नेतान्याहूलाई स्वागत गर्दै ट्रम्पले भने अमेरिकाले गाजालाई आफ्नो 'जिम्मामा लिन चाहन्छ'

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको मध्यपूर्वसम्बन्धी नीतिमा दशकौँ यताको सबैभन्दा ठूलो परिवर्तनको घोषणा गरेका छन्।

उनले संयुक्त राज्य अमेरिकाले गाजा स्ट्रिप लिन र त्यहाँ बसोबास गरिरहेका प्यालेस्टिनीहरूलाई अन्य क्षेत्रमा स्थायी रूपमा पुनर्वास गराउन चाहेको बताए।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँग आयोजित एउटा पत्रकार सम्मेलनमा उनले उक्त भूभागलाई विकास गर्न आफूले चाहेको र त्यसबाट 'मध्यपूर्वको रिभिएरा (समुन्द्रतटीय बिदा मनाउने स्थल)' स्थापना हुने बताए।

उक्त परियोजना सम्पन्न हुन १५ वर्षसम्म लाग्ने उनको भनाइ छ।

इजरेली प्रधानमन्त्रीले उक्त प्रस्तावको स्वागत गर्दै त्यसले इतिहास बदल्न सक्ने बताएका छन्।

दुई नेताले गाजा युद्ध विरामको थप कार्यान्वयनबारे पनि छलफल गरेका छन्।

आफ्नो दोस्रो कार्यकालमा ह्वाइट हाउस भ्रमण गर्ने पहिलो नेता भएकोमा नेतन्याहूलाई धन्यवाद दिएर पत्रकार सम्मेलन सुरु गरेका ट्रम्पले सबैलाई आश्चर्यमा पार्ने गरी गाजालाई अमेरिकाले ' लिने' बताएका थिए।

ट्रम्पले के भने?

उनले आफ्ना पूर्ववर्ती जो बाइडनले आफ्नो चार वर्षको कार्यकालमा इजरेलका शत्रुहरूलाई बलियो हुन दिएको आरोप लगाए।

त्यसपछि उनले गाजामा बसिरहेका १८ लाख मानिसहरूलाई अन्य अरब मुलुकहरूमा स्थानान्तरण गरिनु पर्ने तर्क गर्न थाले।

त्यसो गरिए पछिल्लो युद्धले ध्वंश भएको उक्त भूभाग अमेरिकाले 'लिएर विकास' गर्न मिल्ने उनको भनाइ छ।

नेतान्याहूले 'अरूले कल्पना नगरेका कुरा सोच्न सक्ने' ट्रम्पको शैलीको प्रशंसा गरे र उनी 'ह्वाइट हाउसमा इजरेलले पाएको हालसम्मकै सर्वाधिक ठूलो मित्र' भएको बताए।

ट्रम्पलाई अमेरिकाले कसरी र कुन अधिकारका आधारमा गाजाको स्वामित्व लिन्छ भनेर पनि सोधिएको थियो। तर उनले त्यसको सोझो जबाफ दिएनन्। उनले 'दीर्घकालीन स्वामित्वको अवस्था' देखेको बताए।

किन यो प्रस्तावले 'सबैलाई झस्कायो' ?

बीबीसीका कूटनीतिक संवाददाता पल एडम्सको विश्लेषण छ:

गाजाबारेको आफ्नो प्रस्तावका कारण डोनल्ड ट्रम्पले सबैलाई झस्काइदिएका छन्।

उनले अमेरिकाले 'गाजा स्ट्रिप लिने,' भवनहरू सम्याउने, त्यहाँ रहेका विस्फोटन नभइसकेका अस्त्रहरूलाई व्यवस्थापन गर्ने, 'असीमित सङ्ख्यामा रोजगारी' सृजना गर्ने र 'उक्त क्षेत्रका मानिसहरूका लागि आवास बनाउने' धारणा राखे। तर कसको बारेमा उनले त्यसो भनिरहेका हुन् त्यो खुलाएका छैनन्।

यसअघि नै ट्रम्पले गाजा स्ट्रिपमा रहेका सम्पूर्ण मानिसहरू जोर्डन, इजिप्ट र अन्यत्र सार्नुपर्ने बताएका थिए।

उनले अमेरिकी स्वामित्वको गाजा 'मध्यपूर्वको रिभिएरा' बनाउने विचित्रको धारणा राखे। त्यसमा प्यालिस्टीनीसहित 'विश्वका सबै ठाउँका प्रतिनिधिहरूको बसोबास हुने' उनको भनाइ छ।

ट्रम्पकै मापदण्डलाई मान्ने हो भने पनि त्यो मथिङ्गल घुमाइदिने किसिमको सोच हो र कुन अन्तर्राष्ट्रिय अधिकारका आधारमा अमेरिकाले त्यस्तो कदम चाल्नेछ भनेर सोध्दा उनले प्रतिक्रिया दिन अस्वीकार गरे।

आफ्नो विचारलाई व्यापक समर्थन रहेको ट्रम्पले बताए पनि मध्यपूर्वबाट त्यस्तो कुनै सङ्केत आएको छैन। इजिप्ट, जोर्डन, साउदी अरेबिया सबैले त्यस्तो निन्दा गरेका छन्।

राष्ट्रपति ट्रम्पले अर्को प्यालेस्टिनी भूभाग वेस्ट ब्याङ्कको भविष्यबारे पनि चिन्ता उत्पन्न हुने आशयको धारणा राखेका छन्।

ट्रम्पले उक्त भूभागमा इजरेली सार्वभौमसत्ता कायम हुने विषयमा आफूले सोचिरहेको र अबको चार हप्तामा एउटा घोषणा गर्ने बताएका छन्।

उनले त्योसँग दुई राज्य समाधानको सम्भावनाको विषय नजोडिएको पनि बताए।

के उनले गम्भीर भएर कुरा गरेका हुन्? बीबीसीका कूटनीतिक संवाददाता पल एडम्स भन्छन्, "यो भन्न गाह्रो छ।"

तर उनले आफ्नो पहिलो कार्यकालमा दशकौँ पुरानो मध्यपूर्व नीति उल्टाएका थिए र अहिले पनि त्यही दिशामा अघि बढ्न चाहेको जस्तो देखिन्छ।

ट्रम्पको प्रस्तावपछि कस्ता प्रतिक्रिया आइरहेका छन् ?

गाजालाई जिम्मा लिने अमेरिकी राष्ट्रपतिको भनाइले डेमोक्र्याट्सहरूलाई क्रुद्ध बनाएको छ।

कनेक्टिकटका सिनेटर क्रिस मर्फीले एक्समा लेखेका छन्, "उनले पूर्ण रूपमा होस गुमाइसकेका छन्।"

उनले त्यस्तो हुन नसक्ने भन्दै सञ्चारमाध्यम र हल्ला गर्ने वर्गले केही दिन यो विषयमा ध्यान दिने र ट्रम्पले वास्तविक मुद्दाबाट ध्यान अन्यत्र मोड्न सफलता प्राप्त गर्ने टिप्पणी गरे।

साउदी अरेबियाले तत्कालै उक्त प्रस्तावबारे प्रतिक्रिया जनाउँदै प्यालेस्टिनीहरूलाई उनका भूमिबाट विस्थापित गर्ने कुनै पनि प्रयास मान्य नहुने बताएको छ।

साउदी अरेबियाले प्यालेस्टिनी राज्यको स्थापना नभएसम्म आफ्नो मुलुकले इजरेलसँग कूटनीतिक सम्बन्ध कायम नगर्ने पनि उल्लेख गरेको छ।

ट्रम्प र नेतन्याहूको पत्रकार सम्मेलनपछि साउदी अरेबियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आफ्नो धारणा 'स्थायी र अटल' भएको उल्लेख गरेको छ।

पत्रकार सम्मेलनमा ट्रम्पले आफूले साउदी अरेबिया र इजरेलबीचको सम्बन्ध सामान्य बनाउन पनि प्रयास गर्ने बताएका थिए।

हमासका एक जना प्रवक्ताले सो योजनाले उक्त क्षेत्रमा अराजकता र तनाव निम्त्याउने बताएका छन्।

यसअघि नै विस्थापित प्यालेस्टिनीहरूलाई आफ्ना भूभागमा पुनर्वास गराउन ट्रम्पले राखेको प्रस्तावलाई इजिप्ट र जोर्डनले अस्वीकार गरिसकेका छन्।

प्यालेस्टिनीहरूलाई गाजाबाट विस्थापित गराउने कुनै पनि कदम अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन हुन जान्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।