तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के बाङ्ग्लादेशका युवा भारतविरोधी हुँदै छन्?
- Author, सौतिक विश्वास
- Role, भारत संवाददाता, ढाका
- पढ्ने समय: ६ मिनेट
ढाका विश्वविद्यालयका भित्ताहरू फेरि एकपटक चिच्च्याइरहेका छन्।
क्रोधपूर्ण, चतुर अनि कहिलेकाहीँ काव्यात्मक पनि लाग्ने शब्दहरू यहाँका भित्ता तथा पर्खालमा छरपस्ट लेखिएका छन्। त्यहाँ लेखिएका शब्दहरूले १५ वर्ष लामो शेख हसिनाको सत्ता पलट गर्न सकेको सन् २०२४को जुलाईमा जेनजी पुस्ताको अगुवाइमा भएको विद्रोहलाई झल्काउँछन्।
कुनै बखत बाङ्ग्लादेशकी प्रजातन्त्रकी प्रतीक मानिने उनी बढ्दो रूपमा निरङ्कुश बनेको उनका आलोचकहरू बताउँछन्। सत्ता छाडेपछि उनी भारत भागिन्।
यहाँ धेरैका निम्ति फेब्रुअरी १२ मा हुन लागेको चुनाव पहिलो साँचो चुनाव हुने छ।
भारतविरोधी भावना
शेख हसिनाको शासन ढलेपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले सत्ता सम्हाले। हाल हसिना दिल्लीमा निर्वासित जीवन विताइरहेकी छन्। उनको अनुपस्थितिमै भएको फैसलामा उनलाई सन् २०२४ मा भएको दमनका निम्ति मृत्युदण्ड सुनाइएको छ। तर दिल्लीले उनलाई फर्काउन अस्वीकार गरेको छ। सन् २०२४ मा बाङ्ग्लादेशमा भएका हिंसाका घटनामा करिब १४ सय मानिसको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ जसमध्ये अधिकांश सुरक्षाकर्मीको कारबाहीमा मारिएका बताइन्छ।
उनको अवामी लिग दल - बाङ्ग्लादेशको सबभन्दा पुरानो अनि जसले त्यहाँको ३०% लोकप्रिय मत पाएको थियो – लाई आगामी चुनावमा लड्नबाट रोक लगाइएको छ। विश्लेषकहरूका अनुसार मुख्य प्रतिपक्षी दल बाङ्ग्लादेश न्यासनलिस्ट पार्टी (बीएनपी) अब उदार-मध्यमार्गी दलका रूपमा फेरि स्थापित हुन खोज्दैछ भने जमात-ए-इस्लामी नामक इस्लामवादी दलले विद्यार्थी आन्दोलनबाट उदाएको दलसँग गठजोड गर्दैछ।
तर त्यहाँ र अन्यत्र लेखिएका नाराहरू केवल देशभित्रको प्रजातन्त्रसँगमात्र सम्बन्धित छैनन्। बढ्दो रूपमा तिनले सीमापारीको सम्बन्धतर्फ समेत लक्षित गर्न थालेका छन्।
"दिल्ली होइन, ढाका" यी वाक्य भित्तामा मात्र होइन त्यहाँ बनाइएका सारीमा पनि अङ्कित गरिएका पाइन्छन्। युवाहरूका माझ 'प्रभुत्व' शब्द बारम्बार प्रयोग हुन थालेका छन् र यसले बाङ्ग्लादेशमा छाएको भारतको लामो छायाँलाई दर्शाउने गरेको छ।
राष्ट्रवादी तथा भारतविरोधी सन्देशका लागि चिनिएको इन्किलाब मञ्च नामक एक सांस्कृतिक मञ्चसँग आबद्ध फातिमा तस्निम जुमा भन्छिन् विवाद भारत राष्ट्रसँग छ नकि उसका जनतासँग।
"भारतले वर्षौँदेखि हाम्रो देशमा हस्तक्षेप गरिरहेको युवा पुस्तालाई लागेको छ," २४ वर्षीय समाजशास्त्रका विद्यार्थी मोशर्रफ होसेनले भने। "खासगरि सन् २०२४ को चुनावपछि, जुन आधारभूत रूपमा एकदलीय चुनाव थियो।"
उक्त गुनासो – बाङ्ग्लादेशको प्रजातन्त्रको क्षयीकरणमा दिल्लीको ठानिएको भूमिका – अहिले भारतविरोधी भावना ह्वात्तै बढ्नुको मूल कारण मानिन्छ। फलस्वरूप कुनै समय यो क्षेत्रको नमुना छिमेक सम्बन्ध भनेर अघि सारिने गरेको भारत-बाङ्ग्लादेश सम्बन्ध अहिले दशकौँ यताकै न्यून विन्दुमा पुगेको छ।
"बाङ्ग्लादेशभित्र गहिरो भारतविरोधी भावना तथा भारतभित्रैको राजनीतिक बहसमा देखा पर्ने गरेको बाङ्ग्लादेशविरुद्ध गरिने कडा वा कतिपय अवस्थामा शत्रुतापूर्ण टिप्पणीका माझ ढाकामा दिल्ली धरमराएको छ," सोआस, युनिभर्सिटी अफ लण्डनमा राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धको अध्यापन गर्ने अविनाश पालिवालले बताए।
निरङ्कुश व्यवहार गर्दै आएकी ठानिएकी शेख हसिनाको सरकारलाई उसको अन्तिम वर्षहरूमा पनि निरन्तर समर्थन गरेकोमा कतिपयले दिल्लीलाई दोष दिएका छन्। उनीहरूले सन् २०१४, २०१८ र २०२४मा भएका विवादास्पद चुनावहरू र दिल्लीद्वारा तिनको वैधानिकता स्वीकार गरिएका घटना स्मरण गर्छन्।
"भारतले हसिनाको सत्तालाई कुनै दबाव विना अनि कुनै प्रश्न विना समर्थन गरिरह्ययो," होसेनले भने। "प्रजातन्त्रको विनाशलाई भारतले समर्थन गरेको जनविश्वास छ।"
सम्पर्क विस्तार गर्दै भारत
हालै एक बाङ्ग्लादेशी क्रिकेट खेलाडीलाई इण्डियन प्रिमिअर लिग (आईपीएल)मा खेल्नबाट वञ्चित गरिनु अनि जारी टि२० विश्वकप प्रतियोगितामा बाङ्ग्लादेशका खेलहरूलाई भारतबाट श्रीलङ्कामा सार्न अस्वीकार गर्ने दिल्लीको निर्णयले यहाँ थप आक्रोश पैदा भएको छ।
"वास्तवमा बाङ्ग्लादेशका सबै सरोकारवालाहरूसँग भारतको सम्पर्क छ। तर त्यस्ता सम्पर्कलाई सकारात्मक राजनीतिक परिणाममा परिणत गराउने काम विद्यमान राजनीतिक वातावरणमा निकै चुनौतीपूर्ण छ," पालिवालले भने।
हुन पनि दिल्लीले उसको सम्पर्क विस्तार गर्न थालेको छ।
बाङ्ग्लादेशकी पूर्व प्रधानमन्त्री तथा बीएनपीकी नेता खालेदा जियाको अन्तिम संस्कारमा सहभागी हुन गत महिना भारतीय विदेशमन्त्री एस जयशङ्कर ढाका गए। त्यहाँ उनले सो पार्टीका कार्यवाहक अध्यक्ष तारिक रेहमानसँग कुराकानी गरे। जियाको शासनका यी ६० वर्षीय उत्तराधिकारी लण्डनमा १७ वर्षको निर्वासनपश्चात् हालै बाङ्ग्लादेश फर्किएका हुन् र हुन लागेको चुनाव जित्ने दौडमा उनी अग्रपङ्तिमा देखिन्छन्।
त्यस्तै भारतले बाङ्ग्लादेशका इस्लामवादी समूहहरूसँग पनि सम्पर्क गर्न थालेको छ। जमात-ए-इस्लामीका एकजना वरिष्ठ नेताले यो संवाददातासँग कुरा गर्दै गत वर्ष भारतीय अधिकारीहरूले उनको दलको नेतृत्वसँग चारपटक भेटेको बताए।
त्यसमा ढाकाको होटलमा हालै आयोजित भारतको गणतन्त्र दिवस समारोहमा गरिएको निम्ता पनि रहेको छ।
'न्यून विन्दु'मा सम्बन्ध
यी परिवर्तनहरूले सम्बन्धमा आएको समग्र गिरावटलाई पनि रोक्न सकेका छैनन्। द डेली स्टार पत्रिकाका सल्लाहकार सम्पादक कमाल अहमद द्विपक्षीय सम्बन्धमा अहिले देखिएको चिसोपन अभूतपूर्व रहेको बताउँछन्। "द्विपक्षीय सम्बन्धमा यो नै सबभन्दा न्यून विन्दु रहेकोमा विवाद छैन," उनले बीबीसीलाई भने।
शेख हसिनाको पालासँग तुलना गर्दा बदलाव स्पष्ट देखिन्छ।
त्यतिखेर करिब १७ वर्षको दौरानमा भारत र बाङ्ग्लादेशबीच सुरक्षा, पारवहन, व्यापार, सांस्कृतिक आदानप्रदान, जनस्तरमा सम्बन्ध लगायत हरक्षेत्रमा सहयोग भयो। अहिले, अहमद भन्छन्, "सबै ठप्प छ।"
कडा टिप्पणीहरूले स्थिति झन् बिगारेका छन्।
जब भारतीय राजनीतिज्ञहरूले बाङ्ग्लादेशी आप्रवासीहरूलाई 'धमिरा' भने वा 'इजरेलले गाजामा गरेजस्तै' पाठ सिकाइने टिप्पणी गरे, तब अहमद सोध्छन् "बाङ्ग्लादेशका जनताले त्यसको कसरी प्रतिक्रिया देलान् भन्ने अपेक्षा हो?"
त्यसपछि भएका सांस्कृतिक बदलापूर्ण कार्यहरू – भारतीय वस्तु बहिष्कार देखि लिएर आईपीएल खेलको प्रसारण स्थगन – त्यही आक्रोशको परिणाम हो। "संस्कृति, व्यापार, सम्मान – कुनै पनि विषय एकतर्फी ट्राफिक होइन," अहमदले भने।
तथापि ढाकामा अधिकारीहरूले विद्यमान सम्बन्धलाई केवल सङ्कटहरूका माध्यमबाट मात्र नबुझ्न सावधान गराउँछन्।
युनुसका प्रेस सेक्रेटरी शफिकुल आलमले भारतसँगको सम्बन्धलाई 'बहुआयामिक' भन्दै त्यसको जडमा राजनीति जति नै भूगोल पनि रहेको बताउँछन्। "हाम्रा ५४ वटा साझा नदी छन्…हाम्रा भाषा र इतिहास साझा छन्," दुई देशबीचको ४,०९६ किलोमिटर लामो सिमानामार्फत् हुने व्यापार तथा जनताको आवतजावत औँल्याउँदै उनले भने।
तापनि जनभावना निकै कठोर बन्न थालेको आलमले स्वीकारे।
गत १५ वर्षसम्म किन स्वतन्त्र भोट खसाल्न नपाइएको हो भनेर बाङ्ग्लादेशी जनतालाई सोध्न आग्रह गर्दै आलमले भने सबैको जबाफ एउटै आउँछ – शेख हसिनाको निरङ्कुश शासन र त्यसलाई भारतले दिएको समर्थन। "भारतले सधैँ हसिनालाई समर्थन गरेको पनि तिनले बताउने छन्।"
गाँठो बनेको हसिनाको निर्वासन
सन् २०२४ मा भएको हिंसापश्चात् हसिना भारत पलायन भएको विषय एउटा गाँठो बनेको छ।
"सयौँ युवाहरू मारिए…अनि उनी भारत भागिन्," आलमले भने। उनलाई सत्ताच्युत भएकी एक नेताभन्दा पनि कुनै 'सरकार प्रमुख'लाई जसरी भारतले व्यवहार गरेको भावना व्याप्त भयो र त्यसले भारतप्रति थप आक्रोश निम्त्यायो।
भारतले चाहिँ बाङ्ग्लादेशमा 'बिग्रँदो सुरक्षा वातावरण'बारे चिन्ता प्रकट गर्दै आएको छ। उसले शान्तिपूर्ण रूपमा "स्वतन्त्र, निष्पक्ष, समावेशी तथा विश्वसनीय निर्वाचन"को आह्वान गरेको छ।
राजनीतिक तनावले अब आर्थिक सम्बन्धमा असर पार्न थालेको छ। करिब साढे १३ अर्ब डलरको द्विपक्षीय व्यापार ट्यारिफ तथा गैर ट्यारिफ अवरोध हटाइने हो र कूटनीतिक सम्बन्ध सुध्रने हो भने अझै निकै हुने ठान्छिन् सेन्टर फर पोलिसी डाइलग (सीपीडी) संस्थाकी फाहमिदा खातुन। "राजनीतिक तनावले आर्थिक तनाव निम्त्याएको छ।"
"जब जब म भारतको नाम सुन्छु मलाई ऊ मेरो दुस्मनजस्तो लाग्छ," इन्किलाब मञ्चकी फातिमा तस्निम जुमाले भनिन्।
"तर जनस्तरमा आउँदा यस्तो हुँदैन।" आफू हिन्दू बहुल क्षेत्रमा हुर्केबढेको भन्दै जुमाले त्यहाँ आफन्तहरू सहजै सीमा वारपार गर्ने गरेको बताउँछिन्। "हाम्रो द्वन्द्व भारतीय सरकार वा संरचनासँग हो। जनतासँग होइन।"
भारतविरोधी नारा चुनावी अभियानमा निकै मत्थर देखियो – यसकारण होइन कि त्यो हराएको छ बरु यसकारण हो कि यहाँका प्रत्येक राजनीतिक प्रत्याशीलाई थाहा छ कि भारतसँगको सम्बन्ध पुनर्स्थापना नगरी हुँदैन।
तथापि सम्बन्धको पुनर्स्थापना सोचेजति छिटो वा सतही हुन सक्ने छैन।
"निर्वाचन भएको वा नयाँ सरकार गठन भएको कारणले मात्र सम्बन्ध पुनर्स्थापना भइहाल्छ भन्ने जति सजिलो विषय यो होइन। पृष्ठभूमि (मुद्दाहरू) बाँकी नै रहने छन्," आलमले भने।
तैपनि यो दरार अपरिवर्तनीय चाहिँ छैन।
सम्बन्ध मर्मत गर्ने ठाउँ बाँकी छ – र नयाँ सरकारले परिवर्तन ल्याउन सक्छ।
"अहिलेको अवस्था सामान्य कूटनीतिक चिसोपनाभन्दा खराब तर कुनै संरचनागत विभाजनभन्दा कम हो," पालिवाल भन्छन्।
"भूगोल, इतिहास तथा साझा सांस्कृतिक सम्पदाको अर्थ के हो भने चाहेर पनि भारत र बाङ्ग्लादेश टाढिन सक्दैनन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।