तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उत्तर कोरियाद्वारा अमेरिकी विद्यार्थी रिहा
संयुक्त राज्य अमेरिकाले भनेको छ उत्तर कोरियाले आफूकहां थुनामा राखेको एकजना अमेरिकी विद्यार्थीलाई रिहा गरिदिएको छ।
अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले ती विद्यार्थी ओटो वार्मबिएर मुक्त भएको घोषणा गरेका हुन्।
ती २२ वर्षिय विद्यार्थी आफ्नो परिवारसँग पुनर्मिलनका लागि अमेरिकातर्फको यात्रामा रहेका विदेशमन्त्री टिलरसनले बताएका छन्।
ती अमेरिकी विद्यार्थी ओटो वार्मबिएरलाई उत्तर कोरियामा उनी बसेको होटेलबाट एउटा 'प्रोपागान्डा' संकेत चोर्न प्रयास गरेको अभियोगमा सन् २०१६ को मार्च महिनामा १५ वर्षको श्रम जेल सजाय सुनाइएको थियो।
रिहाई
वाशिंगटन पोष्ट समाचारपत्रले ती विद्यार्थीका अभिभावकलाई उद्धृत गर्दै तिनका छोरा आफूविरुद्धको मुद्दाको सुनुवाइपछि नै बिरामी परेका, उनलाई निद्रा पर्ने औषधि दिइएको र त्यसपछि उनको होश नखुलेको बताएको छ।
उक्त विद्यार्थी विरुद्धको सुनुवाइका क्रममा खिचिएको भिडिओमा उनले रुँदै आफूले एउटा 'टुर' ग्रुपको साथ यात्रा गर्ने क्रममा एउटा ब्यानर चोरेको स्वीकार गरेको दृश्य देख्न सकिन्छ।
उनको रिहाइ, एकजना चर्चित अमेरिकी बास्केटबल खेलाडी डेनिस रडम्यानको उत्तर कोरिया आगमनसँग सम्बन्धित भए, नभएको स्पष्ट छैन।
ती खेलाडी रडम्यान उत्तर कोरियाका नेता किमजङ अनका मित्र हुन् र उनले सन् २०१३ र १४ मा पनि सो देशको भ्रमण गरेका थिए।
उनले आफू उक्त देशमा एकजना स्वतन्त्र नागरिकका हैसियतमा आएको र आफूले उत्तर कोरियामा खेलकुदको प्रचारप्रसार गर्न सकिन्छ कि सकिंदैन भनेर जानकारी बटुल्नु रहेको टिप्पणी गरेका छन्।
उत्तर कोरियामा अरु तीन जना अमेरिकी नागरिकहरु बन्दी अवस्थामा छन्।
तिनमा ६२ वर्षिय कोरियाली अमेरिकी धर्मप्रचारक किम डोंग-चुल, कोरियाली अमेरिकी प्रोफेसर किम सांग-डुक र प्योंगयांग विज्ञान तथा प्रविधि विश्वविद्यालयका कर्मचारी किम हाक-सोंग रहेका छन्।