तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्पका ज्वाइँलाई ह्वाइट हाउसमा नियुक्ति
अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले आफ्ना ज्वाइँ ज्यारेड कुश्नरलाई ह्वाइट हाउसको एक प्रमुख सल्लाहकारमा नियुक्ति गर्ने घोषणा गरेका छन्।
३५ वर्षिय कुश्नर ट्रम्पकी छोरी इभान्काका श्रीमान हुन् र उनले अब घरेलु तथा विदेश नीति निर्धारणमा भूमिका खेल्नेछन्।
उनले ट्रम्पको चुनावी अभियानमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए।
उक्त नियुक्तिका लागि सिनेटको अनुमोदन आवश्यकता पर्दैन तर केहि विज्ञहरुले त्यसले नातावाद विरोधी कानून उल्लंघन गरेको भन्दै प्रश्न उठाएका छन्।
स्वार्थ
कुश्नर एक जना घरजग्गा करोबारी हुन र उनका व्यावसायिक स्वार्थहरु निक्कै फराकिलो रहेको बताइन्छ।
नातावाद विरोधी अमेरिकी कानून र सम्भावित स्वार्थका टकरावको कारण उनको नियुक्ति विवादमा तानिने देखिन्छ।
तर अबको १० दिनपछि अमेरिकाको ४५ औँ राष्ट्रपति पदमा शपथग्रहण गर्न लागेका ट्रम्पले आफ्नो प्रशासनको मुख्य नेतृत्वदायी भूमिकामा कुश्नरलाई नियुक्त गर्न पाएकोमा गौरव लागेको बताएका छन्।
विवाद
ट्रम्पको टोलीका सदस्यहरुले नातेदारलाई सरकारी जागिरमा नियुक्त गर्न नपाइने कानून व्हाइट हाउसका पदमा हुने नियुक्तीका हकमा लागू नहुने बताएका छन्।
अमेरिकी संघीय कानूनहरुले सरकारी कर्मचारीलाई नाफामुखी व्यवसायमा संलग्न हुन प्रतिबन्ध लगाएको छ।
कुश्नरका वकिलले व्हाइट हाउसको नियुक्ति स्वीकार गर्दा उनले परिवारको घर जग्गा व्यवसायको प्रमुखको पदबाट राजीनामा दिने र व्यवसायबाट आफूलाई अलग गर्ने जनाएका छन्।
तर वासिङटनस्थित बीबीसीका एक संवाददाता भन्छन् त्यसो गर्नु भने जति सजिलो छैन किनभने ट्रम्प परिवारले घर जग्गा व्यवसायको साम्राज्य खडा गरेको छ र त्यसमा अमेरिकामा लगानी गरिरहेका विदेशी नागरिकहरु पनि संलग्न छन्।