तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अवरुद्ध नारायणगढ-मुग्लिङ सडक खुला
बिहीबार रातिदेखि पहिरोका कारण बन्द हुन पुगेको नारायणगढ-मुग्लिङ सडकखण्ड २० घण्टापछि खुलेको अधिकारीहरुले बताएका छन्।
लामो समयसम्म सडक अवरुद्ध हुंदा यात्रुहरुले साह्रै दु:ख पाउनुपरेको गुनासो गरेका छन्।
बिहीबार राति ९ बजेदेखि बन्द भएको नारायणगढ-मुग्लिङ सडकमा खसेको पहिरो हटाएर शुक्रबार साँझ साढे ६ बजे देखि सवारी आवागमन खुला गरिएको हो।
उक्त सडकखण्डको मुग्लिङबाट नारायणगढतर्फ ३ किलोमिटर र ४ किलो मिटरको दूरीमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुगेको थियो।
सो राजमार्गमा पहिरोमा परी प्रहरीको सवारीसाधन र एउटा मालवाहक ट्रक पुरिएको, दुईजनाको ज्यान गएको र कम्तीमा दुईजना बेपत्ता रहका अधिकारीहरुले बताएका थिए।
बेपत्ताको खोजी कार्यका कारण पहिरो हटाउन लामो समय लागेको नारायणगढ-मुग्लिङ सडक आयोजनाले जनाएको छ।
आयोजनाका सूचना अधिकारी शिव खनालले भने, ''दुईजना प्रहरी हराईरहेकोले पहिरो हटाउन समय लागेको हो र पहिरोको ढुङ्गा माटो लोड गरेर अन्तै फाल्न लैजानुपरेकोले समय बढी लाग्यो।'
जोखिम
सडक खुले पनि त्यहाँ पहिरोको जोखिम कायमै रहेको र पानी पर्नासाथ फेरि पहिरो जान सक्ने डर रहेको चालकहरुले बताएका छन् ।
लामो समयसम्म सडक अवरुद्ध हुँदा यात्रुहरु सडक मै अलपत्रमा परेका थिए भने नारायणगढ र मुग्लिङको दुवैतर्फ करिब ९/९ किलोमिटरसम्म सवारी साधनको लाइन लागेको थियो ।
वर्षासँगै उक्त सडकबाट यात्रा गर्दा जोखिम बढ्दै गएपछि वैकल्पिक राजमार्ग अपनाउन जिल्ला प्रहरी कार्यलयले आग्रह गरेको छ ।
बिहीबार राति गएको पहिरोले प्रहरीको एक जीप र ट्रक बगाउँदा दुईजना प्रहरीको मृत्यु भएको र दुईजना प्रहरी हराइरहेका अधिकारीहरुले बताएका छन् ।
दिनभर खोजी कार्य जारी रहेपनि हराइरहेको जीप र प्रहरीलाई फेला पार्न सकिएको छैन।