वायु प्रदूषण कसरी नापिन्छ, कति दूषित हुँदा मानिसलाई खतरा हुन्छ

तस्बिर स्रोत, Getty Images
- Author, लुइस बरूश
- Role, बीबीसी विश्व सेवा
भारतको राजधानी दिल्ली र नजिक रहेका अन्य सहरमा प्रदूषणको तह विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले तोकेको सुरक्षित मात्राभन्दा कैयौँ गुना बढ्यो। त्यहाँ केही सातादेखि धुँवायुक्त विषालु तुँवालोका कारण नजिकैको वस्तु पनि नदेखिने अवस्था उत्पन्न भएको छ।
बर्सेनि अक्टोबरदेखि ज्यानुअरीसम्म हिउँदका महिनामा भारतमा न्यून तापक्रम, धुवाँ, धुलो, सुस्त गतिको वायु, सवारीसाधनबाट निस्किने ग्यास र बालीनालीका खोस्टा चलाउने चलनका कारण प्रदूषण ह्वात्तै बढ्छ।
अहिले नेपालमा पनि वायु प्रदूषण बढ्दो क्रममा छ। केही दिनदेखि देशका विभिन्न स्थानमा धुवाँ मिसिएको तुँवालो फैलिएको छ। शुक्रवार बिहान काठमाण्डू उपत्यका वायु गुणस्तरको सूचकाङ्कका आधारमा विश्वका प्रदूषित सहरको सूचीमा शीर्ष १० स्थानभित्रै थियो।
अमेरिकी अन्तरिक्ष निकाय नासाले अन्तरिक्षबाट खिचेका तस्बिरमा उत्तर भारत र छिमेकी पाकिस्तानमाथि बाक्लो तुवाँलो देखिन्छ। तुवाँलोका कारण उडानहरू स्थगित भएका छन् वा तिनमा विलम्ब भएको छ।
'आईक्यूएअर' भनिने स्विट्जरल्यान्डमा रहेको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) अर्थात् वायुको गुणस्तरको सूचकाङ्क निगरानी गर्ने समूहका अनुसार सन् २०२३ मा दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानी बनेको थियो।
भारत विश्वको तेस्रो अतिप्रदूषित देश थियो। बाङ्ग्लादेश र पाकिस्तान क्रमशः पहिलो र दोस्रो स्थानमा थिए।
दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेना सिंहले अर्को सूचना प्रकाशन नगरिएसम्म सबै प्राथमिक विद्यालयहरू बन्द रहने र कक्षा अनलाइन माध्यमबाट सञ्चालन गरिने बताएकी छन्।
भारतको अवस्था निकै गम्भीर भए पनि यो त्यहाँ मात्र सीमित छैन। डब्ल्यूएचओका अनुसार संसारको ९९ प्रतिशत मानिस कम गुणस्तरको वायुमा सास फेर्न बाध्य छन्। निम्न र मध्यम आय भएका देशका मानिसहरू यो समस्याबाट बढी प्रभावित छन्।
उक्त राष्ट्रसङ्घीय निकायका अनुसार बर्सेनि वायु प्रदूषणका कारण ७० लाख जनाको अकालमृत्यु हुन्छ।
त्यसो भए वायु प्रदूषण कसरी नापिन्छ र प्रदूषण कुन तहमा पुग्दा मानिसहरूलाई हानि पुग्छ त?
वायु प्रदूषणको मापन कसरी हुन्छ
वायुमा प्रदूषण गर्ने तत्त्वहरू मान्छेका गतिविधिबाट उत्पन्न हुन्छन्। सवारीसाधन चलाउन र खाना पकाउन प्रयोग गरिने जीवाश्म इन्धनबाट, धूलोयुक्त आँधी, डढेलो र ज्वालामुखीबाट पनि ती तत्त्व वायुमण्डलमा निस्किन्छन्।
संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (यूएनईपी)का अनुसार वायुको गुणस्तर गर्ने उपकरणहरूमा निश्चित खालका प्रदूषक तत्त्वको पहिचान गर्न सक्ने सेन्सर जडान गरिएको हुन्छ।
केहीले लेजर प्रयोग गर्दै 'पार्टिक्युलेट म्याटर' भनिने सूक्ष्म तत्त्वको घनत्व मापन गर्छन् भने अन्यले भूउपग्रहबाट खिचिएका तस्बिरमा निर्भर हुँदै पृथ्वीले परावर्तन वा उत्सर्जन गरेको ऊर्जाको विश्लेषण गर्छन्।
पीएम२.५, पीएम१०, ग्राउन्ड लेभल ओजोन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड मानवको र वातावरणीय स्वास्थ्यमा प्रभाव पार्ने प्रदूषक तत्त्व हुन्।
पीएम२.५ को आकार २.५ माइक्रोमिटर वा त्यसभन्दा कम हुन्छ। सूक्ष्म हुने भएकाले यसबाट स्वास्थ्यमा सबैभन्दा उच्च जोखिम रहन्छ। त्यस्ता सूक्ष्म कणहरू हाम्रो रक्तप्रवाहमा पुग्दै विभिन्न रोगको कारक बन्न सक्छन्।

एक्यूआई सूचकाङ्क प्रयोग गरी वायुमा यी पाँच मुख्य तत्त्वको मात्रा नापिन्छ।
एक्यूआईको मान शून्य हुँदा वायुको स्वच्छ रहेको बुझ्नुपर्छ भने ५०० हुँदा त्यसले जनस्वास्थ्यमा तत्काल खतरा हुने सङ्केत गर्छ।
एक्यूआईले हाम्रो वायु कति स्वच्छ वा प्रदूषित छ भन्ने अनि त्यसबाट स्वास्थ्यमा दुष्प्रभाव पर्ने सम्भावना देखाउँछ। प्रदूषित वायुमा सास फेरेको केही घण्टा वा दिनमै त्यसको प्रभाव महसुस हुन थाल्छ।
"एक्यूआई वायुको गुणस्तरसम्बन्धी जटिल डेटालाई जनस्वास्थ रक्षा गर्न मिल्ने गरी कार्यात्मक सूचनामा ढालिदिने एउटा साधन हो," आईक्यूएअरका प्रवक्ता आर्मन आररेडिअनले भने।
यूएनईपीका अनुसार विभिन्न डेटाब्याङ्कहरूले सरकार, क्राउडसोर्स गरिएका तथ्याङ्क र भूउपग्रहमा आधारित निगरानी गर्ने उपकरणहरूबाट एक्यूआईसम्बन्धी विवरण सङ्कलन गर्छ अनि एक्यूआईको मान उपलब्ध गराउँछन्। त्यस क्रममा "विश्वसनीयता र मापन गरिएको प्रदूषणको प्रकारका आधारमा" डेटाको विश्लेषण गरिएको हुन्छ।
सन् २०२१ मा यूएनईपी र उसको साझेदार आईक्यूएअरले पहिलो पटक वास्तविक समय अवस्था देखाउने 'रीअल-टाइम एक्सपोजर क्याल्कुलेटर' सार्वजनिक गरेको थियो। त्यसले संसारका ११७ देशमा रहेका ६,४७५ उपकरणबाट प्राप्त प्रमाणित विवरण केलाउँछ।
उक्त डेटाबेसले पीएम२.५ सम्बन्धी डेटालाई प्राथमिकतामा राखेर 'आर्टिफिशल इन्टेलिजन्स'को प्रयोग गर्दै प्रत्येक घण्टा वायु प्रदूषण खेप्ने जनसङ्ख्याको गणना गर्छ।
मानिसका लागि कति प्रदूषण हानिकारक हुन्छ

तस्बिर स्रोत, AFP
डब्ल्यूएचओको मापदण्डअनुसार एक्यूआईको मान १०० भन्दा कम भएको वायु सास फेर्न सुरक्षित हुन्छ। तर ४००-५०० पुग्दा त्यसलाई "गम्भीर" मानिन्छ।
आईक्यूएअरका अनुसार बुधवार बिहान दिल्लीका कैयौँ भागमा उक्त सूचकाङ्क ५०० पुगेको थियो। नोयडा र गुडगाउँजस्ता सहरमा पनि एक्यूआईको मान ५०० नजिक पुगेको थियो।
यूएनईपीले सन् २०२१ मा प्रकाशन गरेको एउटा प्रतिवेदनका अनुसार ३७ प्रतिशत देशमा वायु गुणस्तरको निगरानी गर्नुपर्ने बाध्यात्मक प्रावधान छैन। विज्ञहरू अन्य कैयौँ देशमा निगरानीको गतिप्रति चिन्तित छन्।
"सरकारले निगरानीलाई बाध्यात्मक आवश्यकता मान्ने गरी कानुन बनाउनुपर्छ र स्पष्ट डेटाका लागि हाल उपलब्ध पूर्वाधारमा लगानी गर्नुपर्छ," यूएनईपी भन्छ।
वायु प्रदूषणबाट कस्ताकस्ता रोग लाग्छन्
डब्ल्यूएचओका अनुसार वायुमा हुने 'पार्टिक्युलेट म्याटर' र अन्य प्रदूषक तत्त्वले श्वासनली र फोक्सोमा सुजन गराउँदै प्रतिरक्षा प्रणाली कमजोर पार्छ र रगतको अक्सिजन बोक्ने क्षमतालाई कमजोर पार्छ।
त्यस्तो प्रदूषित हावाले श्वासप्रश्वासमा सङ्क्रमण, हृदयरोग, स्ट्रोक र फोक्सोको क्यान्सर गराउँछ। त्यसको असर खास गरी बालबालिका, वृद्धवृद्धा र न्यून आय भएका मानिसहरूमा पर्ने डब्ल्यूएचओले जनाएको छ।
उदाहरणका लागि, ओजोनले दम भएका बिरामीलाई अझ गाह्रो बनाउँछ भने नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइडका कारण दम र फोक्सामा भिन्न समस्या उत्पन्न हुन्छ।
डब्ल्यूएचओका अनुसार कमजोर वायु गुणस्तरले गर्भमै भ्रूणको मृत्यु हुने, समय नपुगी बच्चा जन्मिने अनि सङ्ज्ञात्मक दुर्बलता र विस्मृतिजस्ता स्नायुप्रणालीसम्बन्धी समस्याहरू उत्पन्न गराउँछ।
उक्त निकायले वायु प्रदूषणका कारण प्रत्येक वर्ष हुने ७० लाख जनाको मृत्यु हुने र तीमध्ये घरबाहिरको प्रदूषणका कारण ४२ लाखको र घरभित्रै दाउरा र कोइला बाल्दा हुने प्रदूषणका कारण ३८ लाख जनाको ज्यान जाने जानएको छ।
डब्ल्यूएचओका अनुसार करिब ८५ प्रतिशत त्यस्ता मृत्यु हृदयरोग, मस्तिष्काघात (स्ट्रोक), फोक्सोको क्यान्सर, दम, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग (सीओपीडी) र मधुमेहजस्ता नसर्ने रोगसँग सम्बन्धित छन्। उक्त निकायले वायुप्रदूषणलाई सुर्तीपछि संसारभरि नसर्ने रोग गराउने दोस्रो मुख्य कारक मानेको छ।
डब्ल्यूएचओका अनुसार घरबाहिरको प्रदूषणका कारण हुने ९० प्रतिशत मृत्यु निम्न र मध्यम आय भएका देशमा भएको देखिन्छ।
एउटा अनलाइन कम्युनिटी प्लेटफर्म 'लोकलसर्कल्स'ले गरेको सर्वेक्षणअनुसार पछिल्ला तीन सातामा दिल्ली र आसपासका सहरमा ८१ प्रतिशत परिवारमा कम्तीमा एक जना प्रदूषणका कारण बिरामी परेका छन्।
दिल्ली सरकारले प्रतिकार्यको कार्ययोजना लागु गर्दै कोइला र काठदाउरा बल्ने सबै गतिविधिमा प्रतिबन्ध लगाएको छ। उसले आपत्कालीनबाहेक अन्य सेवामा डीजलबाट चल्ने जेनरेटर प्रयोग गर्न पनि प्रतिबन्ध लगाएको छ। तर त्यसले सहरलाई विषाक्त प्रदूषणबाट जोगाउन सकेको छैन।
अधिकारीहरूले सर्वसाधारण मानिसलाई सकेसम्म घरभित्रै बस्न र सवारीबाट हुने प्रदूषण नियन्त्रण गर्न सकियोस् भनेर सार्वजनिक यातायातको प्रयोग गर्न आह्वान गरेका छन्।
सबैभन्दा खराब र राम्रो अवस्था कहाँ छ?
आईक्यूएअरका अनुसार सन् २०२३ मा सबैभन्दा प्रदूषित देशमा बाङ्ग्लादेश, पाकिस्तान, भारत, ताजिकिस्तान, बुर्किना फासो, इराक, यूएई, नेपाल, इजिप्ट र डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो थिए।
अर्कोतर्फ सबैभन्दा स्वच्छ हावा हुने देशमा फ्रेन्च पोलेनेशिया, मरिशस, आइसल्यान्ड, ग्रेनाडा, बर्म्युडा, न्यूजील्यान्ड, अस्ट्रेलिया, इस्टोनिया, फिन्लन्ड र स्वीडन छन्।
उक्त सूची पीएम२.५ को औसत वार्षिक मात्रा (μg/m³) का आधारमा तयार पारिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








