सगरमाथाको पाटो खसेको छःआरोही

तस्बिर स्रोत, STR/AFP/GETTY IMAGES
सगरमाथाको एउटा प्रख्यात पाटो खसेको छ जसले संसारको सबभन्दा अग्लो शिखर सगरमाथा आरोहीहरुका लागि अझ खतराजन्य बन्न सक्छ।
पर्वतारोहीहरुले भनेका छन्- द हिलरी स्टेप नाम दिइएको सगरमाथाको चुचुरोमा पुग्नु केही अघिको उक्त पाटो नेपालमा गएको सन् २०१५ को विनाशकारी भूकम्पका कारण खसेको हुन सक्छ।
झण्डै ठाडो रेखा जस्तो प्रकृतिको १२ मिटर अग्लो चट्टानी स्वरुप सगरमाथाको दक्षिणपूर्वी भेगमा अवस्थित थियो। र, सगरमाथाको चुचुरोमा पुग्नुअघिको अन्तिम चुनौतीका रुपमा थियो।
सन् १९५३ मा सगरमाथाको चुचुरोमा पहिलोपटक पुगेका दुई आरोहीमध्ये एक सर एडमण्ड हिलारीको नाममा उक्त ठाउँको नाम द हिलरी स्टेप राखिएको थियो।
चुनौतीपूर्ण
गत मे १६ मा सगरमाथाको चुचुरोमा पुगेका ब्रिटिश आरोही टीम मोसडेलले उक्त अंश खसेको कुराको पुष्टि गरे।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, "हिलरी स्टेप अब बाँकी रहेन। यो औपचारिक हो।"
उनले लेखेका छन्, "त्यहाँ हिउँको पहाड बनेन भने के हुन्छ भन्न सकिन्न किनभने त्यहाँ यता उता ठूल्ठूला चट्टानहरु छन् र तिनलाई कसरी झेल्ने भन्ने निकै चुनौतीपूर्ण हुनेछ।"
मे २०१६ मा द अमेरिकन हिमालयन फाउण्डेशनले राखेको तस्वीरमा द हिलरी स्टेपको आकार परिवर्तन भएको देखिएको थियो।
तर त्यसबेला परेको हिउँका कारण के परिवर्तन भयो निश्चित भन्न गाह्रो परेको थियो।

तस्बिर स्रोत, GEORGE W. HALES/FOX PHOTOS/GETTY IMAGES
"त्यो गत वर्ष प्रकाशमा आएको थियो म गत वर्ष पनि सगरमाथा चढेको थिएँ तर निश्चित भन्न सकिन किनभने त्यो क्षेत्रमा हिउँ नै हिउँ थियो," मोसडेलले फेसबुकमा लेखेका छन्।
चेतावनी
उनले लेखेका छन्, "यो वर्ष म निश्चित रुपमा भन्न सक्छु द हिलरी स्टेप नाम दिइएको चट्टानको ठूलो अंश अब त्यहाँ छैन।"
पर्वतारोहीहरुले अब हिउँले छोपिएको भीर चढ्न पहिलेको कठिन चट्टान चढ्न सजिलो हुनेछ भन्ने दावी गरेका छन्।
तर त्यसले समस्या निम्त्याउन सक्ने उनले चेतावनी पनि दिएका छन्।
विश्वको टाकुरामा कम अक्सिजन र हिउँले अंग खाने समस्यासँग जुझिरहेकाहरुका लागि यो गम्भीर चिन्ताको विषय हुन सक्छ।
बीबीसीसँग सन् २०१२ मा कुरा गर्दै ब्रिटिश आरोही सर क्रिश बनिङटनले उक्त हिलरी स्टेप नजिक अड्किनु घातक हुन सक्ने बताएका थिए।
उनले भनेका थिए- यदि असाध्यै राम्रो दिन पर्यो भने द हिलरी स्टेपमा एक डेढ या दुई घण्टा ढिलो गर्नु त्यति समस्याकारी कुरा होइन तर मौसम राम्रो छैन भने हिलरी स्टेपमा साढे दुई घण्टा रोकिनु जीवनमरणको सवाल हुन सक्छ।








