तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल किन अग्ला हिमालको सूची बढाउन लागिपरेको छ?
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
नेपालमा आठ होइन १४ वटा आठ हजारभन्दा अग्ला हिमाल छन् भन्ने विषयको एक सरकारी समितिले एक दशकअघि नै टुङ्गो लगाए पनि हिमालका सूचीमा त्यो अद्यावधिक भएसँगै पुनः त्यो विषय चर्चामा आएको छ।
आरोहणको वसन्त याम सुरु हुनुअघि नेपाल हिमाल पीक प्रोफाइलले हिमचुलीहरूको सूची अद्यावधिक गर्दै पूर्वी नेपालको कञ्चनजङ्घा आसपासका चार वटा र सगरमाथा छेवैमा पर्ने ल्होत्से हिमाल आसपासका दुई चुचुरोलाई आफ्ना अलग्गै हिमालका सूचीमा थप गरेको छ।
त्यसको अन्तर्राष्ट्रिय मान्यताका लागि स्वीट्जरल्यान्डमा मुख्यालय रहेको इन्टरन्याश्नल माउन्टेनरिङ एन्ड क्लाइम्बिङ फेडरेशन (यूआईएए) को अनुमोदन आवश्यक मानिन्छ।
यूआईएए आरोहीहरूको अन्तर्राष्ट्रिय सङ्घठन हो जसको एक सदस्य नेपाल पर्वतारोहण सङ्घ (एनएमए) हो।
नेपालमा हिमाली चुलीहरूको 'प्रोफाइल' तयार पार्ने काम एनएमएले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग मिलेर गर्दै आएको छ।
त्यसैले यूआईएएको अनुमोदनको अर्थ पर्वतारोहण जगतले सूचीमा थप गरिएका हिमालको स्वामित्व लिएको रूपमा बुझिने एनएमएका अध्यक्ष निमा नुरु शेर्पा बताउँछन्।
"त्यसका लागि यूआईएएले आफ्नो बोर्डको एजेन्डाका रूपमा त्यसलाई अगाडि बढाउनुपर्ने हुन्छ। उनीहरूले अगाडि बढाउलान् भनेर कुर्दा त्यो कहिल्यै अनुमोदन नहुन पनि सक्छ," एनएमए अध्यक्ष शेर्पा भन्छन्।
"ती नेपालका हिमाल हुन्। त्यसमा आरोहणको अनुमति जारी गर्ने नेपालले नै हो। त्यसैले अहिले सरकारले नै आधिकारिक रूपमा त्यसको घोषणा गरेर अगाडि बढ्न सकिने कुरा हो।"
पर्यटन विभागका महानिर्देशकले नेपालमा आठ हजार माथिका १४ वटा हिमाल भएका कुरा विगतदेखि नै स्थानीय शेर्पा, आरोहीदेखि सरकारी पक्षबाटै आए पनि त्यसको अनुमोदनका लागि सुरुमा व्यवस्थित मापनको काम गरिने बताउँछन्।
"१४ वटा आठ हजार माथिका हिमाल भन्ने हाम्रो दाबी भए पनि कसैले त्यसलाई हिमालको चुचुरो चढ्ने काँध पनि भन्ने गर्छन्," महानिर्देशक नारायणप्रसाद रेग्मी भन्छन्।
"त्यसैले अनुमोदनको प्रक्रिया बढाउनका लागि विभिन्न विधिबाट नाप्ने काम सुरुमा गरेपछि त्यो औपचारिक रूपमा अगाडि बढ्छ।"
पर्वतारोहण जगतमा पर्ने असर
हाल संसारभर १४ वटा आठ हजार मिटर माथिका हिमालका रूपमा मान्यता पाएका छन्। ती आठ नेपालमा, पाँच पाकिस्तानमा र एक चीनको तिब्बतमा छन्।
'फोर्टिन पीक'का रूपमा चिनिने यी १४ हिमाल हालसम्म करिब पचास जनाले मात्र आरोहण गरेका छन्।
"त्यसक्रममा कैयौँका कीर्तिमानहरू बनेका छन्। यी छवटा हिमाल थप हुँदा ती के हुन्छन् भन्ने सबैभन्दा जटिल प्रश्न छ," एनएमए अध्यक्ष शेर्पा भन्छन्।
"यो प्राविधिक पक्ष पनि हो, तर त्योभन्दा जटिल पक्ष आरोहीको मानको हो।"
करिब १२ वर्षअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा गठित एक समितिले नै अहिले अघि सारिएका छवटा हिमाल आफ्नो सूचीमा थप्न सुझाएको थियो।
यसबीचमा एनएमएकै अगुवाइमा सम्बद्ध विभिन्न सरकारी संस्थाहरू सहित अनुमोदनका थप पहल र छलफल भएका थिए।
जसक्रममा गठित एक प्राविधिक कार्यदलको नेतृत्व गरेका नापि विभागका एकजना पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले "उचाइबारे दुई-चार मिटर तलमाथि परे पनि ती आठ हजार माथिका हिमाल रहेकोमा विवादित हुने खालको सन्देह नरहेको" बताउँछन्।
"तिनका उचाइ त्यहाँ पुगेका आरोहीले यसअघि विभिन्न उपकरणबाट नापेका छन्। सबैभन्दा मुख्य कुरा छेउमै रहेका अन्य अग्ला हिमाललाई आधार मानेर ती अग्लामध्येमा रहेको मान्न सकिन्छ," चुचुरोको सूची तयार पार्ने उपसमितिका सदस्य समेत रहेका श्रेष्ठ भन्छन्।
"यूआईएएले तोकेका अन्य मापदण्ड पूरा हुनेगरी नै ती हिमालहरू सिफारिस भएका हुन्। यो यूआईएएका पदाधिकारी तथा विज्ञहरूले समेत पटक पटक व्यक्तिगत रूपमा स्वीकार गरेको विषय हो। तर संस्थागत रूपमा मात्र त्यो अगाडि बढ्न सकेको छैन।"
नयाँ हिमाल
चुलीको सूचीमा थप भएकामा यालुङ खाङ (८,५०५ मिटर), यालुङ खाङ वेस्ट (८,०७७ मिटर), कञ्चनजङ्घा सेन्ट्रल (८,४७३ मिटर), कञ्चनजङ्घा साउथ (८,४७६ मिटर) यसअघि कञ्चनजङ्घाका सहायक चुचुराका रूपमा थिए।
त्यसैगरी ल्होत्से मिडल (८,४१० मिटर) र ल्होत्से शार (८,४०० मिटर) ल्होत्सेका सहायक चुचुराका रूपमा थिए।
यूआईएएले विभिन्न हिमशृङ्खलापिच्छे चुली अनुमोदनको मापदण्ड तय गर्ने गर्छ।
जसमा उचाइ एउटा प्रमुख आधार भए पनि त्यसको पर्वतारोहणमा हुने अलग्गै महत्त्व, चुचुरोसम्म पुग्ने बाटो, ऐतिहासिक पृष्ठभूमि र दुई हिमालका बीचमा एउटा होचो बिन्दु (कोल) हुनुपर्नेजस्ता विषय छन्।
नेपालले आफ्नो तर्क पेस गर्ने क्रममा यी हिमालका चुचुरा पुग्ने क्रममा सबैका लागि अलग्गै बाटो रहेको र आसपास अलग्गै चुचुरो मानिएको हिमालबीच ५०० मिटरभन्दा बढ्ता दूरी रहेको पक्ष समेत उठाउने गरेको छ।
यी हिमालमध्येमा यालुङ खाङ वेस्ट बाहेक अन्यका चुचुरोमा यसअघि मानिसहरू पुगिसकेको हिमालयन डेटाबेसको विवरणले देखाउँछ।
सरकारी तयारी 'अहम्'
एक दशकअघि पहिलोपटक थप अग्ला हिमालको सिफारिस गरेको सरकारी समितिका संयोजकले त्यसबेला आफूहरूले नापि विभाग र नेपाल पर्वतारोहण सङ्घलाई अघि सारेर अध्ययन गरेपछि मात्र उक्त सूची बाहिर ल्याइएको बताउँछन्।
सो समितिका संयोजक रहेका पूर्वसचिव पूर्णचन्द्र भट्टराई भन्छन्: "एनएमएले त्यसलाई सरकारलाई जानकारी दिएर यूआईएएमै उठाएको पनि थियो। अहिले सरकारले अग्रसरता लिनु नै स्वागतयोग्य विषय छ।"
उनले त्यसरी अनुमोदन भए नेपालको पर्वतीय पहिचान नै समेत फेरिने भन्दै त्यो निकै उल्लेख्य कदम हुने बताउँछन्।
"नेपालले एक दशकअघि नक्साङ्नसहित प्राविधिक रूपमा राम्रो तयारी गरेर यो विषय उजागर गरेको थियो। पहिले नै प्रचलनमा आएका मापदण्डलाई आधार मानेर चुक नहुने गरी हामीले यस विषय अघि सारेका थियौँ," भट्टराई भन्छन्।
"अहिले सही ठाउँमा सही तरिकाले अग्रसरता लिनुपर्ने अवस्था छ। नयाँ हिमाल थप हुने बित्तिकै पर्वतारोहण क्षेत्र पुनः नयाँ स्वरूप लिन्छ। त्यसैले यो निकै महत्त्वपूर्ण छ।"
करिब साढे तीन वर्षअघि नेपालकै मनास्लु हिमालमा नेपाली शेर्पा नेतृत्वको एक आरोहण दलले अघिपछि चुचुरो मानिने स्थानभन्दा करिब ७ मिटर माथि पुगेर 'ट्रु समिट' गरेको थियो।
धवलागिरि, कञ्चनजङ्घा, शिशापाङ्ग्मा, ब्रोडपीकजस्ता हिमालमा समेत वास्तविक चुचुरो छुने काम प्राविधिक रूपमा निकै जटिल मानिएका कारण त्योभन्दा केही तलपट्टिको बिन्दुलाई चुचुरो मान्दै आरोहण हुने गर्छ।
जसले गर्दा कुनैबेला कोही आरोही 'ट्रु समिट' पुगेमा त्यसले त्यसअघि नै चुचुरो पुगेर विभिन्न कीर्तिमान राखिसकेका कतिपयलाई दबावमा पार्न सक्छ।
नयाँ चुलीहरू आठ हजारमाथिका हिमालका रूपमा अन्तर्राष्ट्रिय रूपमै अनुमोदित भए पहिल्यै 'फोर्टिन पीक' गरेका आरोहीका लागि समेत यस्तै दबाब पर्न सक्ने कतिपय जानकारहरूको विश्लेषण पाइन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।