शेख हसिनाले आन्दोलनकारीमाथि घातक बल प्रयोग गर्न आदेश दिएको सुनिने अडिओ रेकर्ड

शेख हसिनाले आन्दोलनकारीमाथि घातक बल प्रयोग गर्न आदेश दिएको सुनिने अडिओ रेकर्ड
    • Author, क्रिस्टोफर जाइल्स, ऋद्धि झा, रफिद होसैन र तारेकुज्जमान शिमुल
    • Role, बीबीसी आई इन्भेस्टिगेशन्स र बीबीसी बाङ्ग्ला

गत वर्ष बाङ्ग्लादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनमा घातक बल प्रयोग गर्न तात्कालिक प्रधानमन्त्री शेख हसिना स्वयंले आदेश दिएको एउटा फोनसंवाद सार्वजनिक भएको छ। 'बीबीसी आई' ले त्यस्तो एउटा फोनसंवादको अडिओ रेकर्डको आधिकारिकता पुष्टि गरेको हो।

मार्च महिनामा अनलाइनमा सार्वजनिक भएको फोनसंवादको अडिओ रेकर्डिङमा हसिनाको आवाज स्पष्ट सुनिन्छ।

उक्त अडिओमा हसिनाले सुरक्षाकर्मीहरूलाई "घातक हतियारहरू प्रयोग गर्न" र आन्दोलनकारीहरूलाई "जहाँ भेटिन्छ त्यहीँ गोली हान्न" आफूले अधिकार प्रदान गरेको एक अधिकारीलाई बताएको सुनिन्छ।

उक्त आन्दोलनका कारण शेख हसिना पदत्याग गर्न र विदेश पलायन हुन बाध्य भइन्। त्यसयता उनी भारतमा छिन्।

बाङ्ग्लादेशका सरकारी अभियोजनकर्ताहरू उनको अनुपस्थितिमै उनीमाथि मानवताविरुद्ध अपराध गरेको अभियोगमा मुद्दा चलाउन खोज्दै छन्। उनीहरू यो अडिओलाई एउटा महत्त्वपूर्ण प्रमाणका रूपमा प्रस्तुत गर्ने योजनामा छन्।

बाङ्ग्लादेशमा गत वर्ष भएको हिंसात्मक आन्दोलनका क्रममा झन्डै १,४०० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको अनुमान छ।

उनको पार्टी अवामी लीगले उनीविरुद्ध लगाइएका सबै आरोपको खण्डन गर्दै आएको छ। उक्त पार्टीका प्रवक्ताले उक्त अडिओमा कुनै "असङ्गत कारबाही" गर्न "गैरकानुनी उद्देश्य" राखेको नदेखिने तर्क गरेका छन्।

हसिना र नाम नखुलाइएका एक वरिष्ठ सरकारी अधिकारीबीच भएको उक्त फोनसंवादको अडिओ तात्कालिक प्रधानमन्त्रीले आफैँले सरकारविरोधी प्रदर्शनकारीलाई गोली हान्न आदेश दिएको देखिने अहिलेसम्म प्राप्त सबैभन्दा महत्त्वपूर्ण प्रमाण हो।

गत वर्ष जुलाई १८ मा उक्त फोनसंवाद हुँदा हसिना ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवास 'गणभवन'मा भएको एक स्रोतले बीबीसीलाई बताएको छ।

सन् १९७१ मा बाङ्ग्लादेशलाई पाकिस्तानबाट स्वतन्त्र बनाउन गरिएको 'मुक्तिसङ्ग्राम'मा सहभागी भएका 'मुक्तियोद्धा'का परिवारका सदस्यहरूलाई सरकारी जागिरमा आरक्षण दिन कानुन बनाइएपछि त्यसविरुद्ध चरम असन्तोष उत्पन्न भएको थियो। त्यसले क्रमशः आन्दोलनको स्वरूप लियो र निरन्तर १५ वर्ष शक्तिमा रहेकी हसिना सत्ताच्युत भइन्।

गत वर्षको हिंसालाई बाङ्ग्लादेशको इतिहासमा सबैभन्दा नराम्रो मानिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।