के घरभित्रका बोटबिरुवाले तपाईँको घरमा हावा शुद्ध पार्न सक्छन्?

बिरुवा

तस्बिर स्रोत, Getty Images

    • Author, क्रिस्टीन रो
    • Role, प्रविधि तथा आर्थिक मामिला संवाददाता

सामान्यतया आफूले अधिकांश समय बिताउने स्थानमा प्रदूषण गर्ने कैयौँ तत्त्व घुमिरहेका छन् भन्ने कुरा धेरै मानिसले बुझेका हुँदैनन्।

उदाहरणका लागि हामीले हाम्रो घर, विद्यालय र कार्यस्थलहरू सफा र स्वच्छ बनाउन प्रयोग गर्ने धेरै उत्पादनहरूले हावा विषाक्त बनाइरहेका हुन्छन्।

‘‘ताजा तथा स्वच्छ हावाको गन्ध हुँदैन,’’ युनिभर्सिटी अफ एल्बर्टास्थित पेडियाट्रिक पल्मोनरी विशेषज्ञ एन हिक्सले भनिन्।

‘‘यदि तपाईँले गन्ध सुँघ्न सक्नुहुन्छ भने हावामा केही न केही रसायन छ र त्यो तपाईँको नाकसम्म पुगिरहेको छ। त्यसैले यो सबै वायु प्रदूषण हो। चाहे त्यसबाट सुगन्ध आओस् वा दुर्गन्ध।’’

"घरहरूमा भित्री वायु प्रदूषणको तह व्यापक छ र यो तुलनात्मक रूपमा कम जानकारी बाहिरिएको क्षेत्र हो, किनभने मेरो छिमेकीको घरमा मेरो घर भन्दा फरक वायु प्रदूषणको स्तर हुन सक्छ," डा हिक्स भन्छिन्।

घर वा कार्यालय भित्र हुने प्रदूषण सम्बन्धी विषय अत्यन्त जटिल छ र यसको नियमन पनि फितलो छ। यस्तो प्रदूषण अक्सर व्यक्तिगत नियन्त्रण भन्दा बाहिर हुन्छ। उदाहरणका लागि सवारीसाधनहरूले नाइट्रोजन डाइअक्साइड उत्पन्न गर्छन् भने आर्द्रता र संरचनात्मक समस्याहरूले भवनहरूलाई बिगार गर्न सक्छन्।

उच्च क्षमता भएका हाइ एफिसिएन्सी पार्टिकुलेट एअर (हेपा) फिल्टरहरू भएका 'एयर प्युरिफायर' हरूले भने मद्दत गर्न सक्छन्।

तर सुरुवाती लागत अनि त्यसलाई सञ्चालन गर्न आवश्यक पर्ने ऊर्जा भने केही घरपरिवारको पहुँच भन्दा बाहिर जान सक्छ।

सस्तो पर्ने हुँदा पनि हावा सफा गर्नका लागि गमलामा रोप्न सकिने बिरुवाबारे सोच्नु आकर्षक मानिन्छ।

बोट बिरुवाहरूले कार्बन डाइअक्साइड र अन्य प्रदूषण ग्रहण गर्छन् जुन केही हदसम्म बिरुवाहरूले खपत गर्छन् र बाँकी निष्क्रिय पारि दिन्छन्।

यहाँ विशेष गरी महत्त्वपूर्ण सूक्ष्म जीवहरूको समुदाय र बिरूवा उमार्ने माध्यम (जस्तै माटो वा कम्पोस्ट) हो, जसले धेरै अध्ययनहरूका अनुसार बिरुवाले भन्दा बढी प्रदूषकहरू सोस्छन्।

red line
red line

सन् १९८९मा नासाले गरेको एउटा प्रभावशाली अध्ययनका अनुसार बिरुवाहरूले हावाबाट फर्मलडिहाइड यौगिक र अन्य भोलाटाइल अर्ग्यानिक कम्पाउन्ड (भीओसी) हटाउन सक्छन्। तर त्यो अध्ययन वास्तविक-विश्व परिस्थितिहरूको लागि उपयुक्त थिएन।

साँच्चै घरहरूबाट अर्थपूर्ण रूपमा भीओसीहरू घटाउन ‘‘घर भित्रको वन’’ आवश्यक पर्ने छ।

‘‘भिओसी र अन्य ग्यासहरू हटाउने कुराको अर्थपूर्ण रूपमा प्रभाव मापन गर्नका लागि राम्रोसँग प्रकाश पर्ने स्थानमा निकै धेरै मात्रामा बोट बिरुवाको आवश्यकता पर्छ,’’ रोयल होर्टीकल्चर सोसाइटीका प्रमुख वैज्ञानिक तथा युनिभर्सिटी अफ रेडिङकी मुख्य अध्येयता तियाना ब्लानुसाले भनिन्।

त्यसै गरी कार्बन डाइअक्साइडको लागि, "तपाईँलाई कोठाको आकारका आधारमा मापनयोग्य प्रभावहरू हुनको लागि धेरै ठूलो सङ्ख्यामा बिरुवाहरू चाहिन्छ।"

त्यसो भए के घरभित्र राखिने बिरुवाहरूको सङ्ख्या वृद्धि गर्नु यसको उत्तर हो त?

बिरुवा

तस्बिर स्रोत, PAUL DE BOIS

तियाना ब्लानुसा लगायतका केही खोजकर्ताहरूले एउटा एउटा गमलामा बोट बिरुवा रोप्नुको साटो भित्तामा टाँसिएर सर्ने बिरुवाहरू सघन रूपमा लगाएर परीक्षण थालेका छन् जसले अझ प्रभावकारी रूपमा हावा प्रशोधन गर्न सक्छ।

यद्यपि त्यसता लिभिङ ग्रीन वाल भनिने सजीव हरियो भित्ता भनिने प्रविधि जडान गर्न र व्यवस्थापन गर्न महँगो छ।

सन् २०१५मा भवन निर्माण गर्ने कम्पनी कुन्डल हालको लन्डनस्थित कार्यालय सर्दा उनीहरूले बैठक गर्ने एउटा कोठा बोट बिरुवाले भरिएको थियो। त्यसको नाम ग्रिन ल्याब थियो।

red line
red line

त्यस्को लक्ष्य कोठा भित्रको वायुको गुणस्तरमा बोट बिरुवाको प्रभावको निगरानी गर्नु थियो। तर ती सबै बोट बिरुवाको हेरचाह गर्नु चुनौतीपूर्ण थियो।

यसले के कुरा पनि स्पष्ट पार्‍यो भने बिरुवाहरूले ‘मेकानिकल भेन्टिलेसन’ र हावा प्रशोधन गर्ने प्रणाली जस्तै प्रभाव पारिरहेका थिएनन्।

कोठाका कुनामा अहिले केही ठूला बिरुवाहरू राखिएका छन् भने भित्तामा चारपाटे आकारमा संरक्षित रेनडियर मोस भनिने एक प्रकारको झ्याउ । त्यसता स्पन्जी मोस हेर्दा र छुँदा आकर्षक हुने भए पनि त्यसमा प्रदूषक सोस्ने क्षमता भने हुँदैन।

कविता कुमारी

तस्बिर स्रोत, CUNDALL

तस्बिरको क्याप्शन, कविता कुमारी

वायुको गुणस्तर सुधार गर्ने विषय बारे ग्राहकहरूले प्रश्न गर्दा कुन्डलको लन्डनस्थित कार्यालयकी एशोसिएट डिरेक्टर कविता कुमारी बोट बिरुवाका फाइदा र सीमाबारे सुझाव दिन्छिन्।

केही हदसम्म भीओसी कम गरेर अक्सिजन उत्पादन गर्ने र तुलनात्मक रूपमा कम हेरचाहको आवश्यकता पर्ने बोट बिरुवा उनले ग्राहकहरूलाई सिफारिस गर्छिन्। यद्यपि त्यस्तो गर्नुको प्रभाव भने सामान्य रहने उनी स्विकार्छिन्।

तुलनात्मक रूपमा धेरै फाइदा हुने बिरुवा मध्य एक 'स्नेक प्लान्ट' हो।

अधिकांश बिरुवाहरूले कार्बन डाइअक्साइड लिएर दिनको समयमा अक्सिजन प्रवाह गर्ने भए पनि स्नेक प्लान्टले रातको समयमा समेत अक्सिजन प्रवाह गर्न सक्ने कुमारी बताउँछिन्।

उनका अनुसार धेरै घरहरू भएका स्थानमा झ्याल खोल्दैमा प्रदूषक बाहिरिँदैन। बरु बाहिरको प्रदूषण गर्ने कैयौँ तत्त्व भित्र छिर्न सक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।