तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डीआर कङ्गोमा 'कू प्रयास'को आरोपमा अमेरिकी र ब्रिटिश नागरिकसहित ३७ जनालाई मृत्युदण्डको फैसला
डीआर कङ्गोमा राष्ट्रपतिलाई सत्ताच्युत पार्न प्रयास गरेको भन्दै ३७ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। जसमा तीन जना अमेरिकी, एक जना ब्रिटिश, एक जना बेल्जिअन र एक जना क्यानडेली नागरिक समेत छन्।
ती मानिसहरूलाई गत मे महिनामा राष्ट्रपति निवास र राष्ट्रपति फेलिक्स चिसकेडीका एक जना साझेदारको घरमा भएका हमलाको नेतृत्व गरेको आरोप लगाइएको छ।
सत्ताच्युत पार्ने उक्त असफल योजनाका सन्दिग्ध नेतृत्वकर्ता कङ्गो मूल भएका एक अमेरिकी नागरिक क्रिस्टिआन मलाङ्गा उक्त हमलाकै क्रममा अन्य पाँच जना सहित मारिएका थिए।
कुल ५१ जना मानिसहरूलाई सैन्य अदालतमा मुद्दा चलाइएको उक्त प्रकरणको सुनुवाइ राष्ट्रिय टेलिभिजन र रेडिओमा प्रत्यक्ष प्रसारण गरिएको थियो।
मुद्दा चलाइएका ५१ जनामध्ये १४ जनालाई उक्त हमलामा सम्बन्ध नदेखिएको भन्दै निर्दोष ठहर गरेर जेलमुक्त गरिएको थियो।
सजाय पाउनेहरू को हुन्?
मलाङ्गाका छोरा मार्सेल मृत्युदण्ड सुनाइएका एक अमेरिकी नागरिक हुन्।
यसअघि अदालतमा उनले यदि उक्त कू प्रयासमा सहभागी नभएमा आफ्ना बुवाले मार्ने धम्की दिएको बताएका थिए।
उनका साथी टेइलर थमसनलाई समेत मृत्युदण्ड सुनाइएको छ। उनीहरू दुवै जनाको उमेर २० वर्षभन्दा केही बढी छ र अमेरिकी राज्य युटामा उनीहरू एकसाथ फुटबल खेल्नेगर्थे।
गत जुन महिनामा बीबीसीसँग कुरा गर्दै उनकी सौतेनी आमा मिरान्डा थमसनले उनी कसरी डीआर कङ्गोमा त्यस काममा पुगे भन्ने परिवारलाई "शून्य जानकारी" भएको बताएकी थिइन्।
उनले भनेकी थिइन्: "हामी के भइरहेको छ भनेर पूरै स्तब्ध भयौँ, किनकि हामीलाई केही थाहा थिएन। हामीले सबथोक गुगलबाट देखिरहेका थियौँ।"
सजाय सुनाइएका तेस्रो अमेरिकी बेन्जमिन जलमान-पोलुनको क्रिस्टिआन मलङ्गासँग व्यापारिक सम्बन्ध थियो।
त्यसैगरी मृत्युदण्डको सजाय सुनाइएका अर्का बेल्जिअन र कङ्गोको दोहोरो नागरिकता भएका जँ-ज्याक्क वन्डो छन्।
यसअघि ह्युमन राइट्स वाचले उनलाई क्षेत्रीय राजनीति र सुरक्षासम्बन्धी एक जना प्रभावशाली अनुसन्धानदाताका रूपमा चिनाउँदै उक्त कू प्रयाससँगको उनको साइनो निकै कम रहेको जनाएको थियो।
एएफपी समाचार संस्थाले सजाय सुनाइएका ब्रिटिश र क्यानडेली नागरिकहरू समेत कङ्गो मूल भएकाहरू रहेको जनाएको छ।
फैसला सुनाएको अदालतले ब्रिटिश नागरिक युसुफ इजाङ्गीले कू प्रयासमा संलग्न हुनका लागि मानिसहरू जुटाएको उल्लेख गरेको छ।
अब के हुन्छ?
दोषी ठहर भएकाहरूसँग पुनरावेदनका लागि पाँच दिनको समय छ।
डीआर कङ्गोमा झण्डै दुई दशकमा मृत्युदण्ड कार्यान्वयन गरिएको छैन। बरु त्यस्तो सजाय पाउनेहरूले आजीवन कारावास बेहोर्ने गरेका छन्।
सरकारले राष्ट्रको निष्क्रिय सेनाबाट "देशद्रोही" हटाउन आवश्यक रहेको भन्दै यस वर्ष मार्चमा उक्त रोक हटाएको छ।
यद्यपि त्यसयता पनि कुनै मृत्युदण्ड कार्यान्वयन भएको छैन।
कू प्रयासको घटना
गत १९ मेमा राजधानी कन्शासमा सबेरै एउटा कू प्रयास भएको थियो।
सशस्त्र मानिसहरूले सुरुमा सभामुखलाई उनको निवासमा हमला गरेर राष्ट्रपतिको सरकारी निवासतर्फ लागेका थिए।
प्रत्यक्षदर्शीका अनुसार झण्डै २० जनाको सङ्ख्यामा सेनाको पोसाकमा रहेका हमलाकारीको समूहले राष्ट्रपति निवासमा हमला सुरु गरेपछि त्यहाँ गोली हानाहान भएको थियो।
सेनाका एक जना प्रवक्ताले पछि राष्ट्रिय टेलिभिजनमा सुरक्षा फौजले उक्त कू प्रयास निस्तेज पारिदिएको घोषणा गरेका थिए।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार हमलाकारीहरू डीआर कङ्गोका निर्वासित नेता मलङ्गा समर्थित न्यू जइरे मुभमेन्ट सम्बद्ध थिए।
सेनाका प्रवक्ताले हमलाका बेला मलङ्गा मारिएको बताएका थिए।
अस्थिर देश
राष्ट्रपति चिसकेडी गत डिसेम्बरमा सम्पन्न एक विवादित निर्वाचनमार्फत् दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। उनले झण्डै ७८ प्रतिशत मत पाएका थिए।
डीआर कङ्गो अथाह खनिज र विशाल जनसङ्ख्या भएको देश हो।
तर पनि द्वन्द्व, भ्रष्टाचार र सुशासनको अभावमा त्यहाँका धेरै मानिसहरूले कठिन जीवन बिताइरहेका छन्।
धेरैजसो प्राकृतिक स्रोत देशको पूर्वी भागमा पर्ने हिंसाग्रस्त क्षेत्रमा छन्।
जहाँ राष्ट्रपति चिसकेडीले घेराबन्दी, युद्ध विराम सम्झौता र छिमेकी देशहरूबाट सेनाहरू ल्याएर परिस्थिति नियन्त्रणमा राख्न खोजे पनि अस्थिरता कायम छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।