तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रचण्डको २३ सदस्यीय मन्त्रिपरिषद्मा चार उपप्रधानमन्त्री, १५ जना पहिलोपटक मन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिकांश नयाँ अनुहारलाई समेटेर आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।
उनको २३ सदस्यीय मन्त्रिपरिषद्मा १५ जना पहिलोपटक मन्त्री बनेका छन्।
प्रचण्डले मङ्गलवार राप्रपाबाट राजेन्द्र लिङ्देन सहित १२ जना मन्त्री र तीनजना राज्यमन्त्री नियुक्त गरे।
यससँगै सरकारमा चारजना उपप्रधानमन्त्री पुगेका छन्।
मन्त्रिमण्डलमा नेकपा एमालेबाट परराष्ट्रमा विमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामा पदम गिरी र महिला तथा बालबालिकामा भगवती चौधरी र रक्षामा हरि उप्रेती मन्त्री भएका छन्।
नेकपा (माओवादी केन्द्र)बाट सञ्चार, सूचना प्रविधीमा रेखा शर्मा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती मन्त्री भएका छन्।
राप्रपाबाट ऊर्जा, जलस्रोत तथा सिंचाइमा लिङदेन, सहरी विकासमा विक्रम पाण्डे र कानुन, न्याय तथा संसदीय मामिलामा ध्रुवबहादुर प्रधान मन्त्री बनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट को को बने मन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा तथा विज्ञान प्रविधिमा शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल मन्त्री बनेका छन्।
स्वतन्त्र पार्टी डा तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री, राप्रपाबाट दीपक सिंह ऊर्जा राज्यमन्त्री र माओवादीबाट सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री नियुक्त भएका छन्।
नवनियुक्त मन्त्रीहरूले मङ्गलवारै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।
मङ्गलवार शपथ लिएका अधिकांश पहिलोपटक मन्त्री बनेका हुन्।
एमालेबाट मन्त्री बनेकी चौधरी, माओवादीकी शर्मा र राप्रपाका पाण्डे बाहेक सबै मन्त्रिपरिषद्मा नयाँ अनुहार हुन्।
यसअघि नै नेकपा एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री, माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात र रास्वपाबाट रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री नियुक्त भएका थिए।
लामिछाने पनि पहिलो पटकमन्त्री बनेका हुन्।
यसअघि नै मन्त्री बने तापनि जिम्मेवारी नतोकिएका ज्वाला कुमारी साहले कृषि तथा पशुपंछी विकास, दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति र राजेन्द्र कुमार राईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र जनमत पार्टीबाट अब्दुल खानले खानेपानी मन्त्रालय पाएका छन्।
यसअघि नियुक्त भएका मन्त्रीमध्ये राई र खान पहिलो पटक मन्त्री बनेका थिए।
प्रधानमन्त्रीले वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय आफैसँग राखेका छन्।
नेपालको संविधानले २५ जनासम्म मन्त्री बन्न सक्ने व्यवस्था गरेको छ।