तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
राम्रो जीवनको खोजी गर्दै युरोप छिर्ने एकल महिलाहरू बलात्कार र शोषणको जोखिममा
- Author, सोफिआ बेटिजा
- Role, ग्लोबल हेल्थ रिपोर्टर
त्यसबेला एस्टर लागोसको सडकमा सुतिरहेकी थिइन् जतिखेर एक महिलाले उनलाई भेटेर नाइजिरियाबाट युरोप पुर्याइदिने र त्यहाँ काम र घर दिलाउने बाचा गरिन्।
उनले खासगरी ब्रिटेनमा नयाँ जीवन सुरु गर्ने सपना देखेकी थिइन्।
हिंसात्मक र दुर्व्यवहारपूर्ण स्याहार केन्द्रबाट निकालिएपछि उनीसँग त्यहीँ बस्नुपर्ने कारण कमै थियो।
तर जब उनी सन् २०१६ मा लागोस छोडेर मरुभूमि पार गर्दै लिबिया पुगिन् तब उनलाई आफ्नो पहिलेको दर्दनाक यात्राबारे कमै मात्र हेक्का थियो।
त्यसपछिका वर्षमा उनी यौन कार्यका लागि विवश भइएला र एकपछि अर्को देशमा वर्षौँसम्म शरण दाबी गर्नुपर्ला भन्ने उनलाई लागेको थिएन।
शरणसम्बन्धी युरोपेली निकायका अनुसार अनियमित आप्रवासी र शरणार्थीहरूमध्ये अधिकांश अर्थात् ७० प्रतिशत पुरुष छन्। तर शरण खोज्न युरोप आएका एस्टरजस्ता महिलाहरूको सङ्ख्या पनि बढ्दो छ।
इटलीस्थित इन्टरन्याश्नल रेस्क्यू कमिटीकी इरिनी कोन्टोगियानिस भन्छिन्: "हामी भूमध्यसागर र बाल्कन दुवै मार्गमा एक्लै यात्रा गर्ने महिलाहरूमा वृद्धि देखिरहेका छौँ।"
महिलाको सङ्ख्यामा वृद्धि
सन् २०२४ को एक प्रतिवेदनले बाल्कन मार्गमा इटली आइपुग्ने एकल वयस्क महिलाहरूको सङ्ख्यामा वार्षिक २५० प्रतिशतले वृद्धि भएको देखाएको छ। जबकि त्यसरी आउने परिवारहरू ५२ प्रतिशतले बढेका छन्।
आप्रवासी मार्गहरू भयानक रूपमा कुख्यात छन्। गत वर्ष युरोपमा ३,४१९ आप्रवासी मृत्यु वा बेपत्ता भएका घटना अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)को विवरणमा उल्लेख छ। उक्त वर्षलाई सबैभन्दा घातक साल मानिएको थियो।
तर महिलाहरूका लागि यौन हिंसा र शोषणको थप खतरा छ जुन एस्टरलाई राम्रो जीवनको वाचा गर्ने महिलाले धोका दिएसँगै सुरु भएको थियो।
"उनले मलाई एउटा कोठामा बन्द गरिन् र एक पुरुषलाई भित्र ल्याइन्। उसले मसँग जबरजस्ती यौन सम्पर्क गर्यो। म त्यस बेलासम्म कुमारी थिएँ," एस्टर भन्छिन्। "तिनीहरू त्यही गर्छन्... नाइजिरियाका विभिन्न गाउँहरूबाट युवतीहरू ल्याउने र लिबिया पुर्याएर यौन दास बनाउने।"
"उनीहरूको अनुभव फरक र प्रायः जोखिमपूर्ण हुन्छ," आईओएमका उगोची ड्यानिल्सले बीबीसीलाई भने। "समूहमा यात्रा गर्ने महिलाहरूलाई पनि निरन्तर सुरक्षाको अभाव हुन्छ। जसले गर्दा उनीहरूले डाँका, तस्करहरू वा अन्य आप्रवासीहरूबाट दुर्व्यवहारको सामना गर्नुपर्छ।"
धेरै महिलाहरूलाई जोखिमहरू थाहा भए पनि उनीहरू जान्छन्। उनीहरू कन्डोम बोक्छन्। बाटोमा बलात्कार भएमा भन्दै गर्भ निरोधक उपकरणहरू पनि प्रयोग गर्छन्।
"सबै आप्रवासीहरूले तस्करलाई पैसा तिर्नुपर्छ," बेचबिखनविरोधी सञ्जाल स्टेला पोलारेकी हर्मिन ग्बेडो भन्छिन्। "तर महिलाहरू प्रायः भुक्तानीको हिस्साको रूपमा यौन प्रस्ताव गर्ने अपेक्षा गरिन्छ।"
ग्बेडोले उत्तर-पूर्वी इटलीको बन्दरगाह सहर ट्रिएस्टेमा महिला आप्रवासीहरूलाई सघाउँछिन्। उक्त ठाउँ लामो समयदेखि सांस्कृतिक दोबाटोका रूपमा छ जुन बाल्कनबाट पार गर्नेहरूका लागि युरोपेली सङ्घ ईयू पुग्ने प्रमुख प्रवेश बिन्दुको रूपमा काम गर्छ।
यहाँबाट उनीहरू जर्मनी, फ्रान्स र ब्रिटेनजस्ता देशहरू जान खोज्छन्।
भूमध्यसागर पार गर्ने सकस
लिबियामा चार महिनासम्म शोषण खेपेपछि एस्टर भागेर रबरको डुङ्गामा भूमध्यसागर पार गरिन्। त्यहाँबाट उनलाई इटलीका तटरक्षकले उद्धार गरी लाम्पेडुसा टापु पुर्याए।
उनले शरणार्थी हैसियत प्राप्त गर्नुअघि तीन पटक शरण माग गरिन्।
सुरक्षित मानिने देशहरूबाट आएका मानिसहरूलाई प्रायः शरणार्थीमा अस्वीकार गरिन्छ।
त्यसबेला इटलीले नाइजिरियालाई असुरक्षित ठान्थ्यो। तर दुई वर्षअघि युरोपभरका सरकारहरूले सन् २०१५-१६ को युरोपमा ठूलो आप्रवासी आगमनको प्रतिक्रियामा आफ्ना नियमहरू कडा बनाउन थालेपछि यसले त्यो मूल्याङ्कन परिवर्तन गर्यो।
शरण दाबीहरूमा थप प्रतिबन्ध लगाउन आह्वान गर्ने आवाजहरू त्यसबेलादेखि नै व्यापकरूपमा बढेका छन्।
"सामूहिक बसाइँसराइलाई निरन्तरता दिन असम्भव छ। त्यसको कुनै उपाय छैन," जोर्जिया मेलोनीको दक्षिणपन्थी सरकारकी सांसद निकोला प्रोकासिनी भन्छिन्। "हामी ती महिलाहरूलाई सुरक्षित जीवनको ग्यारेन्टी दिन सक्छौँ जो वास्तवमै खतरामा छन्, तर सबैलाई होइन।"
"हामी कठोर हुनुपर्छ," परम्परावादी थिङ्क ट्याङ्क पोलिसी एक्सचेन्जका वरिष्ठ फेलो रकिब एहसान चेतावनी दिन्छन्। "हामीले द्वन्द्व प्रभावित क्षेत्रहरूमा तत्काल जोखिममा रहेका महिला र बालिकाहरूलाई प्राथमिकता दिन आवश्यक छ जहाँ बलात्कारलाई युद्धको हतियारको रूपमा प्रयोग गरिँदैछ।"
उनको दाबीमा त्यो निरन्तर रूपमा भइरहेको छैन र युरोपमा खतरनाक मार्गहरूको सामना गरिरहेका महिलाहरूको दुर्दशाप्रति सहानुभूति राख्दा "मुख्य कुरा भनेको नियन्त्रित करुणा हो।"
यद्यपि सुरक्षित मानिने देशहरूबाट आएका धेरै महिलाहरूले महिला भएकैले भोगेको दुर्व्यवहारले उनीहरूको आफ्नो देशमा जीवन असम्भव भएको दाबी गर्छन्।
कोसोभोकी २८ वर्षीया नीनाको हकमा पनि यस्तै भएको थियो।
"मानिसहरू सोच्छन् कि कोसोभोमा सबै कुरा ठीकठाक छ, तर त्यो सत्य होइन," उनी भन्छिन्। "महिलाहरूका लागि अवस्था भयानक छ।"
नीनाका अनुसार उनी र उनकी बहिनीलाई उनीहरूका प्रेमीहरूले यौन दुर्व्यवहार गरेर उनीहरूलाई यौन कार्यमा बाध्य पारेका थिए।
युरोपको ओएससीई सुरक्षा सङ्गठनको सन् २०१९ को एक रिपोर्टले कोसोभोका ५४ प्रतिशत महिलाहरूले १५ वर्षको उमेरदेखि नै घनिष्ठ पार्टनरबाट मनोवैज्ञानिक, शारीरिक वा यौन हिंसा भोगेको देखाउँछ।
लैङ्गिक हिंसाको आधारमा उत्पीडनको सामना गर्ने महिलाहरू युरोपेली परिषद्को इस्तानबुल महासन्धि अन्तर्गत शरणको हकदार छन्।
र यसलाई गत वर्ष ईयूको सर्वोच्च अदालतले एक ऐतिहासिक फैसलाद्वारा समर्थन जनाएको थियो। उक्त महासन्धिले लैङ्गिक हिंसालाई मनोवैज्ञानिक, शारीरिक र यौन हिंसाका रूपमा वर्णन गर्छ जसमा फिमेल जेनिटल म्युटिलेसन (एफजीएम) समेत पर्छ।
यद्यपि यसका सर्तहरू अझै पनि निरन्तर रूपमा लागू नगरिएका परोपकारी समूहहरू बताउँछन्।
"यस क्षेत्रमा धेरै शरणसम्बन्धी अधिकारीहरू पुरुषहरू छन् जो [एफजीएम] जस्ता नाजुक मुद्दालाई चिकित्सा र मनोवैज्ञानिक दुवै रूपमा व्यवहार गर्न पर्याप्त रूपमा प्रशिक्षित छैनन्," एन्ड एफजीएम युरोपेली सञ्जालकी निर्देशक मारियान न्गुएना काना भन्छिन्।
धेरै महिलाहरूको गलत धारणाका आधारमा शरण दावी अस्वीकार गरिएको उनी बताउँछिन्। उनीहरूका अनुसार त्यसो हुनुमा उनीहरूले पहिले नै एफजीएम गराइसकेकाले थप जोखिमको सामना गर्नुपर्ने छैन।
"हामीलाई न्यायाधीशहरूले यसो भनेका छन्: 'तपाईँको अङ्गविच्छेद पहिल्यै भइसकेको छ, त्यसैले तपाईंको देश फर्कनु तपाईंको लागि खतरनाक नहुन सक्छ, किनभने तिनीहरूले तपाईँलाई फेरि त्यसो गर्न परेन," न्गुएना काना भन्छिन्।
यौन हिंसा प्रमाणित गर्न 'कठिन'
यौन हिंसाको कुरा गर्दा ब्रिटिश परोपकारी संस्था विमिन फर रेफ्यूजी विमिनकी करेन्ज अर्नोल्डले त्यसलाई प्रमाणित गर्न प्रायः कठिन हुने बताउँछिन्।
किनकि यसले शारीरिक यातना जत्तिकै दागहरू छोड्दैन र महिलाहरूको लागि निषेध र सांस्कृतिक संवेदनशीलताले प्रक्रियालाई अझ कठिन बनाउँछ।
"महिलाहरू प्रायः प्रक्रियाबाट हतारिन्छन् र उनीहरूले भर्खरै भेटेका अध्यागमन अधिकारीलाई आफूले भोगेको यौन हिंसाको बारे खुलाउन सक्दैनन्," अर्नोल्ड बताउँछन्।
महिलाहरूले सामना गर्ने धेरैजसो हिंसा उनीहरूको यात्राको क्रममा हुने अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले बीबीसीलाई बताएको छ।
"महिलाहरू सामान्यतया आफ्नो मूल देशमा आफ्ना पार्टनरहरूबाट यौन हिंसाबाट बच्छन् र त्यसपछि यात्राको क्रममा उनीहरूले फेरि त्यस्तै अनुभव गर्छन्," उगोची डेनिल्स भन्छिन्।
कोसोभोमा आफ्ना दुर्व्यवहार गर्ने साझेदारहरूबाट टाढा इटलीको नयाँ जीवनको यात्रामा नीना र उनकी बहिनीको लागि पनि यस्तै थियो।
अन्य महिलाहरूसँग यात्रा गर्दै उनीहरूले अधिकारीहरूबाट बच्न खोज्दै पूर्वी युरोपको जङ्गलहरू हुँदै पदयात्रा गरे।
त्यहाँ उनीहरूले पुरुष आप्रवासी र तस्करहरूले आक्रमण गरेको बताए।
"हामी पहाडमा भए तापनि अँध्यारोमा चिच्याहट सुन्न सकिन्थ्यो," नीना सम्झन्छिन्। "पुरुषहरू हामीकहाँ टर्च लिएर आउँथे हाम्रो अनुहारमा बत्ती बालेर चाहेको व्यक्ति छान्थे र जङ्गलमा अझ टाढा लैजान्थे।"
"राति म मेरी बहिनी रोइरहेको, मद्दतको लागि बिन्ती गरिरहेको सुन्न सक्थेँ।"
नीना र उनकी बहिनीले इटलीका अधिकारीहरूलाई यदि आफूहरू घर फर्किए भने उनीहरूलाई उनीहरूका पूर्व प्रेमीहरूले मार्ने बताए। अन्ततः उनीहरूलाई शरण दिइयो।
एस्टरको शरणार्थी हैसियतको लागि लडाइँ निकै लामो समय चल्यो।
उनले पहिलो पटक सन् २०१६ मा इटलीमा शरण मागिन्। तर त्यहाँ लामो समय पर्खिएपछि उनी फ्रान्स र त्यसपछि जर्मनी सरिन्।
ती देशमा उनको शरण माग अस्वीकार गरियो किनभने ईयूको डब्लिन नियम अनुसार एक शरणार्थीले सामान्यतया पहिलो ईयू देशमा शरणको लागि आवेदन दिने अपेक्षा गरिन्छ।
उनलाई अन्ततः सन् २०१९ मा इटलीमा शरणार्थीको हैसियत प्रदान गरियो।
नाइजिरिया छोडेको लगभग एक दशकपछि इटलीमा हालको अवस्था पाउन आफूले भोगेको पीडा लायक थियो कि थिएन भन्ने उनी सोचिरहन्छिन् : "म यो ठाउँमा किन आएँ भन्ने कारण पनि मलाई थाहा छैन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।