असोजको विध्वंसकारी वर्षाको असरले हिउँदमा 'लोडसेडिङ हुन सक्ने' चेतावनी

तस्बिर स्रोत, RSS
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
असोज दोस्रो साताको विध्वंसकारी वर्षाले नेपालको सबैभन्दा बढी उत्पादन क्षमता भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई ठप्प पारिदिएको छ।
४५६ मेगावाट क्षमताको उक्त आयोजना अझैसम्म सञ्चालनमा आउन नसक्दा विद्युत् विक्रीबाट हुने क्षति मात्र मासिक ८५ करोड रुपैयाँ बराबरको रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ताले कात्तिक महिनाभित्र त्यसलाई झण्डै ३०० मेगावाट जति उत्पादन गर्न सकिने गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको जनाएका छन्।
प्रवक्ता चन्दन कुमार घोष भन्छन्: "उक्त आयोजनालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन भने आउँदो जेठ-असारसम्मै लाग्न सक्छ, पुनर्निर्माण खर्च भने एक अर्ब रुपैयाँ भन्दा बढी लाग्ने देखिन्छ।"
प्राधिकरणका अनुसार झण्डै एक दर्जनको सङ्ख्यामा साना-ठूला आयोजना असोजदेखि प्रभावित बनेका छन्।
त्यसबाहेक दुई वटा प्रसारण लाइन, तथा विजुलीका कैयौँ पोल र ट्रान्सफर्मरमा असर पर्दा उत्पादन भइरहेकै करिब साढे छ सय मेगावाट विद्युत् नेपालमा अझैसम्म पनि अभाव भएको अवस्था रहेको प्राधिकरण प्रवक्ता घोष बताउँछन्।
"साढे छसय मेगावाट बिजुलीको पैसा प्रत्येक महिना झण्डै चार अर्ब रुपैयाँजति हुन्छ। जुन हामीले उच्च माग हुने बेला गुमाइरहेका छौँ।"
के त्यसले हिउँदमा लोडसेडिङ हुने जोखिम बढाएको छ त?
"हुनसक्छ,"बीबीसीको प्रश्नमा प्रवक्ता घोषले भने।
"हामी अझै त्यसको विश्लेषण गर्दैछौँ। योजना अनुरूप केही आयोजना सञ्चालनमा आए भने केही सहज हुनसक्छ। तर अवस्था गाह्रै छ।"
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले निजीतर्फका एक-दुई मुख्य आयोजनामा ठूलो क्षति पुगेको भए पनि मुख्य चुनौती 'माथिल्लो तामाकोशीले समग्र प्रणालीमा पारेको असर'का कारण हुने बताउँछन्।
विद्युत् क्षेत्रमा पुगेको क्षति कस्तो
पूर्वी नेपालमा दुई वटा विद्युत् प्रसारण लाइन नै क्षतिग्रस्त बन्दा त्यहाँ उत्पादित करिब २०० मेगावाट बिजुली प्रभावित बनेको बताइएको छ।
त्यस क्षेत्रमा कतै क्षतिग्रस्त आयोजना सञ्चालनमा नभएको र कतै प्रसारण लाइनमा भएको अवरोधका कारण सद्दे अवस्थाका आयोजनाको उत्पादन समेत न्यून क्षमतामा भइरहेको प्राधिकरणले जनाएको छ।
"त्यो कात्तिकको तेस्रो सातासम्ममा बनाएर सञ्चालनमा ल्याउन सकिने हाम्रो आशा छ," घोषले भने।
झापाको दमकदेखि इलामको गोदकसम्मको काबेली करिडोर प्रसारण लाइनमा त्यस क्षेत्रका झण्डै डेढ दर्जन विद्युत् आयोजना निर्भर छन्।
खिम्ती-लामोसाँघु प्रसारण लाइनमा समेत काबेलीमा जस्तै केही टावरहरूमा क्षति पुगेको छ।

तस्बिर स्रोत, EPA
निजीतर्फ माण्डु जलविद्युत् आयोजना, माथिल्लो हेवा खोला जलविद्युत् आयोजनामा उल्लेख्य क्षति पुगेका बताइन्छ।
"यीबाहेक अन्यमा भने मर्मत र पुनर्निर्माण गर्नमा ठूलो चुनौती छैन, क्षतिको वास्तविक आकार भने बिमा निकायले मूल्याङ्कन गरेपछि आउँछ," इप्पानका वरिष्ठ उपाध्यक्ष डाँगी भन्छन्।
"बाह्रैमास सञ्चालन गर्ने गरी लगानी भएका आयोजनालाई छिटोभन्दा छिटो सहज अवस्थामा ल्याएर सञ्चालन गर्न इप्पानकै समेत अग्रसरतामा उत्पादकहरू जोडतोडले लागेका छौँ।"
प्राधिकरणको संलग्नता भएकामध्येमा माथिल्लो तामाकोसीमा 'हेडवर्क्स'मा असर पर्नुका साथै मानवीय क्षति समेत भएको थियो।
"अस्थायी उपाय अपनाएर केही गेगरान हटाएर माथिल्लो तामाकोसी छिट्टै सञ्चालनमा ल्याइनेछ," प्रवक्ता घोष भन्छन्।
'बेच्ने अवस्थामा छैनौँ'
भारतको प्रतिस्पर्धी विद्युत् बजारमा अर्बौँ रुपैयाँ बराबरको विद्युत् व्यापार गर्ने गरेको नेपाल मध्यअसोजपछिको अवस्थामा थप व्यापार गर्ने अवस्थामा नरहेको प्रवक्ता घोष बताउँछन्।
"द्विपक्षीय मध्यकालीन सम्झौता अन्तर्गत भने केही विद्युत् भारत गइरहेको छ। हरियाणामा १८३ मेगावाट र विहारमा १०० मेगावाट जति विद्युत् बेच्न सकिरहेका छौँ," घोष भन्छन्।

तस्बिर स्रोत, utkhpl
असोज दोस्रो साता इन्डियन एनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) मा सयौँ मेगावाट बिजुलीको बिक्री गर्न प्रस्ताव गरेको नेपालले त्यसयता आफ्नै 'प्रणाली ध्वस्त' भएपछि बेच्न त सकेन नै, उल्टो किन्नुपर्ने अवस्था सिर्जना भयो। जसक्रममा नेपालले करोडौँमा जरिबाना तिर्नुपर्ने अवस्था आएको थियो।
घोषले नेपालका लागि आउँदा कैयौँ महिना 'निकै चुनौतीपूर्ण' रहेको बताएका छन्।
उनले केही आयोजना योजना अनुरूप राष्ट्रिय प्रणालीमा जोडिन सकेमा राहत पुग्न सक्ने भए तापनि अनिश्चितताहरू रहेको बताउँछन्।
"सोचेअनुसार तामाकोसी पुनर्निर्माण भएमा धेरै राहत हुन्छ। मध्यकात्तिकतिर रसुवागढी (१११ मेगावाट) र सान्जेन (४२.५ मेगावाट) आयोजनाका विद्युत् राष्ट्रिय प्रसारणमा जोडिन्छन्। झण्डै एक महिनापछि मध्यभोटेकोशी (१०२ मेगावाट) आयोजनाको उत्पादन समेत जोडिने आशा छ।"
तर अधिकांश आयोजना नदीको जलप्रवाहमा आधारित रहेकाले सुक्खायाममा उत्पादन त्यसैपनि उल्लेख्य रूपमा घट्ने गर्छ। कुनै कुनै हिउँदमा क्षमताको करिब एक तिहाई मात्र विद्युत् उत्पादन भएको विगत समेत नेपालमा देखिन्छ।
असोजअघि नेपालको जलविद्युत् जडान क्षमता झण्डै ३२ सय मेगावाट पुगेको थियो।
कुनै कडिकडाउ नगरीकन खपत गर्दाको अवस्थामा हिउँद्मा विद्युत् माग २६-२७ सय मेगावाट पुग्ने अधिकारीहरू बताउँछन्।
भारतको प्रतिस्पर्धी विद्युत् बजारबाट आठ सय मेगावाटसम्म विद्युत् किन्न सकिने व्यवस्था छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








