तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
वर्षौँसम्म छुट्टिएर बसे पनि वैवाहिक जीवन सुखद राखेका दम्पतीका सुझाव
- Author, एमली हल्ट
- Role, बीबीसी न्यूज
मार्गरेट आफ्ना पति बसिरहेको भन्दा अलग देशमा बस्न थालेको १५ वर्षभन्दा धेरै भइसक्यो।
उनी यूकेको लन्डन र उनका श्रीमान् अस्ट्रेलियामा बस्छन्। भेट्नका लागि एउटा महादेशबाट अर्को महादेशबाट यात्रा गर्नुपर्ने बाध्यताका कारण उनीहरूको भेट एकडेढ वर्षमा मात्रै हुन्छ।
उनीहरू रहेको स्थानबीचको दूरी र मिलनका लागि त्यो दूरी पार गर्न लाग्ने लामो समयका बावजुद पनि उनीहरू एकअर्काप्रति बफादार मात्रै छैनन्, खुसी पनि छन्।
"म लन्डनको एउटा आरामदायी फ्ल्याटमा एक्लै बस्छु र मैले पूरै नयाँ साथीहरू बनाएकी छु। मैले विवाह गरेर पनि सबै कुरा गर्न पाएकी छु। यो गज्जबको अनुभव भएको छ," उनले बीबीसीको रेडिओ ४ मार्फत् प्रसारण हुने 'विमिन्स आवर' कार्यक्रमसँग भनिन्।
आफ्ना पार्ट्नरभन्दा फरक ठाउँमा बस्ने अभ्यास अस्वाभाविक चाहिँ होइन। यसरी बस्ने दम्पतीलाई बुझाउने छुट्टै शब्दावली पनि बनेको छ - 'लिभिङ अपार्ट टुगेदर' अर्थात् 'ल्याट'।
तर आधिकारिक तथ्याङ्कअनुसार विवाह गरेका वा 'सिभिल पार्ट्नरशिप'मा रहेका जोडीहरूमध्ये अलग बस्नेको हिस्सा तीन प्रतिशत मात्रै छ।
एउटै घरमा नबसे पनि विवाहका अपेक्षा पूरा गर्न सकिने मार्गरेट बताउँछिन्।
आफ्नो रोजाइमा अलग बस्दै आएका कैयौँ चर्चित व्यक्तिहरूले पनि यसबारे खुलेर कुरा गरेका छन्।
'सधैँ ताजापन'
अभिनेत्री ग्विनेथ पाल्ट्रो र लेखक तथा निर्देशक समेत रहेका उनका पति ब्राड फाल्चुकले पनि विवाहलगत्तैको लामो समय अलग ठाउँमा बसेर कटाए।
त्यसरी टाढा बस्दा सम्बन्धमा सधैँ ताजापन महसुस भएको पाल्ट्रो बताउँछिन्।
मोडेल एश्ली ग्राहम र चलचित्र निर्माता उनका पति जस्टिन एर्भिन पनि सम्बन्धको लामो अवधि टाढाटाढा बसेर बिताए। कलाकार हेलेना बोन्हाम कार्टर र निर्देशक टिम बर्टोन पनि सम्बन्धको १३ वर्ष अलगअलग ठाउँमा बसेर बिताए।
'एबट एलिमेन्टरी'की नायिका शेरिल ली राल्फले आफू र आफ्ना श्रीमान् विगत २० वर्षदेखि अमेरिकाका विपरीत तटीय सहरहरूमा बसिरहेको हालै खुलासा गरेकी थिइन्।
कामका कारण आफू हलिवुडमा र पेन्सिल्भेनियाका सिनेटर रहेका आफ्ना पति फिलाडेल्फियामा बस्नुपर्ने बाध्यता रहेको उनले बताएकी छन्।
मार्गरेटका अनुसार १५ वर्षअघि जीवन अहिलेभन्दा निकै भिन्न थियो। त्यस बेला उनी अस्ट्रेलियामा बस्थिन् र चार जना बच्चाको हेरचाह गरेर घरबाहिर काम नगरी उनको समय बितिरहेको थियो। पूर्णकालीन डाक्टर रहेका उनका पतिको आम्दानीले परिवारको खर्च धान्नुपर्थ्यो।
प्रायोगिक भाषाविज्ञानमा विद्यावारिधि गर्ने उद्देश्यले ५७ वर्षको उमेरमा उनी पुनः विश्वविद्यालय गइन्। आफ्नो अध्ययन पूरा हुँदासम्म उनका बालबच्चाहरू पनि घरबाहिर पुगिसकेका थिए। केही फरक गरौँ भन्ने सोचले उनी लन्डन गइन्।
"हाम्रो जीवनको त्यो चरणमा पीटर र मेरा लक्ष्य फरक थिए। उनी आफ्नो पैतृक घरमा बस्न चाहन्थे र कामलाई निरन्तरता दिन चाहन्थे जबकि मैले बाहिर अवसर देखेँ," उनी सुनाउँछिन्।
उनी रोयल कलेज अफ सर्जन्समा शिक्षा अधिकृत छिन्।
"धेरैजसो मान्छेले अवकाशबारे सोच्ने समयमा मैले आफ्नो पेसागत जीवनको खुड्किलो चढ्न सुरु गरेँ," मार्गरेट भन्छिन्।
"यदि तपाईँले पनि चाहनुभयो भने ६० वर्षको उमेरमा पनि पूर्णकालीन जागिर पाउन सक्नुहुन्छ। तपाईँ अर्को देश वा महादेश पुगेर पनि उत्साहजनक काम गर्न सक्नुहुन्छ।"
यसरी टाढिएर बस्दा आफूहरूको जीवन सुमधुर लयमा भने अघि नबढेको मार्गरेट सुनाउँछिन्।
"व्यक्तिगत रूपमा यसका बेफाइदा पनि छन्। पीटर ब्रिज्बननमा त्यही पारिवारिक घरमा बस्छन् र उनी धेरै घुलमिल पनि नगर्ने भएका कारण एक्लो महसुस गरेका हुन सक्छन्। मलाई पनि साथको अभाव चाहिँ महसुस हुन्छ।"
नियमित कुराकानीले आफूहरूको सम्बन्ध चाहिँ राम्रो रहिरहेको उनले सुनाइन्।
"मेरो लन्डनको जीवनबारे सबै कुरा म पीटरलाई सुनाउँछु। मेरो काम, नयाँ साथी, म घुमेको ठाउँ। यसले उनको जीवनलाई अर्को आयाम दिएको छ। अनि जब उनी लन्डन आउँछन् त्यसले मेरो जीवनलाई नयाँ आयाम दिन्छ," मार्गरेट सुनाउँछिन्।
'स्वतन्त्रताका लागि'
'विमिन्स आवर'की एक श्रोता केरीले आफूले तीन वर्षअघिदेखि पार्ट्नर बनाएका व्यक्तिसँग सँगसँगै नबस्ने सहमति गरेको सुनाइन्।
आफ्नो "स्वतन्त्रता र आत्मनिर्भरता"लाई पहिलेजस्तै राख्न त्यसो गरिएको उनको भनाइ छ।
"हामीले नजिकनजिकै घरहरू किन्यौँ र किस्ता तिर्नका लागि साझा भाडामा बस्ने व्यक्ति राख्यौँ," उनी भन्छिन्।
उनीहरूबीच भविष्यमा विवाह गर्ने योजना पनि छ। तर केरीका अनुसार त्यसपछि पनि उनीहरू अहिलेको जस्तै अलगअलग नै बस्ने सोचिरहेका छन्।
"यसले हामी दुवैका लागि असाध्यै राम्रोसँग काम गर्छ र हामीबीच सबैभन्दा बलियो सम्बन्ध रहेजस्तो महसुस हुन्छ।"
'रिलेट एट फ्यामली एक्शन'मा क्लिनिकल गुणस्तर निर्देशक रहेकी अमान्डा मेजर यस्तो किसिमको बसाइँ सबैका लागि नहुने बताउँछिन्। तर अलग बस्ने सोच बनाएका विवाहित जोडीका लागि यसले काम गर्ने उनको भनाइ छ।
"यसले केही ठाउँ दिन्छ, आफ्नो रुचिका काम गर्नका लागि सुविधा दिन्छ अनि आफ्नो लगावको पहिचान कायम राख्न सहयोग गर्छ," उनी भन्छिन्।
"यसले 'तिमीसँग विवाह गरे पनि मेरो आफ्नै ठाउँ छ, रुचि छ र दुवैलाई उपयुक्त लागेका कुरा हामी सँगसँगै गर्न पनि सक्छौँ' भन्ने मानिसहरूको भावनालाई सहयोग गर्छ।"
कसरी अलग ठाउँमा बसे पनि सँगै रहने
- जोडीमध्ये दुवै पक्षले यो चाहेको निर्क्योल हुनुपर्छ, यसका लागि दबाव महसुस गर्नुहुँदैन किनभने एक जनाका लागि यसरी बस्नु उपयुक्त भए पनि अर्कोका लागि नहुन सक्छ
- आधारभूत नियमहरू बनाउनुपर्छ र त्यसमा राम्रोसँग छलफल गर्नुपर्छ
- दुवै पक्षका लागि यो तरिकाले काम गरिरहेको नियमित समीक्षा गरिरहनुपर्छ
- सँगै हुँदा दिनहरू कसरी बितिरहेका थिए भनेर गरिने गफगाफ, यौन सम्बन्धको व्यवस्थापन वा बालबच्चा छन् भने उनीहरूको व्यवस्थापन कसरी भइरहेको छ त्यो पनि समीक्षा गरिनुपर्छ
- आफ्नो जोडीसँग हरेक पटक स्पष्ट सञ्चार गर्नुपर्छ
सम्बन्ध परामर्श सेवा रिलेटका क्लिनिकल गुणस्तर निर्देशकको सुझाव
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।