जाजरकोट भूकम्प: राहत र अस्थायी आवास व्यवस्थामा ध्यान केन्द्रित, प्रभावित क्षेत्रमा २५० बढी परकम्प

शुक्रवार मध्यराती ठूलो जनधनको क्षति गराउने गरी जाजरकोट जिल्लामा गएको विनाशकारी भूकम्प यता त्यसक्षेत्रमा साना र मझौला भूकम्पहरू आउने क्रम जारी रहेको अधिकारीहरूले बताएका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूगर्भविद् चिन्तन तिम्सिनाका अनुसार सो क्षेत्रमा शुक्रवार राति यता ४ म्याग्निट्यूड भन्दा माथिका ६ वटा परकम्प गएका छन्।

उनले बीबीसीसँग भने, “चार देखि ५ म्याग्निच्यूडका ६ वटा परकम्प गएको छ। सबै गरेर साना चाहिँ २५० भन्दा माथि पुगिसके। ती भनेका दुई देखि चार म्याग्निट्यूडसम्मका भूकम्पहरू हुन्।”

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ती सबै परकम्पहरूको केन्द्रबिन्दु पनि जाजरकोटको रामिडाँडा आसपास नै रहेको बताए।

उनले भने, “अहिले पनि त्यो क्षेत्रमा परकम्पहरू गई नै रहेको छ।”

यसैबीच उक्त भूकम्पबाट पीडितहरूको खोज तथा उद्धार कार्यको अन्तिम चरणका कामहरू आइतवार पनि जारी रहने अधिकारीहरूले जनाएका छन्।

सुरक्षा निकायका अधिकारीहरू के भन्छन्?

नेपाल प्रहरीका प्रवक्ताले शनिवार साँझ नै ‘मोटामोटी’ रूपमा खोज तथा उद्धार सकिएको भए पनि सुरक्षा निकायहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धारको अन्तिम प्रयासहरू गर्ने बताए।

नेपाली सेनाका प्रवक्ताले शनिवारसम्म फौजहरू पुगेका स्थानमा खोज तथा उद्धार लगभग सकिएको बीबीसीलाई बताए।

स्थानीय म्याग्निट्यूड ६ दशमलव ४ रहेको उक्त भूकम्पले जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएको थियो र आइतवार बिहानसम्म उक्त विपद्‌का कारण १५७ जनाले ज्यान गुमाएको अधिकारीहरूले बताएका छन्।

गृहमन्त्रालयले उक्त भूकम्पका कारण कम्तीमा ३५७ जना घाइते भएको उल्लेख गरेको छ। सबै घाइतेहरूको उपचार सरकारले निःशुल्क गर्ने आइतवार बसेको मन्त्रिपरिषद् बैठकपछि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले संवाददाताहरूलाई जानकारी दिए।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार उक्त भूकम्पबाट घाइते भएका ९१ जना अस्पतालबाट उपचार गराएर फर्किएका छन्।

उनले भने, “सुरुमा आएको तथ्याङ्कमा सामान्य घाइते भएका व्यक्तिहरू पनि समावेश गरेका थियौँ। भूकम्पका कारण विभिन्न जिल्लाका अस्पतालमा भर्ना भएर डिस्चार्ज हुनेको सङ्ख्या ९१ पुगेको छ।”

उनले भूकम्पबाट अति प्रभावितमध्येको रुकुम पश्चिममा ज्यान गुमाएका सबै ५२ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको बताए।

जाजरकोट जिल्लामा पनि शव पहिचान गर्ने र हस्तान्तरण गर्ने क्रम जारी रहेको उनको भनाई छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले आइतवार पनि आफूहरूको पहिलो प्राथमिकता खोज तथा उद्धार हुने बताए।

उनले भने, “आज पनि खोज तथा उद्धारले निरन्तरता पाउँछ। हाम्रो प्रयास दुर्गम ठाउँहरूमा पुग्ने हुन्छ। अझै पनि कैयौँ ठाउँहरूमा मानिसहरूको उपचार जारी छ। एकरात बितिसक्यो। हाम्रो पहिलो प्राथमिकता खोज तथा उद्धार नै हुन्छ।”

अस्थायी बास व्यवस्थापनको तयारी

नेपाल प्रहरीका प्रवक्ताले खोज तथा उद्धार कार्य सकिन लागेकाले अब घाइतेहरूको उपचार, राहत वितरणजस्ता कामहरूमा केन्द्रित हुन लागिएको बताए।

कडायतले भने, “त्यसबाहेक भूकम्पका कारण भएको भौतिक तथा चौपायातर्फको क्षतिको विवरण सङ्कलनको काम पनि अघि बढाइनेछ। विस्थापितहरूको बसाइँ व्यवस्थापनको लागि पनि हामी काम गर्नेछौँ।”

नेपाली सेनाको हेलिकोप्टर सुर्खेतमा राखिएको छ र त्यसले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन सहयोग गर्ने सैनिक प्रवक्ताले बताए।

उनका अनुसार गृह प्रशासनको नेतृत्वमा राहत वितरणको काम अघि बढाइनेछ। भण्डारी भन्छन्, “भूकम्पका कारण प्रभावित भएका मानिसहरूलाई बासका लागि पनि सहयोग गर्ने काम सुरु हुनेछ।”

गृह मन्त्रालयले शनिवार साँझ जाजरकोट र रुकुम पश्चिम जिल्लाका विपद् व्यवस्थापन कोषमा तत्कालै पाँच करोड रुपियाँ पठाउने निर्णय गरेको थियो। साथै खोज तथा उद्धारको लागि विशेष टोली खटाउने पनि निर्णय लिएको थियो।

छिमेकी देशहरू भारत र चीनसहितका नेपालका मित्रराष्ट्रहरूले भूकम्प प्रभावितहरूका लागि सहयोग उपलब्ध गराउने इच्छा गरेका छन्।

त्यस्तो सद्भावप्रति कृतज्ञता व्यक्त गर्दै नेपाल सरकारले थप विवरण र क्षतिका आधारमा आवश्यक परेमा पछि अनुरोध गर्ने निर्णय लिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।