क्यानडामा सिख नेताको हत्या आरोपमा तीन भारतीय पक्राउ

हरदीप सिंह निज्जरको गत जुन महिनामा क्यानडामा हत्या भएको थियो

तस्बिर स्रोत, SIKH PA

तस्बिरको क्याप्शन, हरदीप सिंह निज्जरको गत जुन महिनामा क्यानडामा हत्या भएको थियो

भारत र क्यानडाबीच फेरि ठूलो कूटनीतिक विवादको विषय समेत बनेको सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा क्यानडाले तीन भारतीय नागरिकहरूलाई पक्राउ गरेर मुद्दा चलाएको छ।

गत वर्ष जुनमा क्यानडाको भ्यानकुभर नजिकै मुखौटाधारी बन्दुकधारीले ४५ वर्षीय हरदीप सिंह निज्जरको गोली हानी हत्या गरेका थिए।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएपछि दुई देशबीच कूटनीतिक तनाव बढेको थियो। तर दिल्लीले क्यानडाले लगाएका आरोप अस्वीकार गरेको थियो।

प्रहरी उपरीक्षक मनदीप मुकरले शुक्रवार दिएको जानकारी अनुसार पक्राउ पर्नेहरू २२ वर्षीय करण बरार, २२ वर्षकै कमल प्रीत सिंह र २८ वर्षीका करण प्रीत सिंह छन्।

तीनै जना अल्बर्टाको एडमन्टनमा बस्दै आएका थिए। उनीहरू बसेकै ठाउँबाट प्रहरीले पक्राउ गरेको उनले बताए।

अदालतको अभिलेख अनुसार तीनै जनालाई नियोजित हत्या र हत्याको षड्यन्त्र गरेको आरोप लगाइएको छ।

'भारतसँगको सम्बन्ध'बारे पनि अनुसन्धान हुने

क्यानडाका सहायक कमिसनर

तस्बिर स्रोत, Reuters

प्रहरीका अनुसार पक्राउ परेका तीनै जना विगत तीनदेखि पाँच वर्षयता क्यानडामा बस्दै आएका थिए।

प्रहरीले उनीहरूको “भारत सरकारसँगको सम्बन्ध” सहित थप विषयमा अनुसन्धान भइरहेको बताएको छ।

"पक्राउ परेका व्यक्तिहरूमा मात्रै अनुसन्धान सीमित छैन। यसबारे छुट्टै र पृथक् अनुसन्धानहरू भइरहेका छन्," सहायक आयुक्त डेभिड टेबोलले भने।

अनुसन्धानमा संलग्न व्यक्तिहरूले भारतीय अधिकारीहरूसँग पनि सहकार्य गरिरहेको तर वर्षौँदेखि यस्तो सहकार्य "धेरै कठिन र चुनौतीपूर्ण" रहेको उनीहरूले बताएका छन्।

हत्यामा थप व्यक्तिहरू पनि संलग्न रहेको र आगामी दिनमा थप मानिसहरू पक्राउ पर्ने प्रहरीको भनाइ छ।

गत वर्ष १८ जुनमा भ्यानकुभरबाट ३० किलोमिटर पूर्वमा रहेको गुरु नानक सिख गुरुद्वारा बाहिर हरदीप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो।

भारतले निज्जरलाई यसअघि 'आतङ्कवादी' घोषणा गर्दै उनले चरमपन्थी पृथकतावादी समूहको नेतृत्व गरेको दाबी गरेको थियो। निज्जरका समर्थकहरूले भने यस्तो दाबीहरूलाई आधारहीन भन्ने गरेका छन्।

हरदीप सिंह निज्जर को थिए?

हरदीप सिंह निज्जर क्यानडाका नागरिक थिए। गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित सरीमा एउटा सिख मन्दिरबाहिर गोली हानी उनको हत्या गरिएको थियो। उनी ४५ वर्षका थिए।

उनको जन्म भारतको पन्जाब राज्यको जालन्धरस्थित भरसिंहपुर गाउँमा भएको थियो। उनी सन् १९९७ मा क्यानडा गएका थिए।

पहिला उनले प्लमरको काम गरे। पछि उनी क्यानडाको पश्चिमी राज्य ब्रिटिश कोलम्बियाका एक अग्रणी सिख नेता बने।

भारतको पन्जाबमा स्वतन्त्र खालिस्तानको माग गर्ने खालिस्तान टाइगर फोर्ससँग सम्बद्ध भएको आरोप लगाउँदै भारतले उनलाई सन् २०२० मा आतङ्कवादी घोषणा गर्‍यो।

उनका समर्थकहरूले ती आरोपलाई “निराधार” भनेका छन् र उनले चलाएका अभियानकै कारण उनी निसानामा परेको बताउँदै आएका छन्।

हरदीप सिंह निज्जर र भारत क्यानडा विवाद

भारतीय सञ्चारमाध्यमहरूले उनको मृत्यु हुँदाको समयमा उनी स्वतन्त्र सिख राज्यका लागि अनौपचारिक जनमतसङ्ग्रह गराउन काम गरिरहेको उल्लेख गरेका छन्।

हालैका महिनामा अनपेक्षित रूपमा ज्यान गुमाउने निज्जर तेस्रो प्रभावशाली सिख नेता हुन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।