नेपालको शेअर बजार सुधारको बाटोमा जान लागेको हो?

झन्डै दुई वर्ष देखि सुस्ताएको शेअर बजार क्रमिक रूपमा सुधार हुने सङ्केतहरू देखिन थालेको विश्लेषकहरूले बताएका छन्।
दुई साता अघि सार्वजनिक गरिएको मौद्रिक नीतिले अपेक्षाकृत रूपमा शेअर बजार चलायमान बनाउनका लागि नीतिगत व्यवस्था गर्न नसकेको भए पनि हाल वित्तीय संस्थाहरूसँग तरलता अभाव नरहेको अवस्था र ब्याजदर घट्नसक्ने सम्भावनाका कारण क्रमिकरूपमा बजार उकालो लाग्न सक्ने सम्भावना रहेको उनीहरूको तर्क छ।
यद्यपि त्यस्तो हुन केही समय भने लाग्ने उनीहरू बताउँछन्।
त्यस्तै शेअर बजार निश्चित समयसम्म ओरालो लागेपछि क्रमिक रूपमा पुनः लयमा फर्कने गरेको र नेपालमा पनि बजारमा निराशा छाएको दुई वर्ष पुग्न लागिसकेकाले अबका केही महिनामा सुधारका सङ्केतहरू देख्न सकिने अपेक्षा गरिएको उनीहरूको भनाइ छ।
२०७८ भदौ २ गते ३१९८ विन्दुमा पुगेको नेप्से सूचकाङ्क घट्दै १,८०० विन्दु आसपास आएको थियो।
पछिल्ला केही महिनाहरूमा उक्त सूचकाङ्क २,१००को हाराहारीमा उक्लिएको छ।
विगतमा शेअर बजारमा केही सुधारका सङ्केतहरू देखा परेको भए पनि नीतिगत व्यवस्था र तरलताको अभावले गर्दा बजारमा प्रभाव परेको एक जना विश्लेषक नवराज घिमिरे बताउँछन्।
बजार सकारात्मक लयमा गइरहेका बेला मौद्रिक नीतिमार्फत् केन्द्रीय ब्याङ्कले शेअर बजारलाई उच्च जोखिममा राख्दै कर्जा लिँदा ब्याङ्कहरूले जोखिम भार उच्च राख्नुपर्ने प्रावधान राखेपछि बजार प्रभावित भएको उनी बताउँछन्।
‘‘यसपालि पनि शेअर लगानीकर्ताले औसत जोखिम भार विद्यमान १५० प्रतिशतबाट १०० मा झारिदिनुपर्यो भनेका थिए। ३,६०० रुपैयाँ पुगेको शेअरको मूल्य ६०० मा आउँदा पनि अब जोखिम भार उस्तै राख्नु पर्छ त? बजार निकै तल आइसक्यो, निकै तल झरिसक्यो मूल्य। त्यसले गर्दा लगानीकर्ताले पुनर्विचार गरियोस् भनेका थिए,’’ घिमिरेले भने।
उनीहरूका माग अनुरूप यसपालिको मौद्रिक नीति सार्वजनिक गर्दा जोखिम भारलाई पुनर्मूल्याङ्कन गर्ने गभर्नरले छनक पनि दिए। लगानीकर्ताहरू हौसिए।
‘‘त्यो दिन बजार पनि राम्रै अङ्कले बढ्यो। तर केन्द्रीय ब्याङ्कले पत्रकार सम्मेलन गरेर शेअर ऋण लिएकामध्ये ५० लाख रुपैयाँको सीमासम्म लिएकाहरूलाई मात्र १०० प्रतिशतको जोखिम भार लाग्ने भनियो। त्यति बोल्ने बित्तिकै तल झरेको बजार पाँच दिनसम्म लगातार घट्यो।’’

तस्बिर स्रोत, Getty Images
नेपाल पुँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेल पछिल्लो मौद्रिक नीतिबाट लगानीकर्ताहरूलाई थोरै मलमपट्टी लाग्छ भन्ने अपेक्षा रहे पनि त्यस्तो हुन नसकेको बताउँछिन्।
‘‘हप्ता दिन जति लगानीकर्ताहरू आत्तिए। अहिले पछिल्लो समय (बजार) राम्रै छ। तर अबका केही दिनमा के होला भन्न सकिँदैन,’’ उनले भनिन्।
बजार चलिरहेको अवस्थामै केन्द्रीय ब्याङ्कले नीतिगत विषयवस्तुबारे टिप्पणी गर्नुले शेअर बजारलाई हेर्ने दृष्टिकोण र बजार प्रतिको व्यवहार प्रस्ट पारेको घिमिरेको भनाइ छ।
यद्यपि शेअर बजार अब क्रमिक रूपमा माथि लाग्न सुरु हुने बुझाइ उनको छ।
उनी भन्छन्: ‘‘साउन, भदौमा मुनाफा पनि वितरण हुन सुरु हुने, चौथो त्रैमासिकको प्रतिवेदन पनि प्रकाशन हुने र बिस्तारै बजारले उचाइ लिँदै जाने हो। तर बीचबीचमा यस्तो गरिदिएपछि तमाम लगानीकर्ता निराश भएका छन्।’’


बजार सुधार हुन सक्ने सम्भावनाको आधार के?

पोखरेलका अनुसार अहिले ब्याङ्कहरूले ऋण सहजरूपमा दिइरहेका छन्। ‘झन्डै ५७ खर्ब रुपैयाँ हाल वित्तीय प्रणालीमा रहेको’ अवस्थामा बिस्तारै उनीहरूले शेअर र घरजग्गामा लगानी बढाउने अवस्था रहेको जानकारहरूको मत छ।
‘‘ब्याङ्कमा तरलता सहज छ अहिले। पहिला हामीलाई ब्याङ्कले ऋण लिन जाँदा पनि दिन सक्ने अवस्था थिएन। हामीलाई नै दबाव थियो ऋण तिर्नुपर्ने। अहिले त्यस्तो छैन। अहिले शेअर धितो राखेर ऋण लिनुहुन्छ भने आउनुहोस् भनेर विभिन्न ब्याङ्कहरूबाट फोन आइरहेको छ,’’ उनले भनिन्।
ब्याङ्कहरूले सहजै लगानी गरिदिँदा बजारमा सकारात्मक प्रभाव पर्ने उनी बताउँछिन्।
त्यस्तै शेअर बजारको निश्चित चक्र हुने र बजारको हालको चक्र अब बिस्तारै फेरिने क्रममा रहेको उनको बुझाइ छ।
घिमिरे पनि यो भनाइसँग सहमत देखिन्छन्।
‘‘बियरीस (ओरालो लाग्ने) ट्रेन्ड पार भइसकेको देख्छौँ हामी,’’ उनले भने।
उनका अनुसार सामान्यता बुलिस (बजार निरन्तर उकालो लाग्ने क्रम) प्रवृत्ति दुई-दुई वर्ष पनि रहँदैन। बियरिस ट्रेन्ड (ओरालो लाग्ने) चाहिँ दुई अढाई वर्ष रहेर बिस्तारै 'बुल रन' तिर बजार गएको पुराना परिदृश्यहरूले देखाएको उनी बताउँछन्।
‘८० प्रतिशत जति ब्याङ्क तथा वित्तीय संस्थाले डोर्याएको सानो बजार’ त्यसमाथि ‘वित्तीय संस्थाहरूको शेअर मूल्य ६५-६६ प्रतिशत नै घटिसकेको’ अवस्थामा अब बजार थप खुम्चिने अवस्था नरहेको घिमिरेको तर्क छ।


तर एकै पटक कायापलट हुने गरी २,१०० विन्दुबाट ३,२०० आसपासमा पुग्ने अवस्था भने तत्काल नदेखिएको जानकारहरू बताउँछन्।
अर्थविद् तथा धितोपत्र बोर्डका पूर्व प्रमुख रेवतबहादुर कार्की पनि पछिल्ला केही सूचकाङ्कहरूले बजारमा केही सकारात्मक प्रभाव पर्न सक्ने सङ्केत देखिएको बताउँछन्।
‘‘तरलताको पनि अभाव छैन, ब्याज दर पनि घट्यो भने सबै प्रभावका कारण २,५०० विन्दुभन्दा माथि जान सक्छ। कुनै समय झन्डै ३,२०० पुगेको थियो तर त्यो नै पनि अधिकतम भने होइन,’’ उनले थपे।
हाल दोस्रो स्टक एक्सचेन्ज ल्याउने तयारी भइरहेको र त्यो पहल सार्थक हुँदा कारोबार बढ्न सक्ने कार्की बताउँछन्।
‘‘त्यस्तो हुँदा कारोबारको लागत पनि घट्छ जस कारण पनि केही सुधार हुनसक्ने सम्भावना रहन्छ,’’ उनले थपे।
साना लगानीकर्ताले के गर्दा उचित हुन्छ?

तस्बिर स्रोत, Getty Images
विज्ञहरूका अनुसार साना अनि नयाँ लगानीकर्ताका लागि अहिले उपयुक्त समय हो।
ब्याङ्क तथा वित्तीय संस्थाहरूसँग तरलताको अभाव नरहे पनि ब्याज दर घट्न नसक्दा ऋणै लिएर शेअरमा लगानी गर्ने बेला भने नभएको उनीहरू बताउँछन्।
‘‘फेरि एउटा बफर जोनको कुरा पनि ल्याइदिनुभयो गभर्नरले। त्यसले गर्दा ब्याङ्क तथा वित्तीय संस्थाहरूले आफूसँग रहेको मौज्दातलाई पुनरावलोकन गर्नुपर्ने देखियो। बफर जोन भनेको वहाँहरूले अलिकति पुँजी छुट्ट्याएर राख्नुपर्ने देखियो,’’ घिमिरेले भने।
त्यसले गर्दा पनि कतिपय वित्तीय संस्थाहरूले यो वर्ष लाभांशका रूपमा नगद नै बाँड्न सक्ने अवस्था नरहने सम्भावना रहेको उनी बताउँछन्। ‘‘कतिपय त्यसबाट खुसी पनि होलान्। तर संस्थापक शेअर भएकाहरू दुखी हुन्छन् किनभने शेअर मात्र थपिन्छ पैसा आउँदैन,’’ उनले भने।


यद्यपि कोभिडको समयमा प्रवेश गरेका लगानीकर्ता जसले ३,००० भन्दा माथिको विन्दुमा लगानी गरेका छन् उनीहरूले अझै केही महिना कारोबार नगरी आफूसँग भएको शेअर राखिराख्न सके राम्रो हुने जानकारहरू बताउँछन्।
‘‘बचत छ, ५-६ प्रतिशत ब्याजमा राखेको पैसा छ भने बिस्तारै कम्पनी हेरेर लगानी गर्दै हुने समय आएको छ। आँखा चिम्लिएर भने लगानी गर्नु हुँदैन,’’ उनले भने।
पोखरेल पनि यो लगानी गर्ने समय रहेको बताउँछिन्।
‘‘किनभने हामीले वर्ष दिन कुरेर, होल्ड गरेर कमाउनुपर्थ्यो भने अब अहिले किन्दा छोटो समयमा प्रतिफल आउँछ,’’ उनले थपिन्।
‘‘पैसा ब्याङ्कमा राख्यो भने पाँच प्रतिशत ब्याज आउला। शेअरमा कम्तीमा १० प्रतिशत वा त्योभन्दा बढी नै हुन्छ त्यो पनि छोटो समयमा। कोही बजारमा प्रवेश गर्दै हुनुहुन्छ भने यो उपयुक्त समय हो।’’
कुन क्षेत्र उपयुक्त?

कुनै पनि क्षेत्र वा कम्पनीमा लगानी गर्ने सोच बनाउनु पूर्व तीबारे राम्रोसँग जानकारी लिन जरुरी रहेको जानकारहरू बताउँछन्।
यद्यपि नेपालको हकमा भने ब्याङ्क तथा वित्तीय संस्थाहरूको शेअर पछिल्लो समय निकै तल झरिसकेकाले उक्त क्षेत्रमा केही सकारात्मक प्रगति हुने बुझाइ विश्लेषकहरूको छ।
‘‘अपवादका रूपमा ५-१० रुपैयाँ घट्ला (प्रति शेअर) तर व्यापक परिवर्तन हुने गरी घट्दैन,’’ घिमिरेले दाबी गरे।
पोखरेल पनि नयाँ लगानीकर्ताहरूका लागि सबैभन्दा सुरक्षित क्षेत्र ब्याङ्किङ नै रहेको बताउँछिन्।
उनी भन्छिन्, ‘‘बजार भनेको सधैँ एउटै हुँदैन। तर ब्याङ्क भनेको निकै तल पुगिसकेको छ। त्यसले गर्दा म लगानी गर्छु, बजार घटिहाले पनि आत्तिन्न भन्ने लगानीकर्ताका लागि ब्याङ्किङ नै उपयुक्त हो जस्तो लाग्छ।’’
केन्द्रीय ब्याङ्कको बफर जोनका कारण लाभांश घोषणा गर्न नसक्ने अवस्थामा झन्डै आधा दर्जन ब्याङ्कहरू पुगेकाले वित्तीय संस्थाहरूबारे समेत पर्याप्त अध्ययन गरेर मात्र लगानी गर्नुपर्ने घिमिरे सुझाउँछन्।
तर ब्याङ्किङ क्षेत्रमा पनि पछिल्लो समय जोखिम बढेको कार्कीको बुझाइ छ।
पछिल्लो समय कमसल तथा खराब कर्जा (एनपीएल) र वित्तीय संस्थाहरूको आर्थिक प्रगतिको तुलना गर्दा ब्याङ्किङ क्षेत्रमा पनि समस्या रहेको देखिने उनको तर्क छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले एनपीएल सम्बन्धी ब्याङ्कहरूले पेस गरेको तथ्याङ्क विश्वसनीय नभएको जनाउँदै केही ब्याङ्कहरूको अन्तर्राष्ट्रिय लेखा परीक्षण गर्ने कम्पनीहरूबाट अध्ययन गराइनुपर्ने भनेको उनी बताउँछन्।
‘‘त्यस कारण पनि ब्याङ्किङ क्षेत्र पनि एक किसिमको सङ्कट उन्मुख जस्तो नै छ,’’ यद्यपि ब्याङ्किङ र बिमा क्षेत्र अन्य क्षेत्रको तुलनामा लगानी गर्न योग्य रहेको उनले भने।
(शेअर बजारसम्बन्धी यो समाचारमा उल्लेख भएका भनाइ सम्बन्धित विश्लेषकहरूका निजी विचार हुन्। शेअर बजारमा उतार चढाव सम्बन्धित बजारमा भर पर्छ।)








