तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तीनजना पूर्व आइजीपीलाई कैद र जरिवाना
सर्वोच्च अदालतले चर्चित सुडान घोटाला काण्डमा तीनजना पूर्व प्रहरी महानिरीक्षकहरुलाई जरिवाना र कैद सजाय सुनाएको छ।
प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सेनाको बख्तरबन्द सवारीसाधन खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै तत्कालीन प्रहरी महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीलाई सो सजाय सुनाएको हो।
अदालतले राणालाई दुई वर्ष कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना सुनाएको आइतबार जारी आदेशमा उल्लेख गरिएको छ।
त्यसैगरी अदालतले गुरुङ र ठकुरीलाई एक/एक वर्ष जेल सजाय र जनही ४० हजार रुपैयाँ जरिवाना सुनाएको छ।
ठहर
सर्वोच्च अदालतको इजलासले पूर्व आइजीपी राणाले प्रारम्भदेखि नै खरिद सम्झौताको शर्त विपरीतका सामान आपूर्ति गराउने कार्यमा भूमिका निर्वाह गरेको ठहर गरेको छ।
त्यसैगरी गुरुङले आपूर्ति नै नभएका सामानको भुक्तानी दिएको र ठकुरीले गुणस्तरहीन सामानबारे थाहा हुँदा-हुँदै भुक्तानी दिएको अदालतले ठहर गरेको छ।
अदालतले पूर्व प्रहरी अधिकृत दीपककुमार श्रेष्ठ, रविप्रताप राणालाई ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना तथा श्याम थापा र दीपकसिंह सांग्देनलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।
राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत सुडानका लागि बन्दोबस्तीका सामान खरिदमा ठेकेदारसँग मिलेमतो गरी २९ करोड रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ सालमा तीनजना पूर्व प्रहरी महानिरीक्षक लगायतविरुद्ध विशेष अदालतमा मुद्दा हालेको थियो।