सहयोग गरेको कुरालाई स्वागत गरिएको छ।

राष्ट्रपतिले आफ्ना छोरालाई "उच्चकोटीका व्यक्ति" भनेका छन्।

इमेलमा ट्रम्प जुनियरलाई उनका पिताकी प्रतिस्पर्धी हिलरी क्लिन्टन लान्छित हुने औपचारिक दस्तावेज दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।

'दुखको कुरा'

रुसी वकिलले "संवेदनशील" सुचना दिने बताएपछि ट्रम्पका छोराले इमेलमा भनेका छन्, "यदि त्यसो हो भने त्यो मलाई असाध्यै मन पर्नेछ"।

इमेल प्रकरण बढ्दै जाँदा क्रेमलिन सम्बद्ध भनिएका रुसी कानुन व्यवसायीसँग भेटवार्ता गरिएको थियो।

अमेरिकी संसदको गुप्तचरी समितिका सबभन्दा बरिष्ठ सदस्य एडम शीफले इमेल प्रकरणको खुलासा असाध्यै महत्वपूर्ण र गम्भीर दुखको कुरा भएको बताएका छन्।

इमेलहरुबाट रुसी सरकारले ट्रम्प अभियानलाई सूचना उपलब्ध गराउन चाहेको स्पष्ट भएको उनले बताए।

उनले राष्ट्रपतिको समूहले मस्कोसँगको सम्बन्ध अस्वीकार गरेको कुरालाई अब नयाँ पृष्ठभूमिमा हेरिनुपर्ने बताए।

शीफले भने गुप्तचरी समितिले रुसी अधिवक्तासँगको बैठक सम्बद्ध हरेकसँग कुरा गर्नुपर्ने हुन्छ।

तर रुसी वकील नतालिया वेसेलनित्स्कायाले रुस सरकारसँग आफ्नो सम्बन्ध रहेको कुरा अस्वीकार गरेकी छन्।

अमेरिकी अधिकारीहरुले अमेरिकी चुनावमा रुसी हस्तक्षेप भए-नभएकोबारे अनुसन्धान गरिरहेका छन्।

यस्तो बेला ट्रम्पको सहयोगीले संवेदनशील सुचना पाउने अपेक्षासहित रुसी पक्षसँग भेटेको सम्भवत पहिलो पटक पुष्टि भएको छ।