बाङ्ग्लादेशमा प्रधानमन्त्री बन्न लागेका रहमान जसले १७ वर्षअघि 'राजनीति नगर्ने' सर्त मानेका थिए

    • Author, क्याथ्रिन आर्म्स्ट्रङ
  • पढ्ने समय: ४ मिनेट

बाङ्ग्लादेशमा भर्खरै सम्पन्न निर्वाचनमा बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टीले बहुमत हासिल गरेपछि उक्त मध्यदक्षिणपन्थी दलका नेता तारिक रहमान नयाँ प्रधानमन्त्री बन्ने देखिएको छ। उनी ६० वर्षका भए।

बाङ्ग्लादेशको राजनीतिमा सुरुदेखि नै प्रभावशाली रहँदै आएको जिया-रहमान परिवारका उनी सदस्य हुन्। उनका बुवा र आमा दुवै बाङ्ग्लादेशको राजनीतिमा सक्रिय थिए। बुवा जियाउर रहमान राष्ट्रपति थिए भने उनको हत्यापछि राजनीतिमा पाइला टेकेकी आमा बेगम खालेदा जिया पछि देशकै प्रथम महिला प्रधानमन्त्री बनिन्।

रहमानको राजनीतिक यात्रा त्यति सहज थिएन। उनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूले लगाएका नातावाद र भ्रष्टाचारका आरोपहरू खेप्नुपरेको थियो, देश छोडेर निर्वासन बस्नुपरेको थियो र पिताको हत्या भएपछि युवावस्थामा ठूलो चोट खेप्नुपरेको थियो।

रहमान सन् २००१ मा बीएनपीमा सक्रिय भए। तर अहिले निर्वाचन हुनुभन्दा केही साताअघि आमा खालेदा जियाको मृत्यु भएपछि उनी उक्त दलको अध्यक्ष बन्न पुगे।

रहमान बीएनपीमा सक्रिय हुँदा खालेदा जिया भर्खर दोस्रो पटक प्रधानमन्त्री बनेकी थिइन्। त्यसअघि उनी सन् १९९१ देखि १९९६ सम्म प्रधानमन्त्री थिइन्।

सन् १९८१ मा बाङ्ग्लादेशमा सेनाले गरेको सत्तापलटमा राष्ट्रपति जियाउर रहमानको हत्या भएको थियो।

उनी बाङ्ग्लादेशको मुक्तिसङ्ग्राममा सहभागी एक महत्त्वपूर्ण नेता थिए। उनले नै सन् १९७८ मा बीएनपी स्थापना गरेका थिए।

'राजनीति छोड्ने सर्तमा जेलबाट रिहा'

आमाबुवाको पदचिह्न अनुसरण गर्दै राजनीतिमा सक्रिय भएका तारिक रहमान सन् २००२ मा पार्टीको वरिष्ठ पदमा नियुक्त भए।

बीएनपीमा उनको उदयलाई विपक्षीहरूले "लज्जास्पद नातावाद"को सङ्ज्ञा दिए। यद्यपि पार्टीभित्र उनले आफूलाई पार्टी अनुशासन कायम गराउने "कडा कार्यकर्ता" को रूपमा स्थापित गराए।

विगतमा रहमानमाथि शक्ति दुरुपयोग गरेर व्यक्तिगत लाभ लिएको आरोप लागेको छ। तर उनले भ्रष्टाचारका आरोपको खण्डन गर्दै आएका छन्। समर्थकहरू विपक्षीहरूले रहमानलाई राजनीतिक दुराशाय राखेर प्रताडित गरेको दाबी गर्छन्।

सन् २००७ मा सेनाको समर्थनप्राप्त अन्तरिम सरकारले उनलाई भ्रष्टाचारको आरोपमा पक्राउ गर्‍यो। आफूलाई मुद्दाको सुनुवाइ सुरु हुनुअघि यातना दिइएको दाबी उनले गरे। जेलमा १८ महिना बिताएपछि उनी रिहा भए र त्यसपछि लन्डन गए।

त्यतिबेला प्रकाशित समाचारका अनुसार राजनीति परित्याग गर्ने वाचा गरेपछि उनलाई बाङ्ग्लादेश छोड्ने अनुमति दिइएको थियो।

१७ वर्ष लामो निर्वासन

तारिक रहमान १७ वर्ष स्वदेश फर्किएनन्।

तर विदेशमा भए पनि उनले बीएनपीको रणनीति र नीति निर्माणमा सहभागी भए। सन् २०१८ मा बेगम खालेदा जियालाई कारागार पठाइएपछि उनी पार्टीको कार्यवाहक अध्यक्ष बने।

शेख हसिनाको शासनकालमा रहमानमाथि विभिन्न आपराधिक अभियोगमा अनुसन्धान भयो।

उनको अनुपस्थितिमा चलेका विभिन्न मुद्दाहरूमा उनी दोषी ठहर भए र उनीविरुद्ध विभिन्न सजाय सुनाइयो।

तीमध्ये सन् २००४ मा एउटा राजनीतिक र्‍यालीमा ग्रिनेड प्रहार भएको घटनामा पनि उनको संलग्नता भएको फैसला आयो। तर पछि ती अभियोगहरूबाट उनले सफाइ पाए।

उनी २५ डिसेम्बर २०२५ मा स्वदेश फर्किए। त्यसको पाँच दिनपछि उनकी आमाको देहावसान भयो।

त्यसपछि ९ ज्यानुअरीमा उनले आधिकारिक रूपमा पार्टीको नेतृत्व सम्हाले। विश्लेषकहरू बीएनपीमा उनको उदयलाई अवश्यम्भावी ठान्छन्।

फेरि नातावादको आरोप

उनले फेरि नातावादको आरोप खेपे। बीएनपीका नेता तथा भूतपूर्व वाणिज्यमन्त्री अमिर खस्रु त्यस्तो आरोप अर्थहीन भएको ठान्छन्।

"तपाईँको सम्बन्ध कुनै वंशसँग छ कि छैन भन्ने कुरा अप्रासङ्गिक हो," उनले बीबीसीसँग भने।

हसिनाको शासनकालमा बीएनपी निकै दमनमा परेको हुनाले जिया परिवारबाहिरबाट पार्टी हाँक्न सक्ने नेता खोज्न सक्ने सम्भावना नै नभएको उनको तर्क छ।

यद्यपि धेरै विश्लेषक रहमानको वास्तविक परीक्षा अब सुरु भएको र उनले पार्टी तथा देशको नेतृत्व कसरी गर्छन् भन्ने हेर्नुपर्ने धारणा राख्छन्।

"रहमानले राजनीतिका अँध्यारा कुना देखेका छन्, देशमा द्वन्द्व र प्रतिशोधको राजनीति पनि भोगेका छन्। आफ्नो राजनीतिक विवेक प्रयोग गरेर उनी पार्टीको नेताबाट देशको नेता बन्न सक्छन् कि सक्दैनन् भन्ने कुरा चाहिँ हेर्न बाँकी छ," राजनीतिक विश्लेषक मोहिउद्दिन अहमदले बीबीसीसँग भने।

राकिब हस्नत र अजादेह मोशिरीको अतिरिक्त रिपोर्टिङ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।