३१ पटक सगरमाथा चढेर आफ्नै कीर्तिमान भङ्ग गर्ने कामीरिता शेर्पाले कहिले विश्राम लेलान्

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

प्रसिद्ध पर्वतारोही कामीरिता शेर्पाले ३१औँ पटक सगरमाथाको शिखरमा पुगेर विश्वको सर्वोच्च हिमाल सर्वाधिक खेप चढेको आफ्नै कीर्तिमान भङ्ग गरेका छन्। उनीसँग निकट व्यक्तिहरूका अनुसार उनले पर्वतारोहणबाट तत्काल अवकाश लिने मनस्थितिमा आफू नभएको बताउने गरेका छन्।

सोलुखुम्बुको थामे गाउँका ५५ वर्षीय उनी मङ्गलवार बिहान भारतीय सेनाको एक आरोहण दललाई सघाउँदै सगरमाथाको चुचुरोमा पुगेका हुन्। उनलाई 'एभरेस्ट म्यान' पनि भनेर चिनिन्छ। उनी सन् १९९४ मा पहिलो पटक विश्वको सर्वोच्च शिखरमा पुगेका थिए।

शेर्पा 'फोर्टिनपीक एक्सपिडिशन' नामक कम्पनीसँग आबद्ध छन्। सो कम्पनीका प्रमुख टासीलाक्पा शेर्पाका अनुसार कामीरिता शेर्पा आफू स्वस्थ रहँदासम्म निरन्तर आरोहण गरिरहने पक्षमा छन्।

"तर उहाँले हिमाल चढ्ने-नचढ्ने कुरा सीजन सुरु भएपछि मात्रै बताउने गर्नुहुन्छ। अर्को वर्षको कुरा अर्को वर्ष मात्रै थाहा हुन सक्छ," फोर्टिनपीक एक्सपिडिशनका प्रमुख शेर्पाले भने।

"उहाँको कुरा केही भन्नै सकिँदैन। यो वहाँको व्यक्तिगत निर्णयको विषय पनि भयो। तर स्वास्थ्य समस्या नआएसम्म चढिरहनुहुन्छ होला।"

हिमालय क्षेत्रका आरोहणको विवरण राख्ने 'हिमालयन डेटाबेस' का अनुसार शेर्पाहरूले आरोहण सहयोगीका रूपमा अधिकतम ६२ वर्षको उमेरसम्म सगरमाथा आरोहण गरेको पाइन्छ।

अनिश्चित योजना

यसअघि प्रत्येक पटक सगरमाथाबाट फर्किएपछि फेरि चढ्ने उनको इच्छाबारे सोध्दा उनी जीवनमा धेरै कुरा अनिश्चित हुने बताउने गर्थे।

कामीरिता शेर्पाले सन् २०१८ मा २२औँ पटक सगरमाथा आरोहण गरेपछि नयाँ कीर्तिमान कायम भएको थियो। त्यसअघि आपा शेर्पा, फुर्वाटासी शेर्पा र उनले २१ पटक सगरमाथा चढेको कीर्तिमान थियो। आपा र फुर्वाटासीले पर्वतारोहणबाट त्यसअघि नै अवकाश लिइसकेका थिए।

सन् २०१८ मा बीबीसीलाई दिएको एक अन्तर्वार्तामा कामीरिताले २५ पटक सगरमाथा चढ्ने बताएका थिए। आफूले तोकेको लक्ष्य हासिल गरिसकेको भए पनि उनले सगरमाथा चढ्न छोडेका छैनन्। सन् २०२० मा कोभिड महामारीका बेलाबाहेक उनले प्रत्येक वर्ष आफ्नै कीर्तिमान भङ्ग गर्दै आएका छन्।

कहिले विश्राम लेलान्

उनले कहिले विश्राम लेलान् त? त्यो उनले खोलिसकेका छैनन्। तर हिमालयन डेटाबेसकी बिली बियलिङ कामीरितासँँग "अझै परिवारिक जिम्मेवारी" रहेकाले उनी अझै थप केही वर्ष आरोहण गर्न सक्ने ठान्छिन्।

सन् २०२३ मा २६औँ र २७औँ पटक आरोहण गर्दा सोलुखुम्बुको पाङ्बोचेका ४८ वर्षीय पासाङ दावा शेर्पा (पादावा)ले दुई पटक आरोहण गरेर कामीरिता शेर्पासँग केही दिनका लागि कीर्तिमान बराबरी गरेका थिए।

यद्यपि सोही याममै कामीरिता समेत दुई पटक नै चुचुरोमा पुगेर आफ्नो अग्रता कायमै राख्न सके। पादावाले यसै याममा केही दिनअघि आफ्नो २९औँ सगरमाथा आरोहण गरेका छन्।

"पाङ्बोचेका पादाबा २९ पटक आरोहण गरेर उनी पछिपछी रहेको अवस्थामा त्यो एक खालको लत बन्नेगर्छ। तर उनीहरूका लागि कीर्तिमान कति महत्त्वपूर्ण छ भन्ने हामीलाई थाहा छैन," बिली बियलिङ भन्छिन्।

"कामीरिताले यस [कीर्तिमान] बाट प्राप्त हुने प्रतिष्ठा देखेका छन्। त्यसकै कारण उनी संसारभरि चिनिएका छन्। त्यसले कसैले उछिन्ने परिस्थिति उनका लागि सहज हुने छैन। तर कहिलेकाहीँ उमेरका अगाडि कुनै कुरा चल्दैन।"

सात वर्ष कान्छा पादावाबाट चुनौती

नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष निमानुरु शेर्पाका अनुसार शेर्पाहरू जीविकोपार्जनकै लागि पनि ७० वर्षको उमेरसम्म हिमालमा जाने गरेको पाइन्छ। त्यसैले उनी कामीरिता शेर्पाले तत्कालै अवकाश लिने सम्भावना देख्दैनन्।

"कम्तीमा अझ १० वर्ष वहाँ सगरमाथा चढिरहे म आश्चर्यमा पर्ने छैन। यस कीर्तिमानको अर्थ पर्वतारोहणमा नेपाली आरोही शेर्पाहरूलाई कसैले परास्त गर्न सक्दैन भन्ने पनि हो," निमानुरु शेर्पाले भने।

"चुचुरोसम्मै नपुगे पनि ७० वर्षसम्मै शेर्पाहरू हिमालमा काम गर्ने गरेको पाइन्छ।"

विगत १२-१३ आरोहण वर्षमा पादावा प्रत्येक साल दुई पटक सगरमाथाको शिखरमा पुग्दै आऐका छन्। उनी कामीरिताभन्दा सात वर्ष कान्छा छन्। उनलाई धेरैले कामीरिता शेर्पालाई चुनौती दिन सक्ने समकालीन पर्वतारोही ठान्छन्। त्यसैले पनि धेरैको ध्यान कामीरिता शेर्पाले कहिले सगरमाथा नजाने घोषणा गर्लान् भन्नेमा छ।

पादवाले सन् १९९८ मा पहिलो पटक चुचुरोमा पुग्दा कामिरितासँग तीन पटक सगरमाथा आरोहण गरिसकेको अनुभव थियो। कामीरिताले सन् १९९४ मा पहिलो सगरमाथा आरोहण गरेका थिए।

तर पादावाले २१ वर्षको उमेरमा पहिलो सगरमाथा आरोहण गरेका थिए भने कामिरिताले २४ वर्षको हुँदा सगरमाथाको चुचुरो पुगेका थिए।

सन् २०२३ र सन् २०२४ मा कामीरिताले एकै याममा दुई पटक सगरमाथा आरोहण गरेका छन्।

एनएमए अध्यक्ष निमानुरु शेर्पा भन्छन्, "कामीरिताको कीर्तिमान तोडिइहाल्दा समेत त्यो शेर्पाबाहेक अन्यले गर्न सक्ने सम्भावना आउँदा केही वर्षहरूका लागि देखिँदैन।"

कामीरिता शेर्पा को हुन्

कामीरिता शेर्पाको जन्म सोलुखुम्बुको थामेमा सन् १९७० मा भएको हो। उनले २२ वर्ष हुँदादेखि हिमाल चढ्न थालेका हुन्।

उनका बुवा मिङ्मा छिरिङ शेर्पाले सर एड्मन्ड हिलरीसँगै पहिलो सगरमाथा आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पासँगै काम गरेका थिए। उनका दाजु लाक्पारिता शेर्पा सातै महादेशका सर्वोच्च शिखर चढ्ने कीर्तिमान भएका पर्वातारोही हुन्।

कामीरितालाई पर्वतारोहणमा ल्याएका लाक्पारिता शेर्पा १७ पटक सगरमाथा आरोहण गरेका छन्। सन् २०१४ मा खुम्बु आइसफलमा हिमपहिरो जाँदा १६ शेर्पाको मृत्यु भएको थियो। उक्त घटनापछि उनले आरोहण छाडे र उनी अहिले पदयात्रा गाइडका रूपमा सक्रिय छन्।

कामिरिता "सगरमाथा चुचुरो पुग्ने काम आफ्नो वशमा नहुने र भगवानमा विश्वास गर्नुपर्ने" ठान्छन्।

"शेर्पाहरूबिना सगरमाथाको भविष्य नहुने भए पनि सरकारले आफूहरूको भविष्यबारे नसोचेकोमा दुःख लागेको छ," सन् २०१८ मा उनले बीबीसीलाई बताएका थिए।

प्रत्येक पटक चुचुरो टेक्नुअघिको आफ्नो शैलीबारे यसअघि उनले भनेका थिए, "तपाईँको शरीरमा पाइला टेक्नुपर्‍यो भनेर माफी माग्दै पूजा गर्छु। चुचुरोमा पाइला टेक्नुअगावै तलबाटै तीन पटक ढोगेर माफी माग्छु।"

उनी कार्यरत आरोहण कम्पनीका प्रमुख टासीलाक्पा शेर्पा कामीरिता "इमानदार, बलिष्ठ र विनम्र" व्यक्ति भएको बताउँछन्।

"महान् आरोही भए पनि कामीरिता कहिल्यै आफ्नो स्वार्थ मात्र हेरेर काम गर्नुहुन्न। उहाँ टोलीको रूपमा त्यसको बलियो हिस्सा हुँ भनेर काम गर्नुहुन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।