क्रिकेट खेल्ने आश त्यागेर अमेरिका गएका सौरभ नेत्रावल्कर टी२० विश्वकपमा चम्किँदै

    • Author, जान्हवी मुले
    • Role, बीबीसी मराठी

टी२० विश्वकप प्रतियोगिताअन्तर्गत बुधवार भारतसँगको खेलमा सुरुमै दुई ओपनरलाई आउट गरेका अमेरिकी खेलाडी सौरभ नेत्रावल्करको चर्चा अहिले चुलिएको छ।

आफ्नो पहिलो ओभरको दोस्रो बलमै उनले विराट कोहलीलाई शून्यमा आउट गरिदिए। त्यस्तै उनको अर्को ओभरमा कप्तान रोहित शर्मा तीन रनमै आउट भए।

खेलको नतीजा भारतको पक्षमा गए पनि सौरभ नेत्रावल्करसहितका खेलाडीहरूको प्रदर्शनका कारण अमेरिका दोस्रो चरणमा पुग्ने सम्भावना बलियो भएको छ।

यिनै सौरभ नेत्रावल्कर कुनै समय १९ वर्षमुनि उमेर समूहको भारतीय राष्ट्रिय टोलीका सदस्य थिए।

उनको क्रिकेट यात्रा उनको बलिङजस्तै रोचक छ।

भारतसँग आमनेसामने

सन् २०१५ मा सौरभ नेत्रावल्करले भारतमा व्यावसायिक क्रिकेट खेल्ने आफ्नो सपना त्यागेर अमेरिकामा सफ्टवेर इन्जिनियरको काम गर्न गए।

“मेरो निम्ति क्रिकेट सकिएको थियो। फेरि खेल्ने आशा वा आकाङ्क्षा बाँकी थिएन,” उनले भने।

तर त्यसको करिब एक दशकपश्चात् बुधवार न्यूयोर्कस्थित नसाउ काउन्टी इन्टरन्याश्ननल क्रिकेट रङ्गशालामा उनले भारतको राष्ट्रिय क्रिकेट टोलीको सामना गरे - अमेरिकी राष्ट्रिय टोलीको बलरका रूपमा।

भारतसँगको खेलअगाडि बीबीसीसँग कुरा गर्दै उनले त्यसलाई ‘भावपूर्ण क्षण’ हुने बताएका थिए।

“मेरा कैयौँ पुराना साथी खेलाडीहरू अहिले भारतका निम्ति खेल्छन्,” उनले भनेका थिए।

अमेरिकाले गत साता पाकिस्तानलाई हराएर इतिहास रचेको थियो।

उक्त खेलमा सुपर ओभरमा सौरभले गरेको बलिङ निर्णायक ठहरियो।

अमेरिकी सपनाको कथा

नेत्रावल्करको जीवनी निरन्तर मेहनत, क्रिकेटप्रतिको लगाव अनि अमेरिकी सपनाको कथा हो।

मुम्बईमा जन्मेहुर्केका नेत्रावल्करले १० वर्षको उमेरदेखि नै क्रिकेट खेल्न थालेका थिए।

उनको परिवार सहरको पश्चिम भागमा पर्ने मलाडमा बस्थ्यो।

किशोरावस्थामै खेलमा केही गतिला प्रदर्शनहरू गरेपछि उनलाई सन् २०१० मा न्यूजील्यान्डमा भएको यू१९ विश्वकप खेल्ने भारतीय राष्ट्रिय टोलीमा समावेश गरियो।

सो प्रतियोगितामा यी अग्ला, बायाँ हाते तेज गतिका बलरले भारतीय टोलीका निम्ति सबभन्दा धेरै विकेट पनि लिए।

त्यसपछिका केही वर्षहरूमा उनले क्रिकेटप्रतिको लगाव एवं आफ्नो इन्जिनियरिङ पढाइमाझ सन्तुलन बनाए अनि सन् २०१३ मा स्नातक तह पूरा गरे। फेरि उनको ध्यान क्रिकेट मैदानतर्फ गयो। दुई वर्षसम्म उनले राष्ट्रिय टोली या मुम्बई क्रिकेट टोलीमा आफ्नो स्थान बनाउने प्रयत्न गरे।

“म मुम्बई क्रिकेट टोलीमा त भित्रिएँ तर इन्डियन प्रिमिअर लीग (आईपीएल)मा सहभागी हुन पाइनँ,” उनले भने।

एक क्रिकेटरको व्यावसायिक जीवन करिब २३ वर्षको उमेरमा सुरु हुन्छ। तर आफूले चाहिँ त्यही उमेर आसपासमा क्रिकेट छाडेको नेत्रावल्कर सुनाउँछन्।

“मलाई दोमन भइरहेको थियो। क्रिकेटमै लागिरहूँ या पढाइमा ध्यान दिऊँ?” उनी भन्छन्।

सन् २०१५ मा उनी अमेरिकाको कोर्नेल विश्वविद्यालयमा कम्प्युटर साइन्स पढ्न भर्ना भए। “त्यो कठिन निर्णय थियो,” उनले भने।

क्रिकेटले फेरि तान्यो

तर उनले आफ्नो क्रिकेट सपना पूरै त्याग्न भने सकेनन्।

भारतमा इन्जिनियरिङका विद्यार्थी हुँदै पनि उनले क्रिकडिकोड नामक एक एप बनाएका थिए जसले क्रिकेटरहरूलाई तिनको खेल विश्लेषण गर्न मद्दत गर्छ।

कोर्नेलमा रहँदा उनले विद्यार्थीहरूले क्रिकेट खेलेको देखे अनि अन्तर कलेज प्रतियोगिताहरूमा खेल्न एक क्लबमा समावेश भए।

त्यहाँको विश्वविद्यालयमा पढाइ सिध्याएर नेत्रावल्करले क्यालिफोर्नियास्थित सफ्टवेर कम्पनी ओर्‍याकलमा काम थाले।

स्यान फ्रान्सिस्कोमा उनले क्लब क्रिकेट खेल्न थाले। “त्यहाँ सप्ताहान्तमा प्रतियोगिता हुन्थे। म पाँच दिन काम गर्थेँ अनि शनिवार र आइतवार खेल्थेँ।”

त्यो कुनै व्यावसायिक क्रिकेट त थिएन तर त्यसले उनलाई खेलिरहने अवसर दिलायो।

“स्यान फ्रान्सिस्कोमा अहिले पनि उचित पिचहरू छैनन्। कृत्रिम पिचमा खेलिन्छ,” उनले भने। “तर लस एन्जलसको पार्कमा माटोवाला पिच थियो जुन मुम्बईको मैदान (त्यहाँको चर्चित पार्क) जस्तै थियो।”

प्रत्येक शुक्रवार साँझ उनी ६ घण्टा गाडी चलाएर लस एन्जलस जान्थे – शनिवारको खेल खेल्न। अनि फेरि गाडी चलाएर आइतवार स्यान फ्रान्सिस्कोमा खेल्न फर्कन्थे।

“लस एन्जलसको क्लबमा तीन-चार जना खेलाडी थिए जो अमेरिकी टोलीका सदस्य थिए। बल्ल त्यतिखेर मैले थाहा पाएँ कि अमेरिकाको पनि क्रिकेट टोली छ भनेर,” उनले भने।

“लामा सप्ताहान्तहरूमा खासगरी फ्लोरिडामा प्रतियोगिताहरू हुन्थे जहाँ वेस्ट इन्डिजबाट पनि खेलाडीहरू खेल्न आइपुग्थे।”

अमेरिकी टोलीमा प्रवेश

ती प्रतियोगिताहरूले राम्रो मञ्च उनलाई दिलायो तर अझै नेत्रावल्करले अमेरिकी राष्ट्रिय टोलीका निम्ति खेल्ने सपना देखेका थिएनन्।

“म विद्यार्थी भिसा र पछि काम गर्ने भिसामा थिएँ। त्यसैले राष्ट्रिय टोलीमा खेल्ने प्रश्नै उठेन।”

विश्वभर क्रिकेटको प्रशासन गर्ने आइसीसीको नियमानुसार पनि सौरभले त्यहाँको राष्ट्रिय टोलीबाट खेल्ने अनुमति पाउन कम्तीमा ७ वर्ष त्यहाँ बसेको र स्थायी आवासीय अनुमति पाएको हुनुपर्थ्यो।

तर सन् २०१८ मा त्यो नियम परिवर्तन भयो र नेत्रावल्कर अमेरिकी टोलीमा समावेश भए। सन् २०१९ मा आइसीसीले अमेरिकासहित उसका सबै असोसिएट सदस्य देशहरूलाई इन्टर्न्याशनल टी२० को दर्जा दियो।

‘असोसिएट देशमा खेल्न झन् कठिन’

“कतिपयले सोच्छन् कि नचिनिएका कमजोर टोलीमा खेल्न सहज हुन्छ,” उनले भने।

“तर यहाँ सङ्घर्ष झन् चर्को हुन्छ। असोसिएट देशका निम्ति खेल्न थप गाह्रो किन पनि हुन्छ भने सामान्य पूर्वाधारहरू हुँदैनन्।”

अमेरिकी टोलीका सबै सदस्यहरूको अतिरिक्त पूर्णकालीन पेशा तथा पारिवारिक जिम्मेवारीहरू छन्।

“त्यसैले हामीहरू साँझ ७-९ बजेसम्म इन्डोर अभ्यास गर्छौँ।”

अमेरिकाजस्तो देशमा विभिन्न भागबाट खेलाडीहरूलाई एकै ठाउँमा भेला गर्न पनि चुनौतीपूर्ण हुन्छ।

त्यसैले सामान्यतया कुनै प्रतियोगिताभन्दा करिब १० दिन अगाडि बल्ल उनीहरू भेला हुन्छन्।

यी चुनौतीहरू पार गर्दै अमेरिकाले असोसिएट राष्ट्रहरूमाझ प्रगति गर्दै यसपटक टी२० विश्वकप खेल्न सक्षम भयो। सन् २०२६ को विश्वकप खेल्न पनि अमेरिका चयन भइसक्यो।

“स्थानीय क्रिकेटको गुणस्तर बढेको छ,” नेत्रावल्करले भने।

“मेजर लीग तथा माइनर लीग प्रतियोगिताहरूले धेरै मद्दत गरेको छ। राम्रा मैदान र पिचहरू बन्दैछन्।”

क्रिकेट एकेडेमीहरूले नयाँ खेलाडी उत्पादन गरिरहेका छन्।

क्यालिफोर्नियाजस्ता ठाउँमा खेल प्रशंसकहरू बढ्दै गए पनि अमेरिकी क्रिकेटको सामु कठिन मार्ग रहेको उनले बताए।

“वर्षमा केवल एउटा प्रतियोगिता हुन्छ जहाँ सात दिनमा तपाईँले पाँच खेल खेल्नुहुन्छ। अर्थात् वर्षैभरिको हाम्रो मेहनतको परीक्षण केवल ती पाँच दिनमा हुन्छ।”

“जितेमा अगाडि बढ्न पाइन्छ नत्र केही हुँदैन।”

यो टी२० विश्वकपभन्दा पहिले अमेरिकाले बाङ्ग्लादेशलाई शृङ्खलामा हराएको थियो जसले उसको आत्मबल बढेको थियो।

अनि यो प्रतियोगिताको पहिलो खेलमा अमेरिकाले क्यानडालाई हरायो भने दोस्रो खेलमा पाकिस्तानलाई पनि जित्यो।

बुधवार उसले भारतसँग पनि प्रतिस्पर्धा गर्‍यो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।