वायुप्रदूषणले तपाईँको स्वास्थ्यमा कस्तो असर गर्न सक्छ

अमेरिकाको न्यूयोर्कस्थित स्ट्याचू अफ लिबर्टी धुँवाले ढाकिएको अवस्थामा

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अमेरिकाको न्यूयोर्कस्थित स्ट्याचू अफ लिबर्टी धुँवाले ढाकिएको अवस्थामा
    • Author, ओन्यूर एरेम
    • Role, बीबीसी विश्व सेवा

बिस्तारैबिस्तारै हाम्रो ज्यानै लिन सक्ने एउटा तत्त्व बाहिर सडकमा फैलिएको छ। न यसलाई समात्न सकिन्छ न नै यसबाट जोगिन लुक्नका निम्ति कुनै सुरक्षित ठाउँ नै छ।

हरेक वर्ष ४० लाख मानिसको ज्यान लिने गरेको र विश्‍व जनसङ्ख्याको ९९ प्रतिशतलाई प्रभावित गरिराखेको वायु प्रदूषणले ठूलो सार्वजनिक स्वास्थ सङ्कट निम्त्याएको छ।

प्रदूषण निकै टाढाटाढासम्म फैलिन सक्छ र यसले उत्पत्तिको स्थानभन्दा धेरै परसम्म पनि असर पार्न सक्छ।

यसविरुद्धको एकल प्रयास प्रभावकारी नहुन सक्छ। वास्तवमै यसलाई रोक्ने हो भने सरकार तथा ठूला व्यावसायिक संस्थाहरूले मिलेर काम गर्नुपर्छ।

यस महत्त्वपूर्ण मुद्दालाई सम्बोधन गर्ने प्रयत्नस्वरूप संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०२० मा ७ सेप्टेम्बरलाई 'निलो आकाशका निम्ति स्वच्छ वायु दिवस' घोषित गरेको थियो।

हामी एक पटक यो समस्या कुन तहको छ र योसँग जुध्न विज्ञहरूले कस्तो राय दिएका छन् भन्ने हेरौँ।

समस्या कति ठूलो?

वायुप्रदूषणबाट जोगिन मास्क लगाएका नयाँ दिल्लीका एक ट्राफिक प्रहरी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, वायु रदूषणबाट जोगिन मास्क लगाएका नयाँ दिल्लीका एक ट्राफिक प्रहरी

संयुक्त राष्ट्रसङ्घको वातावरणसम्बन्धी निकाय 'यूएनईपी'ले वायुप्रदूषणलाई "मानव स्वास्थ्यसम्बन्धी सबैभन्दा ठूलो विश्‍वस्तरीय पर्यावरणीय खतरा" भनेको छ। उसको हिसाबमा यसका कारण विश्‍वका ७० लाख मानिसहरूले समयअगावै मृत्युवरण गर्छन्।

मानव जीवनले मात्रै यसको मूल्य चुकाउने होइन।

विश्‍व ब्याङ्कका अनुसार सन् २०१९ मा वायु रदूषणसँग सम्बन्धित समस्याले स्वास्थ्यमा पुगेको क्षतिको वैश्‍विक मूल्य ८१ खर्ब डलर थियो, जुन विश्वको कूल गार्हस्थ्य उत्पादनको ६.१ प्रतिशत हुन आउँछ।

यूएनईपीका अनुसार "वायुप्रदूषण विश्‍वस्तरको समस्या भए पनि विकसित देशहरूमा यसको अन्धाधुन्ध असर पारेको छ। खास गरी महिला, केटाकेटी र वृद्धवृद्धाजस्ता निकै कमजोर समूह यसको चपेटामा परेका छन्।"

सरकारहरूसामु कस्ता चुनौती छन्?

धुवाँले ढपक्कै ढाकिएको मध्य जाकर्ता

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इन्डोनेशियाको राजधानी जाकर्ता विश्वकै वायुको गुणस्तर सबैभन्दा खराब भएको सहरको सूचीमा छ

"विभिन्न मानवीय वा प्राकृतिक कारणहरूले वायुप्रदूषण पैदा गर्छन् र व्यवस्थापन गर्न जटिल बनाउँछन्," यूएनईपीको जलवायु तथा स्वच्छ वायु सहकार्यकी सचिवालय प्रमुख मार्टिना ओट्टो भन्छिन्।

"धेरै देशहरूसँग वायुको गुणस्तर जाँच्न आवश्यक पर्ने संयन्त्रको अभाव छ। त्यसको स्थापना र रेखदेख गर्न पनि खर्चिलो छ।"

उनको विचारमा स्वच्छ वायुमा गरिने लगानीलाई मूल्यवान् देख्ने गरी हाम्रो दृष्टिकोणमा महत्त्वपूर्ण परिवर्तन आउन आवश्यक छ।

"त्यसका अतिरिक्त नियमनको प्रभावकारिता पनि फरकफरक किसिमका हुन सक्छन् र केही क्षेत्रमा पर्याप्त कानुन तथा त्यसलाई लागु गराउने संयन्त्रको कमी छ। राजनीतिक इच्छाशक्ति र आर्थिक स्रोत पनि मुख्य अवरोध हुन्।"

के कारणले वायुप्रदूषण हुन्छ?

रिक्सामा सवार मुख ढाकेका दुई यात्री

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ढाकामा यात्रीहरूलाई श्वास फेर्न समेत गाह्रो हुन्छ

विश्‍व स्वास्थ्य सङ्गठनका अनुसार वायुप्रदूषण भनेको ठोस कण, तरल थोपा र ग्यासको जटिल मिश्रण हो।

यसलाई 'पार्टिक्यलट म्याटर' (पीएम) मा नापिन्छ र २.५ माइक्रोमिटर आकारका वा (पीएम२.५) भन्दा कम व्यासका कणहरू मानव स्वास्थका निम्ति निकै खतरायुक्त हुन्छन्। सानो आकारको कणहरू सीधै हाम्रो रक्तप्रवाहमा मिसिन सक्छन् र मुटु, मस्तिष्क तथा अन्य अङ्गमा जम्मा हुन सक्छन्।

मानिसको कपालको रौँको औसत आकार ७० माइक्रोमिटरजति हुन्छ, यसअनुसार वायुप्रदूषणका कण मानिसको कपालको रौँको तेह्र भागको एक हिस्साजत्तिको हुन्छ। ती कालो मोसो, माटोको धुलो वा सल्फेट जेबाट पनि बनेका हुन सक्छन्।

यातायातका साधन र तापबाट उत्पन्न जोखिम

जीवाश्म इन्धनबाट विद्युत् निकाल्दा, (टायर र ब्रेकसमेतका) यातायातका साधन र आवासीय क्षेत्रबाट (खास गरी पकाउँदा र ताप पैदा गर्दा) पैदा हुने प्रदूषण सूक्ष्म कणहरूका मुख्य स्रोत हुन्।

मरुभूमिनजिकैका स्थान र हावाले उडाउने धुलो पनि वायुप्रदूषणका मुख्य स्रोत हुन्।

अफ्रिका, पूर्वी एशिया र युरोपमा हावाले उडाउने धुलोलाई सबैभन्दा ठूलो स्रोत ठहर्‍याइन्छ। उत्तर अमेरिकामा यातायातका साधनले प्रमुख भूमिका खेल्छन् भने ल्याटिन अमेरिका तथा क्यारिबीअन क्षेत्रमा उद्योगलाई जिम्मेवार ठहर्‍याइन्छ।

एशिया–प्रशान्त क्षेत्रमा भने आवासीय क्षेत्रबाट पैदा हुने प्रदूषण मुख्य स्रोत हो।

कसरी हाम्रो स्वास्थ्यमा असर पार्छ?

शरीरमा सूक्ष्म कण विद्यमान भएमा तिनले हाम्रा अङ्गहरूको कार्यलाई प्रभावित तुल्याउन सक्छन्।

सन् २०१९ को एउटा तथ्याङ्कले छ वटा स्वास्थ्य अवस्थाको चर्चा गर्दै वायुप्रदूषण कसरी मृत्युको कारक बन्न सक्छ भन्ने दर्शाएको छ।

वायु प्रदूषण

उदाहरणका निम्ति संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार १७ प्रतिशत मस्तिष्काघातका कारण भएका मृत्युका घटना वातावरणमा भएका सूक्ष्म कणयुक्त प्रदूषणसँग सम्बन्धित थिए।

अल्पकाल र दीर्घकालका निम्ति पीएम२.५ आकारको कणयुक्त स्थानमा बस्दा त्यसले स्वास्थ्यमा विकसित गर्ने समस्या पनि फरकफरक किसिमको हुन सक्ने ठानिएको छ।

छोटो अवधिका निम्ति त्यस्तो वातावरणको सम्पर्कमा आउँदा त्यसले पहिलेदेखिको स्वास्थ्यस्थितिलाई थप बिगार्ने र लामो समयसम्म रहँदा सामान्यतया: रोग नै लाग्ने अनि त्यसपछि स्थिति बिग्रिने दरलाई बढाइदिन सक्ने देखिएको छ।

हामीले कुनै प्रगति गरेका छौँ?

सुध्रिएको 'वायु गुणस्तरसँगै देखिएका मेक्सिको सिटीका गगनचुम्बी भवनहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, वायुप्रदूषणका कारण मेक्सिको सिटीमा यातायातका साधनमा कडाइ गरिएको छ

यूएनईपीकी मार्टिना ओट्टोका अनुसार युरोप, अमेरिका, क्यानडा र जापानले उत्सर्जनलाई सीमित राख्न प्रभावकारी उपायहरू अपनाएका छन्।

उनी लन्डनस्थित 'अतिन्यून उत्सर्जन क्षेत्र'को उदाहरण दिन्छिन्, जहाँ मध्यलन्डनमा हुँदै आएको सवारीसाधनको चापलाई नियन्त्रण गरी हानिकारक प्रदूषक तत्त्वलाई ५० प्रतिशतले घटाइएको छ।

सन् १९०० यता लन्डनमा 'पार्टिक्यलट' वायुप्रदूषण ९७ प्रतिशतले घटेको छ।

मेक्सिको सिटी र बेइजिङ थप दुई उदाहरण हुन्, जहाँ वायुप्रदूषणको स्थितिमा महत्त्वपूर्ण सुधार गरिएको छ।

"क्षेत्रीय सुधारहरू प्रायशः सामाजिक–आर्थिक विकास तथा राष्ट्रिय नीतिको सक्रियतासँग जोडिएका हुन्छन्," ओटो भन्छिन्।

"उल्लेखनीय कुराचाहिँ दक्षिण एसिया, दक्षिणपूर्वी तथा पूर्वी एशिया (चीन सहित), ओशिनिया, मध्य तथा पूर्वी युरोप र मध्यएशियाजस्ता क्षेत्रहरूले विगत दुई दशकमा पीएम२.५ को स्तर कम गरेका छन्।"

सन् २०२० मा फिन्ल्यान्डमात्रै एउटा त्यस्तो देश थियो जसले पीएम२.५ को औसत दरलाई ५ μg/m³ भन्दा तल राखेको थियो।

"यसले समाधान निकै पर भए पनि केन्द्रीकृत पहलमार्फत् महत्त्वपूर्ण सुधार ल्याउन सकिन्छ भन्ने देखाउँछ," उनी जोड दिन्छिन्।

अर्कातर्फ निम्न र मध्यम आय भएका देशहरूमा उच्च आय भएका देशहरूको तुलनामा पीएम२.५ को स्तर निरन्तर उच्च रहेको छ। यो असमानता बितेको दशकभर तुलनात्मक रूपमा स्थिर रह्यो।

"उच्च पीएम२.५ स्तर भएका दश देशमध्ये आठ अफ्रिकामा छन् भने बाँकी दुई मध्यपूर्वमा छन्," ओट्टो भन्छिन्।

"वायुको गुणस्तरमाथि बलियो नियन्त्रणको अभाव, नियामक ढाँचा र आर्थिक स्रोतको अभावका कारण यी क्षेत्रहरू वायुको गुणस्तर सुधार्नका निम्ति सङ्घर्ष गरिरहेका छन्।"

यो समस्या "जीवाश्म इन्धनमाथिको गहिरो निर्भरता, घरघरमा परम्परागत बायोमासको प्रयोग, पुराना हुँदै गरेका ठूलो सङ्ख्याका सवारीसाधन तथा सार्वजनिक यातायातको अभाव र फोहर व्यवस्थापन पर्याप्त व्यवस्था नभएका कारण खुला रूपमा फोहोर जलाइँदा" झनै जटिल बनेको उनको ठहर छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।