सत्ता गठबन्धनमा 'खटपट' बढेको आशङ्का, सत्तापक्ष के भन्छ

सत्तापक्षका केही नेताहरूले बजेटप्रति असन्तुष्टि व्यक्त गर्नुका साथै विपक्षी दलहरूको बैठकमा सहभागी पनि भएपछि वर्तमान सत्ता गठबन्धनमा मतभेद देखा परेको आशङ्का उत्पन्न भएको छ।
यद्यपि सत्तारूढ दलका नेताहरूले "बाहिर हल्ला भए जस्तो" गठबन्धनभित्र खटपट नभएको दाबी गरेका छन्। आइतवार संसद्मा बजेटबारे बोल्दै एमाले सांसद्हरूले यो बजेट पारित गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन्।
विशेष गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेपछि गठबन्धनभित्र "खटपट" भएको आशङ्का बढेको थियो।
केपी शर्मा ओलीले के भने
गत शनिवार ओलीले एमाले संसदीय दलको बैठकमा अर्थमन्त्रीले "परामर्श नगरी बजेट ल्याएको" बताएका थिए।
उनले भनेका थिए, "…यो बजेट एकदमै सामान्य हिसाबले भन्ने हो भने दफावार हिसाबले नजाँदा पनि सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर, छलफल गरेर बजेट आइएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो।"
"छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि? अर्थमन्त्री भएको पार्टीको बजेट हो कि? जस्तो अलि बढ्ता देखिन गएको छ र रकमको बाँडफाँट पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ।"

तस्बिर स्रोत, RSS
"यो कमी रहेको छ। यसको निर्माण प्रक्रियामा नै कमी रह्यो… त्यो कमी नरहनुपर्थ्यो। त्यसले गर्दा यसमा गम्भीर त्रुटि भयो।"
आइतवार ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो।
त्यसमा पनि बजेटबारे छलफल भएकोबारे उनी उक्त भेटवार्ताबाट निस्किँदै गर्दा पत्रकारहरूले सोधेका थिए। बजेटबारे असन्तुष्टि नरहेको बताउँदै उनले भने भने, "छलफल भएको भए अझ राम्रो हुन्थ्यो।"
सोही दिन अर्को एउटा कार्यक्रममा ओलीले एक मन्त्रीप्रति उनको नाम नलिईकनै आलोचनात्मक टिप्पणी पनि गरे।
उनले "मैले एउटा कथा सुनेको थिएँ" भन्दै उनले कटाक्ष गरेका थिए।
ओलीले भनेका थिए, "एक देशमा एउटी चेली कुन देशमा कता गएर पढिन्, कता गएर बिहे गरिन्, के भयो अनि ती आफ्नो माइती देशमा गइन् अरे।"
उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्री बनेकी सुमना श्रेष्ठप्रति कटाक्ष गरेको बुझिन्थ्यो।
"माइती देशमा त असन्तुष्टि अस्तव्यस्तता युवाहरूमा त्यतिकै कस्तोकस्तो के कसरी अघि बढ्ने भन्ने नभएको अन्योलको त्यस्तो स्थिति। को उठ्छ भन्दा 'म उठ्छु' भन्ने खालको, सांसदमा 'को उठ्छ' भन्दा 'म उठ्छु' भन्ने खालको। 'कसलाई चाहिएको समानुपातिक' भन्दाखेरि सांसद भइन् अरे, मन्त्री भइन् अरे।"
उनले त्यसलाई "आकाशबाट वर्षा हुँदा माछा झरेको" प्रसङ्गसँग पनि जोड्दै व्यङ्ग्य गरेका थिए।
"…यस्तो कहिलेकहिले हुन्छ, आकाशबाट पानी पर्दा माछा खस्छ। …एकपल्ट माछा खस्यो भने कसैले पकाएर खायो। अर्कोपल्ट पनि माछा मार्न गएर पानी परेका बेला खसिहाल्छ भनेर आश गरेर बस्यो भने हुँदैन।"
माधव नेपालले के गरे
त्यस्तै गत साता नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विपक्षी दलका नेताहरूको बैठकमा सहभागी भएका थिए।
त्यसले गठबन्धनभित्र "शङ्का उत्पन्न गराएको" भन्ने खालका विवरणहरू पनि बाहिर आएका थिए।
यद्यपि नेपालले आइतवार विपक्षी नेताहरूलाई भेट्दैमा "कसैले आत्तिनुपर्ने आवश्यकता नभएको" बताएका छन्।

तस्बिर स्रोत, RSS
उनले भने, "हामी एउटा महत्त्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ। सबैले नेताहरूसँग सम्पर्क गर्न पाउँछन्, हामी पनि पाउँछौँ। अन्यथा रूपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन।"
"त्यही सिलसिलामा मैले प्रधानमन्त्रीसँग असमझदारी नहोस् भनेर फोन पनि गरेँ। उहाँले भन्नुभयो : 'ठिक छ, - सम्बन्ध सबैसँग राख्नुपर्छ तर कमिटमन्ट फाइनल नगरिदिनुहोला।' हामी दुईवटा नाउमा खुट्टा राखेर चल्दैनौँ।"
सत्ताको समीकरण अब के होला?

तस्बिर स्रोत, RSS
पछिल्ला गतिविधि हेर्दा सत्ता गठबन्धनभित्र "केही खटपट अवश्य देखिएको हुनसक्ने" कतिपयको विश्लेषण रहेको छ।
तर सत्ता साझेदार दलमध्येको सबैभन्दा ठूलो दल एमालेका उपाध्यक्ष एवं भूतपूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल त्यो "अडकलबाजी मात्र भएको" बताउँछन्।
उनले बीबीसीसँग भने, "सत्ता समीकरणमा कुनै असर पर्दैन। हामी गठबन्धन पनि भन्दैनौँ, यो समीकरण र सहकार्य हो।"
"यो सहकार्य लामो समय जान्छ। यसमा कुनै पनि कुराले असर पार्दैन। यो निरन्तर चल्छ। कुनै शङ्का नगर्दा हुन्छ।"
नेताहरू र विशेष गरी 'ओलीका पछिल्ला अभिव्यक्तिले त्यस्तै सङ्केत गर्छन् नि?' भन्ने प्रश्नमा उनले भने, "पछिल्ला न अघिल्ला, कुनै पनि अभिव्यक्तिले असर गर्दैन।"

तस्बिर स्रोत, KP OLI SECRETARIAT
उनले बजेटबारे एमालेका धारणाहरू सदनमै आइसकेको र बजेट पारित गर्न सत्तारूढ दलहरू एकमत रहेको बताए।
प्रतिनिधिसभामा नेकपा माओवादीका प्रमुख सचेतक रहेका हितराज पाण्डेले पनि सत्ता गठबन्धनमा खटपट देखिएको भन्ने हल्ला मात्र रहेको दाबी गरे।
उनले भने, "बजेटमा व्यक्त भएको हाम्रो साझेदार सबैभन्दा ठूलो दलको कुरालाई लिएर कतिले त्यस्तो अडकल काटेका होलान्। तर आइतवार सदनमा उहाँहरूले एकमतले बजेटको समर्थनमा बोलेपछि त्यो तथ्यले नै त्यस्ता हल्लाहरूलाई काटिहाल्यो नि!"
उनले बाहिर आएका हल्ला र टीकाटिप्पणीजस्तो गठबन्धन दलहरूबीच कुनै मतभेद नरहेको दाबी गरे।
माधवकुमार नेपाल विपक्षी दलहरूको बैठकमा गएपछिको कुरा सुनाउँदै उनले भने, "हाम्रा माननीयज्यूहरूले पनि प्रधानमन्त्रीज्यूलाई केही दिनअघि यस्तो हल्लाबारे सोध्नुभएको थियो।"
"प्रधानमन्त्रीज्यूले 'मैले नै भनेर उहाँ जानुभएको हो। म आफैँ पनि त शेरबहादुरजीलाई भेट्न गएको थिएँ नि!' भन्नुभयो। त्यस्तो हल्लाको कुनै अर्थ छैन भन्ने उहाँको कुरा थियो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








