तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
राष्ट्रपति निवासबाट बाहिरिइन् पार्क
महाभियोग लगाउने संसद्को निर्णयलाई अदालतले सदर गरेको दुई दिनपछि पदच्युत गरिएकी दक्षिण कोरियाकी राष्ट्रपति पार्क गुन हेले राष्ट्रपति निवास छोडेकी छन्।
अदालतको आदेशबारे अझसम्म प्रतिक्रिया नदिएकी पार्क सोलस्थित आफ्नो घरतर्फ लागेकी छन्।
एकजना नजिककी साथी चोय सून सिल जोडिएकी एउंटा भ्रष्टाचारकाण्डमा मुछिएपछि पार्कमाथि महाभियोग लगाइएको थियो।
पार्कका समर्थक र उनको गिरफ्तारीको माग गर्दै आएको विपक्षीहरुले शनिबार सोलमा र्याली निकालेका थिए।
बचाउ
पार्कले आफ्नो बचाउ गर्ने हैसियत अहिले गुमाइसकेकी छन् र राजनीतिक लाभका लागि कम्पनीहरुबाट पैसा लिन चोयलाई अनुमति दिएको आरोपबारे उनीमाथि फौजदारी मुद्दा अब शुरु हुन सक्छ।
कर्मचारीहरुसँग विदा भएर स्थानीय समयअनुसार साँझ ७ बजेपछि पार्क तथाकथित ब्ल्यू हाउसबाट बाहिरिएकी थिइन्।
ठूलो संख्यामा मोटरको लावालस्करसहित उनी गृहजिल्लातर्फ बढेकी थिइन्।
उनको घर अगाडि सयौं समर्थकहरु कुरिरहेका थिए र झण्डै एक हजारको संख्यामा प्रहरीको उपस्थिति थियो।
कामदार
उनको दुईतल्ले निजी निवासमा काम गर्नेहरु घरेलु सामानसहित देखिएका थिए।
पार्कप्रति वफादार मानिने ह्वाङ ग्यो हानले अहिले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका छन्।
मे महिनाको ९ तारिखसम्ममा नयाँ राष्ट्रपति चयनका लागि 'स्वतन्त्र र निष्पक्ष' निर्वाचन गराइने दक्षिण कोरियाली निर्वाचन आयोगले बताएको छ।
शुक्रबार संवैधानिक अदालतले पार्कका गतिविधिबाट 'लोकतन्त्र र विधिको शासन गम्भीर रुपमा कमजोर बनेको' बताएको थियो।