नुनसँगै प्लास्टिकका 'सूक्ष्मकण' खाँदै नेपाली उपभोक्ता, स्वास्थ्यमा कस्तो प्रभाव पर्छ

प्रयोगशालामा माइक्रोप्लास्टिकको अध्ययन गरिँदै

तस्बिर स्रोत, Reuters

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

खानाका माध्यमबाट नेपालीले माइक्रोप्लास्टिक अर्थात् प्लास्टिकका सूक्ष्मकण निलिरहेको देखिएको र त्यसबाट स्वास्थ्यमा पर्ने दुष्प्रभावबारे थप अध्ययन गर्नुपर्ने आवश्यकता एक नेपाली अनुसन्धानकर्ताले औँल्याएका छन्।

हालैको एउटा अनुसन्धानले नुनका माध्यमबाट सर्वसाधारण मानिसले नेपालमा वार्षिक सयौँ माइक्रोप्लास्टिक निलिरहेको हुन सक्ने देखाएको छ।

बोतल र जारमा राखिएको पानीका माध्यमबाट नेपालीले अधिक माइक्रोप्लास्टिक सेवन गरिरहेको अनुमान गरिए पनि त्यसबारे अहिलेसम्म विस्तृत अध्ययन भएको छैन।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले माइक्रोप्लास्टिकको सेवन वा श्वासप्रश्वासका माध्यमबाट मानव शरीरमा प्रवेशले स्वास्थ्यमा पार्ने असरबारे थप अध्ययन आवश्यक रहेको जनाउँदै आएको छ।

सरकारी स्तरबाट नेपालमा माइक्रोप्लास्टिकले स्वास्थ्यमा पार्ने असरबारे कुनै अध्ययन भएको छैन। तर अधिकारीहरूले "त्यस्तो आवश्यकता देखा परेको" स्वीकारेका छन्।

नुनमा माइक्रोप्लास्टिक

नेपालमा प्रयोग भइरहेका नुनमा विभिन्न आकार र रङ्गका माइक्रोप्लास्टिक फेला पारिएको छ

तस्बिर स्रोत, K K Maharjan

तस्बिरको क्याप्शन, नेपालमा प्रयोग भइरहेका नुनमा विभिन्न आकार र रङ्गका माइक्रोप्लास्टिक फेला पारिएको छ

माइक्रोप्लास्टिकले नेपालीको स्वास्थ्यमा पारेको असरबारे हालसम्म खासै अध्ययन नभए पनि त्यसको पर्यावरणीय प्रभावबारे केही अध्ययनहरू भएका छन्। नेपालका हिमाल, नदीनाला र तालमा प्लास्टिकका सूक्ष्मकण बढिरहेको देखिएको ती अध्ययनको निष्कर्ष छ।

त्रिचन्द्र क्याम्पसको वातावरण विज्ञान विभागका उपप्राध्यापक किशोरकुमार महर्जन र वातावरणविज्ञ रामप्रसाद ढुङ्गेलले नुनमा माइक्रोप्लास्टिकको अवस्थाबारे विश्लेषण गरेका छन्। त्यो अध्ययनले नेपालमा बिक्री हुने प्याकेटका नुनमा उच्च मात्रामा माइक्रोप्लास्टिक पाइएको देखाएको छ।

त्यसबारे सेल प्रेसको 'हेलियन' जर्नलमा एउटा शोधपत्र प्रकाशित भएको छ। त्यसका प्रमुख लेखक समेत रहेका महर्जनले भने, "माइक्रोप्लास्टिकको वातावरणीय प्रभावबारे नेपालमा केही अध्ययन भए पनि खाने नुनमा गरिएको यो पहिलो अध्ययन हो।"

महर्जनको टोलीले नेपालमा बिक्री भइरहेका पाँच कम्पनीका नुनको देशका विभिन्न स्थानबाट नमुना सङ्कलन गरेर परीक्षण गरेको थियो।

"नेपाली र भारतीय प्याकेजिङ कम्पनीहरूका परीक्षण गरिएका सबै नमुनामा माइक्रोप्लास्टिकको मात्रा पाइयो," उक्त अनुसन्धानपत्रमा भनिएको छ।

ती नमुनामा प्रतिकिलो ८० देखि १,०४० सम्म माइक्रोप्लास्टिक पाइएको थियो।

नुनमा कहाँबाट आयो माइक्रोप्लास्टिक?

नेपाली बजारमा पाइने धुलो नुनको प्रतीकात्मक तस्बिर
तस्बिरको क्याप्शन, नुनका माध्यमबाट हामीले माइक्रोप्लास्टिक सेवन गरिरहेको अध्ययनले देखाएको छ

नेपालमा बिक्री हुने नुनमा माइक्रोप्लास्टिक कसरी मिसियो भन्नेबारे आफूहरूले अध्ययन गरेको महर्जन बताउँछन्।

उनका अनुसार भण्डारणको अवस्था, प्याकेजिङ गरिएको मिति, प्रयोग गरिएको प्लास्टिकको मोटाइजस्ता विभिन्न कारणले माइक्रोप्लास्टिक नुनमा मिसिएको देखिएन। बरु उत्पादन प्रक्रियाको मुख्य भूमिका रहेको हुन सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ।

उक्त शोधपत्रमा उनीहरूले माइक्रोप्लास्टिकको मात्रा कम गर्न नुनलाई सफा बनाउने प्रक्रिया र त्यसको कच्चा पदार्थ एवं प्याकेजिङ प्रक्रियामा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

नेपालीले कति माइक्रोप्लास्टिक सेवन गर्छन्?

महर्जनका अनुसार नेपालीले दैनिक र वार्षिक रूपमा औसतमा सेवन गर्ने नुनको मात्रालाई आधार मानी त्यसमा भेटिएको माइक्रोप्लास्टिकको अनुपात हेरिएको थियो।

त्यस क्रममा एक नेपालीले नुनका माध्यमबाट प्रतिवर्ष प्लास्टिकका झन्डै १,८५३ वटा सूक्ष्मकण सेवन गरिरहेको पाइएको छ।

डब्ल्यूएचओले दैनिक पाँच ग्रामभन्दा कम नुन सेवन गर्नुपर्ने सिफारिस गरेको भए पनि नेपालीहरूले औसतमा झन्डै दोबर नुन खान्छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌ले सन् २०१९ मा गरेको नसर्ने रोगसम्बन्धी एउटा अध्ययन प्रतिवेदनमा नेपालीले सेवन गर्ने नुनको मात्राबारे विस्तृतमा उल्लेख छ।

त्यो प्रतिवेदनअनुसार नेपालीले औसतमा दैनिक ९.१ ग्राम नुन खाने देखिन्छ। लिङ्गअनुसार उक्त दर फरक छ। पुरुषले औसतमा दैनिक ९.६ ग्राम र महिलाले ८.७ ग्राम नुन सेवन गर्छन्।

बोतलमा बिक्री हुने पानी सेवन गर्दा पनि माइक्रोप्लास्टिक मानिसको शरीरभित्र पुग्छ
तस्बिरको क्याप्शन, डब्ल्यूएचओका अनुसार खानेपानीबाट पनि माइक्रोप्लास्टिक मानिसको शरीरमा पुग्ने गरेको

थप अनुसन्धान किन आवश्यक

अनुसन्धानकर्ता महर्जन नुनमा माइक्रोप्लास्टिकको मात्राबारे गरिएको यो अध्ययनले नेपालमा त्यसबारे थप विस्तृत खोजी गर्नुपर्ने आवश्यकता देखाएको बताउँछन्। "हामीले माइक्रोप्लास्टिकको मात्रा रहेको पायौँ तर त्यसको स्वास्थ्यमा कस्तो असर परिरहेको छ भन्ने विस्तृत अध्ययन हुनुपर्ने देखिन्छ," उनले भने।

सरकारले त्यतातर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ।नुनभन्दा बढी खपत हुने पानीमा माइक्रोप्लास्टिकको मात्रा व्यापक हुन सक्ने भएकाले अहिले आफूहरूले बोतल र जारको पानीमा पनि त्यस्तो अध्ययन थालेको उनले बताए।

"हामीले अहिले नमुना सङ्कलन गरिरहेका छौँ, पानीमा पनि माइक्रोप्लास्टिकको मात्र धेरै हुन्छ भन्ने बाहिरका अनुसन्धानहरूले देखाएका छन् तर नेपालमा त्यस्तो अध्ययन भएको छैन," उनले भने।

अमेरिकाका दुई विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको र यसै वर्षको आरम्भतिर सार्वजनिक भएको एउटा अध्ययनले बोतलमा राखिएको पानीमा प्लास्टिकका हजारौँ सूक्ष्मकण पाइएको देखाएको थियो।

डब्ल्यूएचओले सन् २०१९ मा खानेपानीमा माइक्रोप्लास्टिकको अवस्थाबारे एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनका अनुसार प्राय: सबै स्रोतका पानीमा माइक्रोप्लास्टिकको मात्रा पाइएको छ।

धाराबाट आउने होस् वा बोतलमा राखिएको दुवैखाले पानीमा पनि माइक्रोप्लास्टिक भेटिने डब्ल्यूएचओले त्यसमा उल्लेख गरेको छ।

यद्यपि उसले हालसम्म खानेपानीमा भएको माइक्रोप्लास्टिकको मात्राले मानवको स्वास्थ्यमा हानि गर्छ कि गर्दैन भन्नेबारे विस्तृत अध्ययन नभएको जनाएको छ।

मानव स्वास्थ्यमा माइक्रोप्लास्टिकले पार्न सक्ने जोखिमबारे थप अध्ययन हुनुपर्ने डब्ल्यूएचओको बुझाइ छ।

माइक्रोप्लास्टिकबारे प्रश्न उठिरहेको विषयमा बीबीसीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूलाई पनि जिज्ञासा राखेको थियो।

मन्त्रालयका सूचना अधिकारी रविकान्त मिश्रले भने, "माइक्रोप्लास्टिकबारे अहिले सबैतिर चर्चा भइरहेको छ। यसले कस्तो असर गरेको छ भन्नेबारे अझै विस्तृत अध्ययन हुन बाँकी नै रहेको भन्ने आएको छ।"

"मानव स्वास्थ्यमा कस्तो असर पर्छ भन्नेबारे हामीले पनि अध्ययन गर्नुपर्ने अवस्था आएमा अध्ययन गर्छौँ र त्यसबारे जनचेतना पनि फैलाउँछौँ।"

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌को स्वास्थ्य अनुसन्धान शाखाका प्रमुख वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमाल पनि माइक्रोप्लास्टिकले स्वास्थ्यमा पार्ने असरबारे अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको बताउँछन्।

"हामीले हालसम्म यसबारे अध्ययन गरेका छैनौँ तर विश्वका विभिन्न स्थानमा भएका अध्ययनहरू हेर्दा अब हामीले पनि विस्तृत अध्ययन गर्नुपर्ने देखिएको छ," उनले भने, "परिषद्‌ले त्यसबारे थप छलफल गरेर आवश्यक कार्य अघि बढाउने छ।"

साङ्केतिक तस्बिर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, साङ्केतिक तस्बिर

के हो माइक्रोप्लास्टिक?

खानेपानीमा माइक्रोप्लास्टिकको अवस्थाबारे सार्वजनिक गरेको प्रतिवेदनमा डब्ल्यूएचओले माइक्रोप्लास्टिक के हो भन्ने जानकारी दिएको छ।

डब्ल्यूएचओका अनुसार माइक्रोप्लास्टिक के हो भन्नेबारे "वैज्ञानिक रूपमा सहमत भएको" एउटै परिभाषा छैन।

प्राय: प्लास्टिकका सूक्ष्मकणलाई नै माइक्रोप्लास्टिक भन्ने गरिएको त्यसमा उल्लेख छ।

यद्यपि माइक्रोप्लास्टिक वर्गमा विभिन्न आकारप्रकार र घनत्व भएका सामग्री तथा रासायनिक तत्त्वलाई पनि समेटिने डब्ल्यूएचसओले जनाएको छ।

यद्यपि धेरैले पाँच मिलिमिटरभन्दा कम लम्बाइका प्लास्टिकका सूक्ष्मकणलाई माइक्रोप्लास्टिक भन्ने गरेको पनि डब्ल्यूएचकोको भनाइ छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।