कांग्रेसको भोट तान्न पोखरेललाई चुनौती, मत रोक्ने शर्माको रणनीति

तस्बिर स्रोत, RSS/FACEBOOK
- Author, फणीन्द्र दाहाल, माधव नेपाल
- Role, संवाददाता, बीबीसी न्यूज, घोराही दाङ
दाङको घोराहीमा स्वर्गद्वारी एफएम स्टेसन रोड नजिकै एउटा सानो हुलमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माबीचको चुनावी प्रतिस्पर्धाबारे आ-आफ्ना विश्लेषण चलिरहेको छ।
आफूलाई सत्ताको नेतृत्व गर्ने दल नेपाली कांग्रेसको समर्थकका रूपमा चिनाएका उनीहरूले एमाले र माओवादी दुवैको भाविष्य कांग्रेसको भोटले निर्धारण गर्ने बताइरहेका थिए।
बाम तालमेल भएका बेला अघिल्लो संसदीय चुनावमा दाङ क्षेत्र नम्बर दुईबाट माओवादी केन्द्रका तत्कालीन महासचिव कृष्णबहादुर महरा विजयी भएका थिए।
त्यसबेला आफ्ना नेपाली कांग्रेसका प्रतिद्वन्द्वी भन्दा करिब १५ हजार मत धेरै ल्याएका महरा यो पटक चुनावी मैदानमा छैनन्।
उसबेला प्रदेश सभा सदस्यमा निर्वाचित हुँदै लुम्बिनी प्रदेशको मूख्यमन्त्री बन्न पुगेका पोखरेल अहिले एमालेको शक्तिशाली महासचिव बनेका छन्।
सत्ताधारी गठबन्धनकी साझा उम्मेदवार एवं पूर्वमन्त्री रेखा शर्मा पोखरेलसँग प्रतिष्पर्धामा छिन्।
फेरिएको छ अवस्था

परम्परागत रूपमा नेपाली कांग्रेसको बलियो पकड रहेको दाङका तीनवटै निर्वाचन क्षेत्र अघिल्लो संसदीय चुनावमा बाम गठबन्धनले जितेको थियो।
त्यसअघिको संविधानसभा निर्वाचनमा दाङका पाँचवटै निर्वाचन क्षेत्र कांग्रेसले जितेको थियो।
पहिलो संविधानसभामा भने मतदाताले सो जिल्लाका सबै क्षेत्रमा माओवादीलाई पत्याएका थिए।
यो पाली सत्ता गठबन्धनमा आबद्ध पाँच दलमध्ये कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी एक-एक सिट बाँड्दै चुनावमा होमिएका छन्।
उक्त गठबन्धनसँग विपक्षी एमालेका नेताहरू चुनावी मैदानमा भिडिरहँदा धेरैको नजर एमाले अध्यक्ष केपी ओलीका राजनीतिक उत्तराधिकारी ठानिने गरेका महासचिव पोखरेल र माओवादी केन्द्रकी शर्मा लडिरहेको क्षेत्र नम्बर दुईमा छ।

दाङ सदरमुकाम घोराही पनि उक्त निर्वाचन क्षेत्रमा नै पर्छ जहाँ सत्ताधारी गठबन्धनको तालमेललाई चिर्दै गएको स्थानीय निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार मेयरमा निर्वाचित भएका थिए।
त्यसबेला उनले माओवादी केन्द्रका आफ्ना प्रतिस्पर्धीभन्दा ५३ सय भन्दा बढी मत ल्याएका थिए।
त्यसबेला नगरप्रमुख पदमा मात्रै झन्डै १० हजार मत बदर भएको उल्लेख गर्दै आएका एक जना कांग्रेसका समर्थकले भने, “यहाँको मूल विषय भनेको रुखका मतदाताले हँसिया हथौडामा छाप हान्छन् कि हान्दैनन् भन्ने नै हो।”
के भन्छन् पोखरेल र शर्मा

तस्बिर स्रोत, RSS
पोखरेल चुनाव केन्द्रित भेटघाट र भेलामा व्यस्त रहँदा गठबन्धनकी उम्मेदवार भने मत माग्न घरदैलोमा हिँडिरहेकी थिइन्।
साधारण ढङ्गले मतदातासामु पुगिरहेको बताएका महासचिव पोखरेलले राष्ट्रिय राजनीतिमा एमालेले गर्न सक्ने कार्यक्रम र योजना सुनाउने गरेको बताए।
उनले बीबीसीसँग भने, “एकातर्फ गठबन्धन छ अर्कोतर्फ बलियो राष्ट्रिय शक्ति निर्माणको नेकपा एमालेको सङ्कल्प छ। विकास र समृद्धिका लागि जुन बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ त्यो पुरा गर्ने सामर्थ्य एमालेले मात्रै प्रस्तुत गरिरहेकाले त्यो नै हाम्रो जीतको आधार हो।”
माओवादी केन्द्रकी पूर्व प्रमुख सचेतक समेत रहेकी शर्माले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने प्रतिवद्धता गठबन्धनले गरेको भन्दै त्यसलाई जिताउन मत मागिरहेकी छन्।
उनले भनिन्, “त्यसबाहेक दाङको विकास निर्माणमा नेतृत्वदायी भूमिका खेल्ने मुद्दा पनि छ र महिलाका राजनीतिक र आर्थिक अधिकार सम्बोधन गर्न विशेष कार्यक्रमहरू बनाउने प्रतिवद्धता जनाएको छु।”

तस्बिर स्रोत, RSS
नेता पोखरेल प्रदेश राजधानीलाई बुटवलबाट दाङको भालुवाङ सार्न आफ्नो कार्यकालमा भएको पहलले पनि मतदातालाई आकर्षित गर्ने ठान्छन्।
शर्मा माओवादी र कांग्रेसकै कैयौँ नेताको पहलबाट मात्रै त्यो सम्भव भएको बताउँदै एमालेका कतिपय नेताहरू पुरानै ठाउँमा राजधानी राख्नुपर्ने पक्षमा अझै पनि उभिएको बताउँछिन्।
मतदाताहरूको धारणा के छ
कतिपय मतदाताहरू लमही घोराही सडक खण्डको दुरावस्थाको कुरा गर्छन् भने कोही यसपालिको चुनावमा नयाँ अनुहारलाई मौका दिनुपर्ने धारणा राख्छन्।
पोखरेल र शर्मा लडिरहेको क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र सहित अन्य १३ उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन्।
त्यसमध्ये एकाध साना दलका उम्मेद्वारहरूले भने पोखरेललाई समर्थन गर्दै चुनावी दौडबाट पछि हटेका छन्।
दाङमा विगतमा मजबुत पकड भएका आफ्ना नेता खुमबहादुर खड्काका छोरा अनुरागलाई नेपाली कांग्रेसले प्रदेश सभा अन्तर्गत क्षेत्र नम्बर २ मा उम्मेदवार उठाएको छ।

आफूसँग कोही पनि मत माग्न नआएको बताउने ४५ वर्षकी दिलमाया केसी आफू मतदानलाई लिएर खासै उत्साहित नभएको बताउँछिन्।
उनले भनिन्, “हाम्रो बुवा एकदम कट्टर कांग्रेसी हुनुहुन्थ्यो र सधैँ आफ्नै पार्टीमा भोट हाल्नुपर्छ भन्नुहुन्थ्यो। तर जब हामीलाई कसैले हेर्दैन भने किन भोट दिने?”
घोराही १३ मा एउटा सानो कपडा पसल चलाउने उनले आफूसँग भोट माग्न पनि कोही नआएको बताइन्।
एउटा छोराकी आमा रहेकी उनले कोरोनाभाइरसको विश्वव्यापी महामारीको पहिलो लहर नेपाल प्रवेश गरेपछि लकडाउन लगाइएको समयमा आफूहरूले ज्यादै कष्ट पूर्ण जीवन गुजारेको सम्झिइन्।
उनले भनिन्, "एक थोपो राहत नपाएर त्यसबेला तिलहरी समेत बेच्नु परेको थियो। त्यसपछि अलिकति अवस्था सुध्रिएपछि तरकारी बेच्न थालेँ र पछि कपडा बेच्ने आफ्नो पुरानै पेसामा फर्किए। हाम्रो अवस्था सधैँ यस्तै भइरहेकाले अहिले भोट नै नदिने भनिरहेकी छु।”

तर दुवै उम्मेदवारहरूले चुनावमा उत्साहजनक रूपमा मतदाताहरू सहभागी हुने अपेक्षा आफूहरूले गरिरहेको बताएका छन्।
माओवादी केन्द्रकी उम्मेदवार शर्माले गठबन्धनको विगतको मत मात्रै गणना गर्दा पनि आफू बलियो स्थानमा रहेको बताउँदै भोट बदर हुनबाट रोक्न मतदाता शिक्षा अभियानमा आफूले विशेष ध्यान दिइरहेको बताइन्।
घोराहीमा मोबाइल, घडी र रेडियो मर्मत सम्बन्धी एउटा पसलका सञ्चालक सागर पोखरेल प्रदेशको राजधानी सार्ने र भित्री सडकहरू कालोपत्रे गर्ने जस्ता काम गरेका कारण पूर्व मुख्यमन्त्री शङ्कर पोखरेलको सम्भावना बढी देख्छन्।
उनले भने, “तर रेखा शर्मा पनि मन्त्री बन्नुभयो। उहाँलाई यहाँका मानिसहरूले चिन्छन् र उहाँको सङ्घर्षबारे जानकार छन्। त्यही भएर एकदमै धेरै प्रतिष्पर्धा हुन्छ भन्ने मलाई लाग्छ।”
उनले थपे, “कांग्रेसले पूर्ण रूपमा समर्थन गर्यो भने रेखा शर्माको अवस्था अझ बलियो बन्नेछ।”








