भारत: राजधानी दिल्लीका घरभित्र झन् धेरै वायु प्रदूषण

दिल्लीमा एअर प्युरिफायर नजिकै राखिएको बच्चा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दिल्लीका घरहरूमा विद्यमान वायु प्रदूषण कम गर्ने उपाय खोज्न धेरैजसो मानिसहरू इच्छुक नभएको बता इएको छ

भारतको राजधानी दिल्लीका घर र भवनभित्र पनि अत्यधिक वायु प्रदूषण रहेको एउटा नयाँ अध्ययनले देखाएको छ।

अध्ययनले भवनभित्र पाइएको पीएम २.५ भनिने फोक्सोलाई बिगार्ने प्रदूषकको मात्रा नजिकै खुल्ला स्थानमा रहेका सरकारी वायु प्रदूषण मापन यन्त्रमा भन्दा बढी भएको देखाएको छ।

तर धेरै मानिसहरूले घरभित्र प्रदूषण घटाउन आवश्यक सतर्कता अपनाउन इच्छा जाहेर नगरेको प्रतिवेदनमा उल्लेख छ।

दिल्ली संसारको सबैभन्दा प्रदूषित राजधानीको सूचीमा नियमित रूपमा शीर्ष स्थानमा रहँदै आएको छ।

शिकागो विश्वविद्यालयको इनर्जी पोलिसी इन्स्टिच्युटले सन् २०१८ देखि सन् २०२० मा दिल्लीका विभिन्न आर्थिक र सामाजिक पृष्ठभूमिका हजारौँ घरहरूको अध्ययन गरेको थियो।

अध्ययनले धनी र गरिबका घरहरूभित्र पनि वायु प्रदूषण खासै फरक नभएको पाएको छ।

तुवाँलोमय दिल्लीको बिहान

तस्बिर स्रोत, Getty Images

अध्ययनले धनी परिवारमा गरिब परिवारमा भन्दा वायु प्रदूषण कम गर्ने एअर प्युरिफाएर हुने सम्भावना १३ प्रतिशत बढी भएको तर पनि ती घरहरूमा १० प्रतिशत मात्रै वायु प्रदूषण कम भएको देखाएको छ।

"दिल्लीमा खास कुरो के हो भने गरिब होस् या धनी कसैले पनि शुद्ध हावामा श्वास फेर्न पाएको छैन," प्रमुख अध्ययनकर्ता डा. केनेथ लीले भने। "यो कठिन चक्र हो।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, वायु प्रदूषण कसरी कम गर्ने?

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वभर धूम्रपान जस्तै खराब वायु प्रदूषणसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण ७० लाख मानिसहरूको अकालमै मृत्यु हुने जनाएको छ।

विज्ञहरूले धेरै मानिसहरूमा वायु प्रदूषणको घरभित्रै असर हुने बताउँछन्। ईपीएका अनुसार घरभित्र वायु प्रदूषण बाहिरभन्दा दुईदेखि पाँच प्रतिशतले बढी हुन्छ।

भारतमा संसारका सबैभन्दा प्रदूषित ३० मध्ये २२ सहर छन्। त्यहाँ वार्षिक वायु प्रदूषणका कारण १० लाखभन्दा बढी मानिसको अकालमै मृत्यु हुने बताइन्छ।

आधिकारिक सरकारी तथ्याङ्कले दिल्लीमा नोभेम्बर विगत छ वर्षयता सबैभन्दा प्रदूषित महिना बनेको देखाएको थियो।

नोभेम्बरका ११ दिन दिल्लीको वायु प्रदूषणको स्तर अत्यधिक नराम्रो रहेको थियो जुन सन् २०१६ को नोभेम्बरको १० दिनभन्दा बढी हो।

तथ्याङ्कले नोभेम्बरमा एक दिन पनि दिल्लीमा राम्रो वायुको स्तर नभएको देखाएको छ। भारतमा सन् २०१५ देखि मात्रै वायु प्रदूषण मापन गर्न सुरु गरिएको हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, खतरनाक वायु प्रदुषण

दिपावलीको दिन प्रतिबन्धलाई अटेर गर्दै दिल्लीवासीले पटाकाहरू बाल्दा त्यसको भोलिपल्ट त्यहाँको वायु प्रदूषण उच्च स्तरमा पुगेको थियो। प्रत्येक वर्ष वायु प्रदूषणका लागि जिम्मेवार गहुँ खेतीका लागि खेत तयार गर्न खेतमै पराल बाल्ने कार्य पनि प्रतिबन्धित छ तर यसलाई कडाइका साथ लागु गरिएको छैन।

किसान आन्दोलनका कारण सङ्घीय सरकार पराल बाल्ने कार्यमाथि प्रतिबन्ध हटाउन सहमत भएपछि यो समस्या आउने वर्षहरूमा अझ नराम्रो हुने सङ्केत देखिएको छ।

तुवाँलोमय दिल्ली

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दिल्ली 'संसारका सबभन्दा प्रदूषित राजधानीहरू'मा पर्दै आएको छ

यति हुँदा पनि दिल्लीमा वायु प्रदूषण कम गर्ने उपकरणको माग कम नै भएको नयाँ प्रतिवेदनले देखाएको छ।

अध्ययनकर्ताहरूले घरभित्र वायु प्रदूषण मापन गर्ने यन्त्र दिँदा थोरैले मात्रै त्यो लिएका थिए।

"जब तपाईँलाई घरभित्रको प्रदूषणको मात्रा थाहा हुँदैन तपाईँलाई पिर पर्दैन र तपाईँले सुरक्षित उपायहरू अपनाउने सम्भावना पनि कम हुन्छ," डा. लीले भने।

"जनचेतना फैलाए मात्रै सफा वायुको माग बढी हुन्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, विषाक्त वायुले निसासिएको दिल्ली