माधव नेपालको पार्टीको नीति: 'नयाँ समीकरण बनाउन प्रचण्ड बाहेक नयाँ प्रधानमन्त्री', नयाँ विकल्पको खोजी कति गम्भीर?

तस्बिर स्रोत, GETTY IMAGES
पछिल्ला दिनहरूमा सत्ताधारी दल नेकपा एकीकृत समाजवादीका नेताहरूले सरकारप्रति चरम असन्तुष्टि प्रकट गरिरहेका छन्।
उक्त पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरूलाई दिएको वचनबाट सरकारको नेतृत्व गरिरहेका प्रचण्ड र नेकपा एमाले पछि हटेको आरोप लगाए।
राष्ट्रिय सभाको उपाध्यक्ष र एक महिला सदस्य दिने भनी गरिएको प्रतिबद्धता पूरा नगर्नुका साथै आफ्नो दललाई होच्याउने र अपमान गर्ने काम भइरहेको उनको भनाइ छ।
“त्यसैले हामीले विश्वासयुक्त यात्रामा छैनौँ भनेर प्रस्ट परिदिन खोजेका हौँ,” सिलसिलायुक्त रूपमा असन्तुष्टि सार्वजनिक हुनुको कारणबारे नेता पाण्डेले बीबीसीलाई बताए।
उनले सरकार विस्थापित गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने अवस्था आएमा त्यो विकल्पको निम्ति तयार हुनुपर्ने पक्षमा आफू रहेको सुनाए।
‘नयाँ समीकरणबारे प्रचण्डमा छटपटी’
आफ्नो पार्टीको तर्फबाट उनले नयाँ समीकरणको पक्षमा दलहरूलाई मनाउन संवाद गरिरहेको बताइएको छ।
हालसालै जनता समाजवादी पार्टी (जसपा) का उच्च नेताहरूसँग उनले छलफल गरेर नेता नेपाललाई प्रधानमन्त्री बनाउने गरी नयाँ राजनीतिक विकल्पको चर्चा गरेको खबर आएको थियो।
“त्यस्तो खासै भनेको छैन, तर वातावरण त त्यस्तै त्यस्तै बन्दै छ, जसपाकै नेताहरूले नै लौ न अहिलेको समीकरणमा बसेर काम छैन त भनिरहेका छन्,” नेता पाण्डेले प्रधानमन्त्री प्रचण्डलाई पनि केही पाकिरहेको आभास रहेको बताउँदै भने, “प्रचण्डसँगै भेटेर कुरा गर्नु भयो भने केही नयाँ कुरा हुँदैछ भनेर उहाँ आफैँ पनि छटपटीमा हुनुहुन्छ जस्तो लाग्छ।”
प्रचण्डले समेत आफूले साथ दिँदा नेता नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने परिस्थिति आएमा आफू बाधक नबन्ने सङ्केत गरेको समेत कतिपयले बताउने गरेका छन्।
तर पाण्डेले प्रचण्ड राजनीतिक र निजी रूपमा अस्थिर रहेको आरोप लगाउँदै उनको विश्वास नभएको बताए।
नेता पाण्डेले भने, “त्यसो हुनाले उनले के भन्छन् भन्ने कुराको कुनै माने हुँदैन।”
बरु उनले नयाँ समीकरणको पक्षमा उभिए पनि प्रचण्ड भने प्रधानमन्त्री नबन्ने बताए। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक पनि बहुमत पुग्ने उनको भनाइ छ।
सबैभन्दा ठूलो पार्टी कांग्रेसले नेपाललाई प्रधानमन्त्री बनाउन सघाउँछ? “प्रमुख प्रतिद्वन्द्वीलाई बाहिर राखेर शासन सत्तामा बस्न पाए किन तयार नहुनु, जरुर तयार हुन्छ,” उनी ढुक्क सुनिए।

तस्बिर स्रोत, RSS
देउवा र माधव नेपालबीचको ‘गोप्य वार्ता’

तस्बिर स्रोत, CPNUML
के कांग्रेससँग कुराकानी पनि भएको छ? उनले त्यसको खाँचो नै नपर्ने बताए, “हामीले त्यस्तो प्रस्ताव राख्यौँ वा शेरबहादुर देउवाजीले राख्नु भयो भने त्यो प्रस्ताव अगाडि बढ्न सक्छ भन्ने मलाई लाग्छ।”
देउवा निकट एक नेताका अनुसार माधवकुमार नेपालले हालसालै देउवासँग भेट गरेका थिए। तर गोप्य ठानिएको भेटको खबर बाहिर आयो।
उक्त भेटपछि माधव नेपालले सरकारप्रतिको असन्तुष्टि र एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित आक्रोश व्यक्त गर्ने क्रम बढाएको एक थरीको बुझाइ पाइन्छ।
तर देउवा निकट ती नेताले भने, “रास्वपा र दुई प्रमुख वाम दललाई बाहिर राखेर पनि सरकार बनाउनु पर्छ भन्ने मत पनि छ, तर म व्यक्तिगत रूपमा अब एमालेसँगै मिलेर अघि बढ्नुपर्छ भन्ने पक्षमा छु। तर देउवाजी र माधवजीबीचको भेट लिक भएपछि दुवै विकल्पमा कुरा अघि बढे जस्तो लाग्दैन।”
ती नेताले भूराजनीतिक प्रभावको पनि भूमिका हुने आकलन सुनाए।
“मेरो सीमित सूचनाका आधारमा भन्दा प्रचण्डले समीकरण फेर्दा भारतीयहरू पनि स्तब्ध भए भन्ने सुनेको छु, त्यसैले केही भयो भने पनि भारतको चुनाव पछि मात्रै हुन्छ कि भन्ने ज्योतिषीहरू पनि छन्,” ती नेताले हाँस्दै बताए।
तर एक-दुई दिन यता माधव नेपालको पार्टीका नेताहरूको सक्रियता बढेको देखेको उनको भनाइ छ।
माओवादीका एक नेताले पनि तत्काल सत्ता समीकरण नै परिवर्तन हुने गरी राजनीति अघि बढ्ला भन्ने नलागेको बताए।
एमालेसँगको सहकार्यमा कुनै अप्ठेरो नदेखिएको बुझाइ सुनाउँदै उनले भने, “अलिअलि असन्तुष्ट भए पनि माधव नेपालजीहरूले पनि बजेट प्रस्तुत गर्ने बेला समीकरण नै फेरिहाल्ने तहमा त जानुहुन्न होला।”
जसपाद्वारा नयाँ विकल्प अस्वीकार?

तस्बिर स्रोत, GETTY IMAGES
एमाले र माओवादीलाई रास्वपा र जसपाले समर्थन जारी राख्दासम्म सरकारको पक्षमा बहुमत रहन्छ। तीन ठूला दलबाहेकको समीकरण बनाउन कम्तीमा जसपाको बहिर्गमन अनिवार्य हुन्छ।
तर उक्त पार्टीका प्रवक्ता मनिस सुमनले नेता नेपालको भन्दा आफ्नो पार्टीका सांसद धेरै रहेको बताउँदै नेपाललाई प्रधानमन्त्रीमा सघाउनेबारे कल्पना समेत नगरेको बताए।
“कसैले चिया गफमा प्रस्ताव गरेको भए बेग्लै कुरा हो तर हामीलाई माधवजीको पार्टीको तर्फबाट आधिकारिक प्रस्ताव आएको छैन,” उनले भने, “उनको प्रस्तावलाई हामीले गम्भीरतापूर्वक पनि लिँदैनौँ। उहाँहरू बाहिरिए पनि सरकार सुरक्षित छ।”
कतिपयले जसपाभित्र पनि असन्तुष्टि रहेको र त्यसमा विभाजन आउँदा सरकार अल्पमतमा पर्ने सम्भावना रहेको बताउँछन्।
नेता सुमनले समाचार वा चर्चाका कारण कतिपय साथीहरू बेला बखत भ्रममा पर्ने गरेको सुनाउँदै जानकारी पाएपछि भ्रममुक्त भएको बताए।
सरकारलाई नागरिक उन्मुक्ति पार्टी र अन्य कतिपय सांसदहरूले समेत समर्थन गरेका छन्।
त्यसैले माओवादी र एमाले नै समीकरण बदल्ने अवस्थामा नपुग्दासम्म नयाँ गठबन्धन बन्ने सम्भावना कमजोर रहेको तथा बने पनि त्यो दिगो नहुने एक थरीको आकलन छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








