तस्बिरमा समुद्रभित्र देखिने रङ्गीचङ्गी संसार

तस्बिर स्रोत, Mayumi Takeuchi-Ebbins
जुन ८ वर्षको त्यस्तो दिन हो जतिखेर विश्वले आफ्ना महासागरहरूको उत्सव मनाउन र उनीहरूको संरक्षण गर्न सबैभन्दा राम्रा उपायहरू सोच्ने गर्छ।
जुन ८ मा मनाइने विश्व महासागर दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घले आफ्नो वार्षिक तस्बिर प्रतियोगिताको दशौँ संस्करणका विजेता घोषणा गरेको छ। उक्त प्रतियोगिता ओश्यानिक ग्लोबलसँगको साझेदारीमा आयोजना गरिएको हो।
विश्वभरिबाट प्रतिस्पर्धाका लागि पठाइएका हजारौँ तस्बिरमध्ये उत्कृष्ट छ विजेता चयन गरिएको छ।
प्रतियोगिताका लागि सौखिन र व्यावसायिक दुवै खाले फोटोग्राफरहरूले यस वर्षको नारा 'प्लानेट ओशन : टाइड्स आर चेन्जिङ' अर्थात् 'महासागरका बदलिँदा छालहरू'सँग मिल्नेगरी ती तस्बिर पठाएका थिए।

तस्बिर स्रोत, Álvaro Herrero
स्पेनी फोटोग्राफर अल्भारो हेरिरो 'नो टाइम टु वेस्ट' अर्थात् 'खेर फाल्ने समय छैन'अन्तर्गत विजेता घोषित भएका छन्।
यो तस्बिरमा आफ्नो पछाडिको भागमा अड्किएर तैरिरहेको र पहिल्यैदेखि कमजोर एउटा हम्पब्याक ह्वेल बिस्तारै तड्पिएर मरेको देखिन्छ।
हामीले हाम्रा महासागर र पृथ्वीलाई दिइरहेको मन्द र पीडादायी मृत्युको त्यो एउटा स्पष्ट प्रतिबिम्ब हो।

तस्बिर स्रोत, Tom Shlesinger
रेड सीनजिकैको एउटा 'कोरल नर्सरी' अर्थात् मुगाको कृत्रिम चट्टानबाट निस्किँदै गरेको एउटा हक्सबिल समुद्री कछुवाको तस्बिर 'पुटिङ द ओशन फस्ट' अर्थात् 'महासागरलाई प्राथमिकता' विधाको विजेता हो।
समुद्री कछुवाहरूमध्ये सबैभन्दा सानो प्रजातिको यो कछुवाको खानपान विविधतापूर्ण छ। यसले स्पन्ज तथा कोमल मुगादेखि जेलिफिश र कडा खबटा हुने जलचर पनि खान्छ।
यहाँ एउटा हक्सबिल समुद्री कछुवा "द इग्लू" नाम दिइएको एउटा मुगा नर्सरीबाट निस्कँदै छ।

तस्बिर स्रोत, Chris Gug
काबो सान लुकास, मेक्सिकोलाई देखाउने यो तस्बिर 'द वन्डरफुल वर्ल्ड अफ टाइड्स' अर्थात् 'छालहरूको सुन्दर संसार' विधाको विजेता हो।
फोटोग्राफर क्रिस गग भन्छन्, "ड्रोन लिएर दिनदिनै मेक्सिकोको काबो सान लुकास तटबाहिर मबिला रे एकत्रित गरिरहँदा म सबैभन्दा सुन्दर र शक्तिशाली शोर ब्रेकमा पुगेँ, जहाँ धेरै छालहरू सीधै बालुवामा ठोक्किएका थिए।"

तस्बिर स्रोत, Shane Gross
इन्डोनेशियाको बालीमा एक आमा र छोराले आफ्नो परिवारको लागि समुद्री अर्चिन जम्मा पारेको तस्बिर 'ओशन इन लाइफ' अर्थात् 'महासागरमा जीवन' विधाको विजेता हो।
तटीय वासस्थानमा खाद्य सुरक्षा, जैविक विविधता, सुधार सुरक्षा र मत्स्य व्यवसायका लागि महत्त्वपूर्ण हुने समुद्री झारलाई प्राय: बेवास्ता गरिएको यसमा देखिन्छ।

तस्बिर स्रोत, Glenn Ostle
एउटा सी लायनको व्यग्रता झल्काउने मेक्सिकोको सी अफ कर्टेजमा खिचिएको यो तस्बिर 'बिग एन्ड स्मल अन्डरवाटर फेसेस' अर्थात् 'पानीमुनिका सानाठूला मुहारहरू' विधाको विजेता हो।
साँघुरो सी अफ कर्टेज यस ग्रहकै सबैभन्दा धेरै जैविक विविधतापूर्ण जल क्षेत्रमा पर्छ।
यो ९०० वटाभन्दा धेरै प्रजातिका माछा, हजारौँ ढाड नभएका जीव र अन्य समुद्री जीवको आश्रयस्थल हो।

तस्बिर स्रोत, Andy Schmid
फोटोग्राफर एन्डी स्मिदले खिचेको यो तस्बिर 'अन्डरवाटर सीस्केप' अर्थात् 'पानीमुनिको दृश्य' विधाको विजेता हो।
नर्वेमा खिचिएको उक्त तस्बिरबारे फोटोग्राफर स्मिद भन्छन्, "ओर्कालाई 'क्यारसेल फीडिङ' भनिने विधि प्रयोग गरेर आहार दिइने दृश्य हेर्नु नै निकै रोमाञ्चक हुन्छ। तर सीमित प्रकाश र दृश्य क्षमता, सामुद्रिक प्राणीको तीव्र गति र पानीको तापमानलगायत कैयौँ पक्षहरूले गर्दा त्यसलाई तस्बिरमा कैद गर्न कठिन हुन्छ ।"
सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित












