केही सिखहरू किन भारतमा छुट्टै देश बनाउन चाहन्छन्

तस्बिर स्रोत, GETTY IMAGES
क्यानडाको ब्रिटिश कोलम्बियामा एक सिख पृथक्तावादी नेताको हत्या भएको विषयमा क्यानडा र भारतबीच अहिले आरोप प्रत्यारोप चलेको छ।
क्यानडाले भारत उक्त घटनामा संलग्न भएको आरोप लगाएपछि दुवै देशले एकअर्काका एक-एक कूटनीतिज्ञलाई निष्काशित गरेका छन्।
यी घटनाक्रमसँगै भारतमा सिखहरूका लागि छुट्टै राज्यको माग भइरहेको विषयबारे कूटनीतिक तनाव चुलिएको छ।
भारतले क्यानडाका प्रधानमन्त्रीले लगाएको आरोप अस्वीकार गर्दै त्यसलाई “निरर्थक” को सङ्ज्ञा दिएको छ।
खालिस्तान राज्यको माग र अहिले चर्किएको विवादसँग सम्बन्धित केही विषयबारे यहाँ चर्चा गरिएको छ।
सिख को हुन् र उनीहरू कहाँ छन्?
सिख धर्म विश्वको एउटा मुख्य धर्ममध्ये एक हो। यो धर्म अहिलेको भारत र पाकिस्तानमा पर्ने पन्जाब क्षेत्रमा सोह्रौँ शताब्दीमा सुरु भएको हो।
सन् १९४७ मा ब्रिटिश शासन अन्त्य भएपछि भारत र पाकिस्तान देश विभाजित भए।
विश्वभरि झन्डै दुई करोड ५० लाख सिखहरू छन्। धर्मप्रति आस्था राख्ने विश्वको यो पाँचौँ ठूलो समूह हो।
अधिकांश सिखहरू भारतमा बस्छन्। एक अर्ब ४० करोड जनसङ्ख्या रहेको भारतमा झन्डै दुई प्रतिशत जनसङ्ख्या सिखहरूको छ। विदेशमा बस्ने सिखहरूको सङ्ख्या पनि ठूलो छ।
भारतबाहेक क्यानडामा सात लाख ८०,००० सिखहरू बस्छन्। उक्त सङ्ख्या क्यानडाको कुल जनसङ्ख्याको दुई प्रतिशतभन्दा बढी हो।
त्यस्तै अमेरिका र यूकेमा झन्डै पाँच लाख र अस्ट्रेलियामा झन्डै दुई लाख सिखहरू छन्।

केही सिखले किन छुट्टै राज्य खोजेका हुन्?
खालिस्तान आन्दोलनले भारतमा सिखहरूका लागि छुट्टै राज्य स्थापना गर्न चाहेको छ।
सन् १९८० मा भारतको पन्जाब राज्यमा उक्त आन्दोलन उत्कर्षमा पुगेको थियो। त्यहाँ शृङ्खलाबद्ध हिंसात्मक आक्रमण भए र हजारौँ मानिसको ज्यान गयो।
उक्त आन्दोलन दमन गर्न भारतको सशस्त्र फौजले एउटा विशेष कारबाही चलायो। त्यसपछि उक्त आन्दोलन केही निस्तेज भयो।
यूनिभर्सिटी अफ केम्ब्रिजकी प्राध्यापक श्रुति कपालीका अनुसार आधुनिक पन्जाबको राजनीतिमा परिवर्तन आएको छ र स्वतन्त्रताको स्वर त्यति बलियो छैन।
तर प्रवासमा रहेको सिख समुदायभित्रका मानिसहरूले छुट्टै राज्यका लागि निरन्तर रूपमा पैरवी गर्दै आएका छन्। केही वर्षयता उक्त माग चर्किँदै गएको छ।

तस्बिर स्रोत, Getty Images
भारत सरकारका लागि खालिस्तान किन संवेदनशील विषय हो?
भारतले खालिस्तान आन्दोलनको सशक्त रूपमा विरोध गर्दै आएको छ। पन्जाबसहित देशको मूलधारमा रहेका राजनीतिक दलहरूले हिंसा र पृथक्तावादको आलोचना गरेका छन्।
भारतको इतिहासमा सर्वाधिक विवादास्पद मानिएका दुई घटना - अमृतसरस्थित स्वर्ण मन्दिरमा भएको आक्रमण र इन्दिरा गान्धीको हत्या - का कारण लामो समयदेखि तनाव चल्दै आएको छ।
सन् १९८४ को जुन महिनामा भारतीय सेनाले सिखहरूको पवित्र स्थल स्वर्ण मन्दिरमा धावा बोलेर त्यहाँ आश्रय लिएर बसेका पृथक्तावादीहरूलाई त्यहाँबाट हटायो।
त्यस क्रममा धेरै मानिसको ज्यान गयो र स्वर्ण मन्दिरमा ठूलो क्षति पुग्यो। पदासीन प्रधानमन्त्री इन्दिरा गान्धीको निर्देशनमा सेनाले उक्त कारबाही गरेको थियो।
त्यसको केही महिनापछि आफ्नै अङ्गरक्षकहरूले इन्धिरा गान्धीको हत्या गरिदिए। आक्रमण गर्ने दुवै अङ्गरक्षक सिख थिए।
त्यसपछि चार दिनसम्म दङ्गा र साम्प्रदायिक हिंसा फैलिँदा हजारौँ मानिसको ज्यान गयो। तीमध्ये धेरै जना सिख थिए। मृतकको सङ्ख्या ३,००० देखि १७,००० पुगेको आकलन गरिएको थियो।
उक्त घटनामा लागेको घाउ अझै आलै भएका कारण भारतका लागि खालिस्तान 'लक्षणरेखा' हो।
सिख स्वतन्त्रताविरुद्ध भारतका सबै राजनीतिक दलहरू एकताबद्ध भएका कारण भारत सरकारले खालिस्तानसम्बन्धी विषयलाई द्विपक्षीय कूटनीतिक सम्बन्धको विषय मान्दैन।
हरदीप सिंह निज्जर को हुन्?

तस्बिर स्रोत, SIKH PA
हरदीप सिंह निज्जर क्यानडाका नागरिक थिए। गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित सरीमा एउटा सिख मन्दिरबाहिर गोली हानी उनको हत्या गरिएको थियो। उनी ४५ वर्षका थिए।
उनको जन्म भारतको पन्जाब राज्यको जालन्धरस्थित भरसिंहपुर गाउँमा भएको थियो। उनी सन् १९९७ मा क्यानडा गएका थिए।
पहिला उनले प्लमरको काम गरे। पछि उनी क्यानडाको पश्चिमी राज्य ब्रिटिश कोलम्बियाका एक अग्रणी सिख नेता बने।
भारतको पन्जाबमा स्वतन्त्र खालिस्तानको माग गर्ने खालिस्तान टाइगर फोर्ससँग सम्बद्ध भएको आरोप लगाउँदै भारतले उनलाई सन् २०२० मा आतङ्कवादी घोषणा गर्यो।
उनका समर्थकहरूले ती आरोपलाई “निराधार” भनेका छन् र उनले चलाएका अभियानकै कारण उनी निसानामा परेको बताउँदै आएका छन्।
भारतीय सञ्चारमाध्यमहरूले उनको मृत्यु हुँदाको समयमा उनी स्वतन्त्र सिख राज्यका लागि अनौपचारिक जनमतसङ्ग्रह गराउन काम गरिरहेको उल्लेख गरेका छन्।
हालैका महिनामा अनपेक्षित रूपमा ज्यान गुमाउने निज्जर तेस्रो प्रभावशाली सिख नेता हुन्।

विदेशमा बस्ने सिखहरूलाई भारतले कसरी दबाव दिन्छ?
सिखको राम्रो जनसङ्ख्या भएका क्यानडा, अस्ट्रेलिया र यूकेका सरकारलाई भारतले दबाव दिँदा कूटनीतिक तनाव बढ्ने गरेको छ।
छुट्टै राज्यको मागसँग सम्बद्ध विषयलाई भारत सरकारले “सिख अतिवाद” को सङ्ज्ञा दिएको छ। उसले त्यसलाई ती देशले नियन्त्रण नगरे द्विपक्षीय सम्बन्ध बिग्रिने चेतावनी पनि दिँदै आएको छ।
अस्ट्रेलियाका अधिकारीहरूले खालिस्तानवादीहरूले हिन्दू मन्दिरहरूमा गरेको तोडफोडबारे अनुसन्धान गरिने बताएका छन्। तर उनीहरूले स्वतन्त्र राज्यबारे उनीहरूको अभिव्यक्ति रोक्न नसकिने जनाएका छन्।
खालिस्तान आन्दोलनको विरोध नगरेकोमा दिल्लीले क्यानडाको खुलेरै आलोचना गरेको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले जारी हिंसा बन्द गर्ने बताए पनि “विदेशी हस्तक्षेप” को विरोध गरेका छन्।
गत मार्चमा लन्डनस्थित भारतीय उच्चायोगबाहिर विरोधप्रदर्शनहरू भएपछि त्यहाँ विवाद उत्पन्न भयो।
त्यतिबेला भिडले 'खालिस्तान' लेखिएका पहेँलो रङ्गका ब्यानरहरू देखाएका थिए। एक जनाले कूटनीतिक नियोग रहेको भवनको एउटा बार्दलीबाट भारतको झण्डा निकालिदिएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








