जेन जी आन्दोलन : जाँचबुझ आयोगले थाल्यो काम, कोको तानिएलान्

    • Author, पवनराज पौडेल
    • Role, बीबीसी न्यूज नेपाली

जेन जी आन्दोलनका क्रममा भएका विभिन्न घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सडक प्रदर्शनको पहिलो दिन "किशोरहरूको ज्यान जाने गरी गोली चलाउने कार्य कानुनअनुरूप भए नभएको जाँच्ने र जिम्मेवार भूमिकामा रहेकाको गल्ती पाइए कारबाहीका निम्ति सिफारिस गरिने" बताएका छन्।

गत भदौ २३ र २४ गते देशभरि भएका घटनाबारे छानबिन गर्न सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गठन गरेको आयोगले बिहीवारबाटै काम थालेको छ।

"बुधवार शपथ भयो र बिहीवारबाट काम थालेका छौँ," अध्यक्ष कार्कीले बीबीसीसँग भने।

आयोगलाई "काम थालेका मितिले तीन महिनाभित्र रायसहितको प्रतिवेदन पेस गर्न" भनिएको छ।

पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद्‌ विश्वेश्वर भण्डारी सदस्य रहेको तीन-सदस्यीय आयोगलाई एक सहसचिव र एक उपसचिव गरी सात कर्मचारी दिइएको छ।

उपलब्ध स्रोतसाधन तीन महिनाभित्र प्रतिवेदन प्रस्तुत गर्नका निम्ति "पर्याप्त नहुने र आयोगलाई कतिपय सन्दर्भमा विज्ञको समेत खाँचो पर्ने भएकाले त्यसका निम्ति सरकारलाई भनिने" अध्यक्ष कार्कीले बताए।

कार्यादेश

आयोगलाई दिइएको कार्यादेशमा जेन जी प्रदर्शनका क्रममा काठमाण्डूसहित देशका विभिन्न भागमा भएका भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न र घटना हुनुका कारणका सम्बन्धमा जाँचबुझ गरी सोको यकिन रायसुझाव सहितको प्रतिवेदन पेस गर्न भनिएको छ।

त्यस्तै भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण तथा कारबाहीका सम्बन्धमा आवश्यक राय दिन भनिएको छ।

साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपाय तथा सुझावहरू पेश गर्न र प्रतिवेदनका सुझाव कार्यान्वयनका निम्ति स्पष्ट कार्ययोजना समेत प्रस्तुत गर्न भनिएको छ।

उक्त 'कार्यादेश' आश्विन ५ गते राजपत्रमा प्रकाशित भएको छ।

कोको तानिएलान्

अध्यक्ष कार्कीले भदौ २३ र २४ गतेका घटनामा ज्यादती गर्ने र आगजनीका घटनामा संलग्न व्यक्तिलाई अहिले नै थुनेर कारबाही चलाइयोस् भन्ने जनअपेक्षा सर्वत्र देखिए पनि "आयोगले अध्ययन गरेर त्रुटिकमजोरी गर्नेलाई कारबाहीका निम्ति सिफारिस मात्र गर्ने" बताए।

"त्यसैले यो पर्छ ऊ पर्छ भन्ने होइन," उनले भने, "भदौ २३ गतेको घटनामा किशोरहरूलाई जसरी मारियो त्यो कानुनअनुरूप भए नभएको हेर्छौँ। कानुनले कतिपय अवस्थामा गोली चलाउन सक्ने अधिकार दिएको हुन्छ। त्यसमा कमजोरी भएको रहेछ भने कारबाहीको सिफारिस गर्छौँ।"

कार्यान्वयनमा प्रश्न

विगतका कैयौँ आयोगका प्रतिवेदन कार्यान्वयन नगरिएका दृष्टान्त दिँदै कतिपयले हालै गठित आयोगको प्रतिवेदन पनि त्यस्तै हुन सक्ने संशय प्रकट गर्ने गरेका छन्।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा 'लाल आयोग' भनेर चिनिने मधेश आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगको नेतृत्व गरेका गिरीशचन्द्र लाल "आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने वा नगर्ने भन्ने निर्णय सरकारले गर्न सक्ने" बताउँछन्।

"आयोगका निष्कर्ष कार्यान्वयनका निम्ति बाध्यकारी हुने व्यवस्था छैन," उनले भने, "त्यसले गर्दा सरकारहरूले अनुकूलताअनुसार निर्णय लिन्छन्। फाइदा हुने देखे कार्यान्वयन गर्छन् नत्र गर्दैनन्।"

"मैले नेतृत्व गरेको मधेश आन्दोलनसम्बन्धी प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन तर विद्युत् महसुलसम्बन्धी विवादबारे गठित आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गर्‍यो। त्यसैले सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ वा हुँदैन भन्नेबारे अहिल्यै भन्न सकिँदैन।"

नवगठित आयोगका अध्यक्ष कार्की भने "पहिले र अहिलेको सरकारमा भिन्नता भएकाले कार्यान्वयन हुने विश्वास लिइएको" बताउँछन्।

"मैले यसअघि मेडिकल, सहकारी र मिटरब्याजसम्बन्धी गरी तीनवटा आयोगको प्रतिवेदन दिएँ। तीमध्ये सरकारले कुनैलाई मान्यो, कुनैलाई वास्तै गरेन। तर यो ठिक छैन भनेर भन्न सकेन," उनले भने, "त्यसैले यो आयोगको प्रतिवेदन कार्यान्वयन हुने नहुनेबारे अहिल्यै शङ्का नगरौँ। भोलि कार्यान्वयन भएन भने प्रतिवेदन सार्वजनिक गर्ने सहितका काम गर्न सक्छौँ।"

सरकारी विवरणअनुसार जेन जी आन्दोलनका क्रममा भएका विभिन्न घटनामा ज्यान गुमाउनले मानिसको सङ्ख्या ७४ पुगेको पुष्टि भएको छ।

सरकारी तथा निजी भौतिक सम्पतिमा अर्बौँ रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ।

"आगजनी तथा लुटपाटजस्ता कतिपय आपराधिक घटनामा प्रहरीले सोझै प्रचलित कानुअनुसार कारबाही अघि बढाउनुपर्छ," लाल भन्छन्, "त्यसो गर्नलाई आयोगले रोक्दैन। आयोगले आफ्नो काम गर्छ, प्रहरीले आफ्नो काम गर्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।