जी ट्वेन्टीः जलवायु परिवर्तनबारे मतभेद

जर्मनीको ह्यामबर्गमा जी ट्वेन्टीको जारी शिखर सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी मुद्दाबारे मात्रै मतभेद कायम रहँदा वार्ताकारहरुले अन्तिम वक्तव्यमाथि काम गरिरहेका छन्।

संरक्षणवाद्विरुद्ध लड्ने सबै मुलुकको प्रतिबद्धतासँगै व्यापारसम्बन्धी साझा धारणामा सहमति जुटेको उनीहरुले बताएका छन्।

शिखर सम्मेलन चलिरहँदा विश्व नेताहरुले छुट्टा-छुट्टै भेटवार्ता गरेका छन्।

ब्रिटिश प्रधानमन्त्री टरिजा मेसँग भेटवार्ता गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र ब्रिटेनबीच व्यापार सम्झौतामा छिट्टै हस्ताक्षर हुने बताएका छन्।

प्रयास

ह्यामबर्गमा लगातार दोस्रो रात भएको हिंसात्मक प्रदर्शनका बीच अन्तिम चरणको वार्ता भइरहेको छ।

शिखर सम्मेलनले जारी गर्ने वक्तव्यको भाषामा सहमति जुटाउने प्रयासस्वरुप वार्ताकारहरुले रातभर छलफल गरेका छन्।

शनिबार राति वक्तव्य आउने अपेक्षा गरिएको छ।

शिखर सम्मेलनको आयोजक राष्ट्र जर्मनीकी चान्सलर एंगेला मर्केलले बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंसँग भेटवार्ता गरेकी छन्।

"कठिन वार्ता"

शिखर सम्मेलनमा शुक्रबार "कठिन वार्ता" भएको बताइएको छ।

तर शनिबार बिहान युरोपेली संघका एकजना अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले भनेको छ, "नतिजा राम्रो छ। हामीले वक्तव्य तयार पारेका छौँ। जलवायु परिवर्तनसम्बन्धी विषयमा मात्रै मतभेद छ।"

ती अधिकारीले वक्तव्यमा "संरक्षणवादविरुद्ध लड्ने" प्रतिबद्धता पनि समेटिने बताएका छन्।

ब्रिटिश प्रधानमन्त्री मेसँगको भेटवार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले दुई मुलुकबीच "एकदमै छिटो" "एउटा शक्तिशाली" व्यापार सम्झौता हुने बताए।