सगरमाथा आरोहणमा एउटा 'नयाँ कीर्तिमान'

आरोहण

तस्बिर स्रोत, DREAM HIMALAYA ADVENTURES

एक भारतीय महिला पर्वतारोही ६ दिनभित्र दुई पटक सगरमाथा आरोहण गर्न सफल भएकी छिन्।

योसँगै छोटो समयावधिभित्र दुई पटक सगरमाथाको आरोहण गर्ने सम्भवतः अंशु जम्सेन्पा एकमात्र महिला आरोही भएकी छिन्।

दुई सन्तानकी आमा ३७ वर्षीया जम्सेन्पाले मे १६ र २१ तारिख सगरमाथाको आरोहण गरेको पर्यटन विभागका एकजना अधिकारी ज्ञानेन्द्र श्रेष्ठले बीबीसीलाई बताए।

अहिलेसम्म महिलाले एक हप्ताभित्र दुई पटक सगरमाथाको आरोहण गरेको गिनिज वर्ल्ड रेकर्ड छ।

कीर्तिमान

यसै सप्ताहन्तमा तीनजना पर्वतारोहीको ज्यान गएको खबरहरु आइरहेका बेला जम्सेन्पाले नयाँ कीर्तिमान कायम गरेकी हुन्।

एकजना अस्ट्रेलियाली आरोहीको तिब्बतपट्टि मृत्यु भएको छ भने नेपालपट्टि एक स्लोभाकियाली र एक अमेरिकी पर्वतारोहीको ज्यान गएको छ।

सगरमाथाको चुचुरोमा पुगेपछि हराइरहेका अर्का एक भारतीय पर्वतारोहीबारे थाहा हुन नसकेको अधिकारीहरुले बताएका छन्।

अर्को महिना मनसुन शुरु हुनुअघि नै सयौं पर्वतारोहीहरु सगरमाथाको आरोहण गर्ने तयारीमा छन्।

अन्तराल

भारतको अरुणाचल प्रदेशकी जम्सेन्पाले दुईचोटि सगरमाथाको आरोहण गरेको यो दोस्रो पटक हो।

यसअघि सन् २०११ मा १० दिनको अन्तरालमा उनले आरोहण गरेकी थिइन्।

नयाँ कीर्तिमानबारे नेपालको पर्यटन मन्त्रालयले प्रमाणपत्र दिएपछि त्यसलाई उनले गिनिज रेकर्डका अधिकारीहरु समक्ष पेश गर्नुपर्ने हुन्छ।

अहिलेसम्म छोटो समयावधिभित्र महिला पर्वतारोहीले सगरमाथाको आरोहण गरेको कीर्तिमान नेपालकी छुरिम शेर्पाको नाममा छ।